PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

डेंगु नियन्त्रणका लागि काठमाडौंमा चल्यो फगर मेसिन

डेंगु नियन्त्रणका लागि काठमाडौंमा चल्यो फगर मेसिन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं :  डेंगुको संक्रमण काठमाडौंमा समेत देखिएपछि काठमाडौं महानगरिपालिकाको वातावरण विभागले डेंगु नियन्त्रणका लागि प्रयास सुरु गरेको छ। आज काठमाडौंको वडा नम्बर २१ मा पर्ने लगन र सुनधारा क्षेत्रमा डेंगु नियन्त्रण गर्न औषधि छरिएको छ।

वडा नम्बर २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्यले डेंगुको संक्रमण देखिएपछि पहिलोपटक वडामा औषधि छरिएको बताए।  

क्रुबी फाउन्डेसन नामक संस्थासँगको सहकार्यमा महानगरपालिकाले 'फगर' मेसिनको प्रयोग गर्दै डेंगुको संक्रमणलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको हो।

डिजेल, पेट्रोल र मालाथिन विषादी मिसाएर फगिङ तयार गरिन्छ। डेढ वर्षयता नेपालका विभिन्न जिल्लामा डेंगु नियन्त्रणका लागि सक्रिय रहेको फाउन्डेसनले काठमाडौं उपत्यकाभित्र चारवटा स्थानमा फगिङ मेसिनको प्रयोग गर्दै आएको छ।

उपत्यकामा पहिला पनि यसरी औषधि छर्ने गरिएता पनि अहिले डेंगुको प्रभाव बढ्दै गएपछि औषधि छर्ने काम तीव्र पारिएको संस्थाका प्रवीण ज्ञवालीले बताए। यस संस्थाले हिजो खुशीबुँ, राष्ट्रपति भवन, टेकु लगायतका स्थान र त्यस छेउछाउका ठाउँमा समेत औषधि छरिसकेको छ।

देशभरि नै डेंगुको प्रकोप बढ्दै गएको छ। नेपालभरि डेंगुका बिरामीमध्ये ३ जनाको मृत्यु भएको र २ हजार ५ सय ५९ जना बिरामी रहेको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell