PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

गौहत्या प्रकरणमा पक्राउ परेका ७ जनामाथि अनुसन्धान सुरु



पी बी खड्का

गौहत्या प्रकरणमा पक्राउ परेका ७ जनामाथि अनुसन्धान सुरु

सुर्खेत : कटकुवा जंगलमा भएको गौहत्या प्रकरणमा पक्राउ परेका सात जनालाई जिल्ला अदालत सुर्खेतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ। घटनामा संलग्न अर्का एकजनाको नाममा पक्राउ पूर्जी जारी भएको छ।

नेपालगंजबाट दैलेख लैजादै गर्दा गाईलाई विचबाटोमै छोडेर फर्कने क्रममा पाँच ट्रक सहित चालक र सहचालक गरी सातजनालाई प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको थियो। चालकहरु शत्रुधन चौधरी, दामोदर केसी, विवेक कुँवर, सागर विक, हिमबहादुर जिसी र सहचालकहरु अमृत चौधरी, कृष्णबहादुर विसीलाई सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको हो।

‘पशुपंक्षी कसुर अन्तर्गत मुद्धा दायर भएको छ। १३ गतेदेखि लागु हुने गरी ७ दिनको म्याद थप भएको र अनुसन्धान भइरहेको छ। पक्राउ परेका मध्येबाट बयान लिने काम भइरहेको छ’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) रवि रावलले भने, ‘उप–महानगरपालिका अन्तर्गतको नगर प्रहरीका प्रहरी निरीक्षकसहित तीन वटा ट्रक र चालकको खोजी भइरहेको छ।’

नेपालगंजको निकाय र दैलेखका सम्बन्धित भनिएका निकायसँग थप विवरण मागेर अनुसन्धान भइरहेको उनले बताए। उक्त घटनामा संलग्न जो कसैलाई कारवाहीको दायरामा ल्याउने उनको भनाइ छ।

‘कसको आदेशले, कसरी, किन ल्याईयो, कसले त्यस ठाउँमा खसाल्न भनेको हो, लगाएतका विषयमा अनुसन्धान भइरहेको छ’, उनले भने।

नेपालगंज उप–महानगरपालिकामा रहेको काञ्जिहाउसबाट ल्याइएका पशु चौपाया दैलेखको श्रीस्थान पुर्याजउने भन्दै वीरेन्द्रनगरको ब्युरेनी, सुब्वाकुना र कटकुवामा गरी ३५ वटा गाई गोरु मृत भेटिएका थिए।

नेपालगंज उप–महानगर र जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत दैलेखका लागि पठाईएका तीन सय ७० गाई गोरु, बाच्छाबाच्छीमध्ये दुई सय २१ वटा नेपालगंज काञ्जिहाउसमै फिर्ता गरिएको छ।

छुट्टाछुट्टै छानविन समिति गठन

उक्त घटनाको छानविन गर्न छुट्टाछुट्टै समिति गठन भएका छन्। गृहमन्त्रालयले पनि उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ। १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी सो समिति गठन भएको हो।

यता, नेपालगंज उप–महानगरपालिकाले पनि उप–मेयर उमा थापा मगरको संयोजक्त्वमा छानविन समिति गठन गरेको छ।

यो घटनाको छानविन गर्न कर्णाली प्रदेशमै एक समिति गठन गरिएको छ। प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रहरी उपरीक्षक भोला रावलको संयोजक्त्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको हो। उक्त समितिले नेपालगंजबाट भित्रिएका पशु चौपायाको बारेमा अनुसन्धान गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell