
बाजुरा : जिल्लाको बूढीगङ्गा नगरपालिका–१० मा लक्षित कार्यक्रमअन्तर्गत तोकिएका वर्गका लागि आएको रकम कीर्ते कागजातका आधारमा दुरुपयोग भएको गुनासो बढेको छ।
आव २०७५/७६ को दलित, महिला, बालबालिका र युवा वर्गको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आएको तीन लाख रुपैयाँ उक्त वर्गलाई नदिइकनै उनीहरुलाई कार्यक्रममा सहभागी भएको कीर्ते कागजात तयार पारेर वडापालिकाले नै खर्च गरेको वडास्तरीय दलित नेटवर्कका अध्यक्ष रङ्ग विकले आरोप लगाए।
आर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्गलाई विभिन्न किसिमका तालीम, गोष्ठी आयोजना गरेर उनीहरुको क्षमता अभिवृद्धि तथा आयआर्जनका क्रियाकलाप गर्नाको सट्टा उल्टै बञ्चित गर्न खोजेको उनले बताए।
अध्यक्ष विकले भने, 'बूढीगङ्गा नगरपालिका–२ कर्न्सन बाजुरामा रहेका दलित बालबालिकालाई शैक्षिक सामग्री खरीद गर्ने भनेर छुट्याइएको १० हजार रुपैयाँ त्यो रकम नेटवर्कलाई कुनै जानकारी नदिएर वडासचिव डिल्ली जैशीले चामल किनेर दिएको भन्ने कुरा जानकारीमा आएको छ, त्यो कुरा हामी सहन सक्दैनौ।'
वडा नम्बर १० का वडास्तरीय बाल सञ्जालका अध्यक्ष राकेश विकले बालबालिकाका लागि आएको रकम बालबालिकालाई नै जानकारी नगराई वडाले आफैँले खर्च गरेको बताए। नगर परिषद्मा वडाबाट लक्षित कार्यक्रमका लागि भनेर सधैँ तीन/चार लाख रुपैयाँको प्रास्ताव गर्दै गएको र नगरबाट पनि प्रस्ताव बमोजिमको रकम बिनियोजन हुँदै आएकामा वडाले भने आफैँले त्यो रकमअनुसारको कागजात मिलाएर खर्च गर्ने गरेको उनको भनाइ थियो।
वडाध्यक्ष धर्मराज जैशीले भने, 'लक्षित कार्यक्रमअन्तर्गतको तीन लाख रुपैयाँ लक्षित वर्गको रोहवरमा नै खर्च गर्नुपर्छ भनेर वडासचिव डिल्ली जैशीलाई जिम्मा दिइएकामा उहाँले सोही कार्यक्रममा रकम खर्च भइसकेको भन्ने सुन्नमा आएको छ।'
यसबारेमा तुरुन्तै वडापालिकाको बैठक राखेर छानबिन गरिने उनले बताए। जिल्लाका बूढीनन्दा, त्रिवेणी, बडिमालिका, बूढीगङ्गा नगरपालिका र हिमाली, पाण्डवगुफा, स्वामीकार्तिक, गौमुल र छेडेदह गाउँपालिकाका ६८ वडापालिकाले भने लक्षित वर्गका लागि आउने कार्यक्रमअन्तर्गतको रकम सोही वर्गलाई जिम्मा लगाएर विभिन्न कार्यक्रम गर्दै आएको जनाइएको थियो।