
चितवन : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंबाट भरतपुरमा आइपुग्ने सुरुङ मार्गबारे छलफल चलिरहेको बताएका छन्।
आज चितवनको भारतपुर विमानस्थलमा विमानस्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाहरुसँग अन्तर्क्रिया कार्यकमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त भनाई राखेका हुन्।
कार्यक्रममा उनले सुरुङमार्ग बनेमा साना विमानका लागि भरतपुर केन्द्र बन्न सक्ने दाबी गरे।
'अझ भन्ने हो भने सुरुङबाट शक्तिखोर हुँदै भरतपुर ल्याउने बाटोको परिकल्पना हामीले गरेका छौँ। छलफल पनि चलिरहेको छ' प्रचण्डले भने, 'साना विमानका लागि भरतपुर प्वाइन्ट हुनसक्छ। यसो गरेमा छोटो समयमै काठमाडौं आउजाउ गर्न सकिन्छ।'
चितवनलाई देशकै विकासको मोडल बनाउन आफूले चाहेको उल्लेख गर्दै उनले यहीबाट सिकेर देशभर विकास गर्नुपर्ने जिम्मा आफ्नो काँधमा रहेको बताए। भरतपुर विमानस्थल सुधार्न यो अन्तर्क्रिया पहिलो एक्सन भएको प्रचण्डको भनाई थियो।
पर्यटनमन्त्री योगेश भट्टराईले भारतपुर विमानस्थलबारे एक हप्तामा आफ्नो प्रतिवद्धता आउने बताए।
कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौड्यल, भरतपुर उपमहानगरपालिकाकी मेयर रेणु दाहाललगायतको उपस्थिति थियो।