PahiloPost

Oct 21, 2019 | ४ कात्तिक २०७६

येँया:का लागि मल्लकालीन प्रवेशद्वारमा यसरी पुर्‍याइयो य:सिं, हनुमानढोकामा कसले शुरु गर्‍यो य:सिं ठड्याउन?

येँया:का लागि मल्लकालीन प्रवेशद्वारमा यसरी पुर्‍याइयो य:सिं, हनुमानढोकामा कसले शुरु गर्‍यो य:सिं ठड्याउन?

सहयोग रञ्जित/पहिलोपोस्ट


काठमाडौं अहिले 'फेस्टिभ मुड'मा छ।

गुँला पर्व सकिएसँगै काठमाडौंवासी अहिले येँया: (इन्द्रजात्रा)को तयारीमा छन्। आठ दिन लामो येँया:का लागि य:सिंलाई भोटाहिटी पुर्‍याइएको छ। यससँगै काठमाडौंका भित्री शहरमा जात्राको चहलपहलसमेत शुरु भइसेकेको छ।

भाद्र शुक्ल द्वादशीमा विधिवत रुपमा हनुमानढोकामा रहेको काल भैरब अगाडि य:सिं ठड्याएर येँया: को शुरुवात हुनेगर्छ।

यसवर्ष येँया:का लागि य:सिंलाई तत्कालिन कान्तिपुर नगरको पूर्वी प्रवेशद्वार रहेको भोटाहिटीमा पुर्‍याइएको छ। भोटाहिटीमा रहेको मण्डल नजिकै य:सिंलाई राखिएको छ। अरुबेला सो मण्डललाई पुरेर राखिन्छ। येँयाका अवसरमा मात्रै यो मण्डल खोलेर पूजा गरिन्छ।

य:सिं ल्याउन मानन्धर समुदायका अगुवाहरु भदौ १५ गते ११ बजेर ७ मिनेटको साइतमा 'वन यात्रा' मा निस्किएका थिए। उनीहरु गुरुजुको पल्टनसहित टीका लगाएर हनुमानढोकाको नासल चोकबाट भक्तपरको नालामा रहेको यसिंगुँ प्रस्थान गरेका थिए।

सोही दिन राति ८ बजेर १ मिनेटको शुभ साइतमा स्वस्ती पाठ गर्दै (दुगु) बोकाको बली दिएर य:सिंका लागि छानिएको सल्लाको रुखमा पा बन्चरो)ले हानिएको थियो।  

त्यसक्रममा य:सिंका लागि छनौट गरिएको रुखमा हनुमानढोकामा कार्यरत सहायक पण्डित इश्वर प्रसाद अधिकारीले क्षमा पूजा गरेका थिए। यस्तै, काठमाडौंबाट गएको गुरुजुको पल्टनले य:सिलाई सलामी अर्पण गरेको थियो।

पहिला बोकालाई अय्ला खुवाएर छोडेर जुन रुखमा छुन्थ्यो त्यही रुखलाई य:सिंका रुपमा काटेर ल्याउने गरेको कथन थियो। तर, अहिले भने त्यस्तो नहुने केन्द्रीय मानन्धर संघका सचिव गजेन्द्र मानन्धर बताउँछन्।

गजेन्द्रले रुख काट्ने विषयमा रहेको भ्रमबारे चिन्ता व्यक्त गर्दै भने, 'बोकाले छानेको रुख काटेर ल्याउने कुरा गलत हो। पहिला त्यस्तो गरिन्थ्यो होला तर अहिले हामी आफै जान्छौं, पूजा गर्छौं। कम्तीमा ३५ हात लामो, ४ हात चौडाइ भएको मोटो रुख छनौट गर्ने गरेका छौं।'

अहिले इन्द्रजात्रा शुरु हुने दिन हनुमानढोकामा गाडिने य:सिंको लागि रुख छनौट गर्न केन्द्रीय मानन्धर संघका सदस्यहरु शिवरात्रीपछि नालास्थित यसिंगुँमा जाने गर्छन्। पहिला राजपुरोहितसँग गएर वनकालीको पूजापश्चात रुख छनौट गरिन्थ्यो। हाल भने गुरुजुको पल्टनका पुजारीसँग गई रुख छनौट गर्ने मानन्धर बताउँछन्। रुख छान्न जाने क्रममा होम गरी पूजा गर्न पहिला वर्ष ठड्याइएको य:सिंको काठ प्रयोग गरिने गरिएको छ।

भदौ १५ गतेको शुभ साइतमा रुख पूजा गरेर चिन्हो लगाइसकेपछि भोलिपल्ट बिहानै य:सिं काटिएको थियो। काठमाडौंबाट गएको गुरुजुको पल्टनले सलामी दिएपछि करिब ६० जना व्यक्तिले 'हस्से हैसें' गर्दै ताथली भञ्ज्याङ, ब्रमहायणी, च्यामासिंह, जगाती, सूर्यविनायक हुँदै य:सिंलाई तानेर राधेराधे पुर्‍याएको थिए। चौथीको दिन भादौ १७ गते य:सिंलाई राधेराधेबाट कोटेश्वर, बानेश्वर, माइतीघर, भद्रकाली, न्यूरोड गेट हुँदै भोटाहिटीमा पुर्‍याइएको थियो।

यसवर्ष य:सिंलाई भाद्र २० गते शुक्रवार बिहान ९ बजेर ३५ मिनेटको साइतमा भोटाहिटीबाट पूजा गरेर बाजागाजाका साथ नगर प्रवेश गराइनेछ। भदौ २४ गते द्वादशीका दिन बिहान ९ बजेर १७ मिनेटमा वसन्तपुरस्थित हनुमानढोका य:सिंमा इन्द्रध्वज फहराएर ठड्याएसँगै आठ दिन लामो येँया: विधिवता रुपमा शुरु हुनेछ। त्यसदिन दिवंगतहरुको सम्झनामा पाल्चा बाल्दै उपाकु जाने गरिन्छ। त्यसै दिनदेखि मजिपा: लाखे आजु, पुलुकिसी, सव:भक्कु नाच पनि प्रदर्शन हुन्छ। भदौ २७ गते जीवित देवी कुमारी, जीवित देव गणेश र भैरबको रथ यात्रा हुनेछ।

हनुमानढोकामा कसले शुरु गर्‍यो य:सिं ठड्याउन?

त्रिभुवन विश्वविद्यालयका इतिहासका पूर्वप्राध्यापक डा त्रिरत्न मानन्धरका अनुसार नेपालमण्डलमा  मल्लकालदेखि नै य:सिं ठड्याउने परम्परा रहेको थियो। उनी विश्वभर शुभकार्य अगाडि लामो काठ ठड्याउने परम्परा रहेको भन्दै सिन्धुघाटी सभ्यतामासमेत काठ ठड्याउने गरिएको बताउँछन्।

काठमाडौंमा येँया:मा पनि य:सिं ठड्याउन मल्लकालमा नै शुरु भएको थियो। तर, त्यससमय अहिलेको जसरी तामझाम गरेर य:सिं ठड्याउने नगरिएको उनले बताए। हाल वसन्तपुरमा रहेको काल भैरब अगाडि शाहकालमा मात्रै य:सिं ठड्याउन शुरु भएको मानन्धर बताउँछन्।

'मल्लकालमा सामान्य रुपमा य:सिं ठड्याउने गरिन्थ्यो। अहिलेको जस्तो तामझाम हुँदैन थियो। पछि प्रताप सिंह शाहको समयमा भव्यताका साथ हनुमानढोकामा य:सिं ठड्याउन शुरु भएको हो। त्यसभन्दा येंया: का लागि एकादशीमा मरु नजिकै अट्कोनारायणमा य: सिं ठड्याउने गरिन्थ्यो।'

हनुमानढोकामा य:सिं ठड्याउन शुरु गरिएपनि अट्कोनारायणमा अहिले पनि य:सिं  ठड्याउन बन्द नभएको उनी बताउँछन्।  त्यसयता हरेक वर्ष धुमधामले य:सिंमा इन्द्रध्वज फहराएर ठड्याउने गरिँदै आइएको छ। 

यस्तै, मानन्धर समुदायले पनि करिब १५ वर्ष यतामात्रै भक्तपुरको यसिंगुँ गएर रुख काटेर ल्याउने गरेको गणेशबहादुर मानन्धर बताउँछन्। त्यसभन्दा पहिला रुख काटेर ल्याउने काम गुठी संस्थानले गर्थ्यो। भोटाहिटी पुर्‍याइएपछि भने बाँकी सबै काम मानन्धर समुदायले नै गर्थे।

पछि मानन्धर समुदायले गुठी संस्थानमा गएर आफूहरुले नै परम्परागत रुपमा य:सिं तानेर ल्याउनुपर्ने भन्दै माग गरेको उनी बताउँछन्।

१२ वर्ष देखि लगातार भक्तपुर गएर य:सिं ल्याउने प्रक्रियामा सहभागी हुँदै आएका गणेशबहादुर भन्छन्, 'पहिला कसरी तानेर ल्याउथ्यो केही थाहा हुन्न थियो। एकदिन हामी गुठी संस्थानमा गएर य:सिं ल्याउने जिम्मा हामीलाई दिन माग गर्‍यौं। जिम्मेवारी नदिए गर्दै आएका अरु कर्महरु नगर्ने भन्यौं। पछि संस्थानले हाम्रो कुरा मान्यो। त्यसदेखि हामीले नै य:सिं ल्याउँदैछौं।'

कसरी ल्याउने य:सिं ?

'य:सिंलाई अब तानेर होइन गाडीमा ल्याउनुपर्छ।' समाज गतिशिल हुँदै गएपछि यसप्रकारका आवाजहरु सुनिन्दै आएको छ। तर, संस्कृतिलाई कायम नै राख्नुपर्ने आवाजहरु पनि बुलंद नै छन्।

रुख तानेर ल्याउँदा ट्राफिक जाम भएको र तानेर ल्याउने मानिस घाइते भएको भन्दै यस्ता माग उठ्दै आएको छ। तर, डा त्रिरत्न मानन्धर भने सकेसम्म संस्कृतिलाई चलिआएको परम्पराबाटै चलाउनुपर्ने बताउँछन्।

'अहिले नालाबाट तानेर ल्याउन गाह्रो भयो भनेर तानेर नलाउने कुरा सुनेको छु। कुनै पनि संस्कार बोझ भयो भने त्यसलाई परिमार्जन गर्न सकिन्छ। तर त्यस्तो परम्पराले नराम्रो गरेसम्म त्यसलाई परिवर्तन गर्नु हुँदैन। गाह्रो भएकै हो भने त्यसमा विचार गर्न सकिन्छ।'

मानन्धर समाजका सचिव गेजेन्द्र मानन्धर पनि परम्परागत शैलीमा तानेर ल्याउँदै गरिएको य:सिंलाई सहज हुने किसिमले ल्याउने विषयमा छलफल भइरहेको बताउँछन्। गाह्रो भए त्यसलाई परिमार्जन गर्दै लग्ने हो। तर त्यसो भन्दैमा संस्कार र संस्कृतिमाथि नै प्रश्न चिन्ह हुने गरी कुनै पनि कार्य नगरिने उनले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell