PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अलपत्र, गाउँमै जादैनन् अभियानकर्मी



रासस

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अलपत्र, गाउँमै जादैनन् अभियानकर्मी
प्रतीकात्मक तस्बिर । फोटो : रासस ।

गौशाला : महोत्तरी गौशाला नगरपालिका–१ का रामचलितर राय मंगलवार दिउँसो गौशाला नगरपालिकाको कार्यालयमा आफ्नी २८ दिनकी छोरीको बीमा बनाउने स्वयम्सेवकको प्रतिक्षामा बसेका थिए।

छोरीलाई काखमा लिई श्रीमतीसहित चर्को घामकाबीच चार किलोमिटरको पैदल यात्रा गर्दै आएका रामचलितरले छोरी राखीकुमारी यादवको बीमा गराउनका लागि बिहानैदेखि बिमकको प्रतिक्षामा बसेका थिए।

त्यस्तै गौशाला नगरपालिका–११ का विन्देश्वर प्रसाद शर्माले पनि आफ्नी एक महिने छोरी अंशिकाको बीमा गराउनका लागि कार्यालयमा तीन पटकसम्म धाइसकेका छन्। चर्को घाममा श्रीमतीसहित काखमा बच्चालाई बोकेर आएका विन्देश्वरको मुहारमा काम नहुने हो कि भन्ने निराशा छाएका थिए। आफूले तीनपटकसम्म कार्यालयमा आएर छोरीको बीमा गराउनका लागि गरिएको प्रयास असफल भएपछि उनी र उनकी श्रीमती निराश भई बसेका थिए।

जन्मदर्ता बनाउने क्रममा वडा सचिवले आफूलाई जानकारी दिँदा छोरीको बीमा गराउनका लागि आएका गौशाला–५ का अनिल साह रौनियारले पनि नगरपालिकाको कार्यालयमा तीन घण्टासम्म प्रतिक्षा गर्नुपरेको जनाएका छन्। जेठ २८ गते जन्मिएकी छोरी आनन्दी कुमारीको बीमा भएपछि आफूले फुर्सद पाउने सोचमा उनी लामो प्रतीक्षामा बसिरहेका थिए।

घरघरमा गई छोरीको बीमा गराउनका लागि मुख्यमन्त्रीले निर्देशन दिँदासमेत स्वयमसेवक गाउँमा नजाँदा आफूजस्ता अनेकौँ अभिभावक समयमा जानकारी नपाएर छोरीको बीमा बनाउन नसकेको गौशाला–५ का गर्विदयाल साहले बताएका छन्।

घरघरमा नभएपनि कम्तीमा वडा कार्यालयसम्म पुगेर छोरी बीमा गराउँदा सर्वसाधारणलाई सुलभ हुने कार्यालयका योजना शाखामा कार्यरत वडा सचिव धर्मराज बस्नेतले बताएका छन्। नगरपालिकाको कार्यालयमा छोरी बीमा गराउनका लागि महिनाको १० गते र कुनै कुनै महिनामा मात्र दुई पटकसम्म बिमक आउने गरेको बस्नेतले बताएका छन्।

मुख्यमन्त्रीले ल्याएको छोरी बीमा कार्यक्रम प्रचारप्रसारको कमीको कारण नगरपालिकामा खासैरुपमा उपलब्धि हासिल हुन नसकेको नगरप्रमुख शिवनाथ महतोले बताएका छन्। आफूले नगरपालिकाका स्थानीयलाई प्रतिनिधि बनाएर पठाउनका लागि मुख्यमन्त्रीलाई गरेको आग्रहको कुनै सुनवाई हुन नसकेको नगरप्रमुख महतोले जनाएका छन्।

कार्यक्रम मुख्यमन्त्रीको मातहतमा रहेकोले यसमा आफूले कुनै संशोधन गर्न नसकिने बताउँदै नगरप्रमुखले सर्वसाधारणको सुलभ र सरल ढंगले सेवाप्रदायक बनाउनका लागि प्रयासरत रहने प्रतिवद्धता जनाएका छन्।

यस सम्बन्धमा बेटी पढाऊ, बेटी बचाऊ अभियान कार्यक्रमका प्रदेश नम्बर २ का संयोजक प्रियंका यादवले स्वयमसेवकलाई दिइने नियुक्तिपत्रमा नीति नियमलगायतका शर्त संशोधन गर्नुपर्ने भएकोले तत्कालका लागि नविकरण गर्ने कार्य रोकिएको जनाएकी छिन्।

नियुक्तिपत्रमा घरघरमा गएर कार्यसम्पादन गर्नका लागि निर्देशन दिएता पनि कम्तीमा वडा कार्यालयसम्म गएर जनतालाई सुलभ रुपमा सेवा सुविधा दिनुपर्नेमा संयोजक यादवले धारणा राखेकी छिन्।

प्रदेश नम्बर २ को सरकारले प्रदेशभरिमा गत माघ १ गतेदेखि ल्याएको सो अभियान प्रदेशभरिका गाउँगाउँमा सञ्चालनमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरले जनाएको छ। छोरी शिक्षा बीमा कार्यक्रमअन्तर्गत प्रदेश सरकारबाट २० वर्षपछि एकमुष्ठ एक लाख २५ हजार रुपैयाँ पाउनेछन्।

छोरी शिक्षा बीमाका लागि प्रदेश सरकारले प्रत्येक वर्ष १३ हजार ६४६ र प्रभु बैंकले एक हजार रुपैयाँ दिनेछ। त्यसका लागि प्रदेश सरकारले ५५ करोड ६० लाख रुपैयाँ बजेट छुट्याएको छ भने सङ्घीय सरकारले विशेष अनुदानस्वरूप प्रदेश सरकारलाई ५० करोड रुपैयाँ अनुदान दिएको छ।

अभियानलाई तीव्रता दिन प्रदेशका आठ वटै जिल्लामा स्वयंसेवक नियुक्त गरिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell