
वीरगन्ज : वीरगन्ज पावरहाउस नजिक रहेको जिएचपी बोर्डिङ स्कुलबाट गत बिहीवार बेपत्ता भएका विद्यार्थी अमितकुमार चौरसिया फेला परेका छन्। स्कुल प्रशासनले भारत बिहारको सुगौली रेल्वे स्टेसनबाट १३ वर्षीय अमितलाई फेला पारी पर्सा प्रहरीको रोहबरमा सोमबार राति ७ बजे परिवारको जिम्मा लगाएको पर्साका डीएसपी गौतम थापाले जानकारी गराए।
दिल्ली पुगेर रक्सौल आइरहेको अवस्थामा स्कुलका कर्मचारी प्रेमचन्द्र गुप्ताले सुगौली रेल्वे स्टेसनमा देखेको र अमितलाई बोलाएर वीरगन्ज ल्याएको जिएचपी स्कुलकी सञ्चालिका रमिन्दर कौरले बताइन्।
'बच्चा गायब भएपछि स्कुलले तीन जनाको टोली भारत पठाएको थियो। प्रेमचन्द्र बच्चालाई खोज्न नरकटियागन्ज गइरहेको बेला अमितलाई अर्को ट्रेनबाट रक्सौलतर्फ आइरहेको देखे,' उनले भनिन्, 'त्यसपछि बच्चालाई सम्झाइबुझाइ रक्सौल हुँदै वीरगन्ज ल्याएका हौँ।'
गत वैशाखदेखि होस्टेलमा बसेर कक्षा ६ मा अध्ययनरत अमितको परिवार हाल वीरगन्ज -१३ तेजारथ टोलमा बस्दै आएको छ। अमितका बुवा सोनालाल चौरसिया कालिकामाई गाउँपालिका २ का वडाध्यक्ष समेत हुन्।