PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

ब्रेक्जिटको संकटः बेलायती प्रधानमन्त्री बोरिसले गुमाए संसदमा बहुमत



पहिलोपोस्ट

ब्रेक्जिटको संकटः बेलायती प्रधानमन्त्री बोरिसले गुमाए संसदमा बहुमत

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले संसदमा बहुमत गुमाएका छन्। कन्जरभेटिभ पार्टीका सांसद् फिलीप लिले जोनसनको ब्रेक्जिट नीतिप्रति असन्तुष्ट जनाउँदै विपक्षी लिबरल डेमोक्रयाट्समा गएपछि बोरिसले बहुमत गुमाएको बीबीसीले जनाएको छ।

फिलीपले पार्टी परिवर्तन गरेसँगै संसदमा कन्जरभेटिभ पार्टीको ३०९ सांसद भएका छन्। बोरिसलाई समर्थन गरेको डेमोक्रयाटिक युनियन पार्टीको १० सांसद छन्। यसरी उनीसँग ३१९ सांसदको समर्थन रहेको छ। विपक्षी लिबरल पार्टीसँग भने ३२० सांसद भएका छन्।

बोरिसले संसदमा सम्बोधन गर्दै गर्दा फिलीप विपक्षीको स्थानमा गएर बसेका थिए। सम्बोधनकै बीचमा लिबरलहरुले टेबल ठोकेर फिलीपको स्वागत गरेका थिए।

विपक्षीहरूले सहमति बिना ब्रेक्जिट प्रक्रिया अगाडि नबढाउन आग्रह गरिरहँदा बोरिसले भने ब्रेक्जिटलाई रोक्ने प्रयास भए आफूले आम निर्वाचनको प्रस्ताव पेस गर्ने घोषणा गरेका थिए।

बहुमत गुमाएसँगै बोरिसलाई संसदमा थप चुनौती बढेको छ। अब विपक्षीहरूले सहमति बिना ब्रेक्जिट प्रक्रिया रोक्न विधेयक ल्याउन सक्ने बताइएको छ।

यस्तै संसद्को कारबाही नियन्त्रण गर्ने पक्षमा भएको मतदानमा सरकारको पक्षमा ३०१ मत खस्दा विपक्षमा ३२८ मत खसेको थियो।

ब्रेक्जिट टुङ्ग्याउन नसकेपछि थेरेसा मेले राजीनामा दिएपछि बोरिस एक महिनाअघि प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले जसरी भए पनि ब्रेक्जिटलाई टुंगोमा पुर्‍याउने बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell