PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

दशैं आयो, बसको अग्रिम टिकट असोज पहिलो साताबाट



पहिलोपोस्ट

दशैं आयो, बसको अग्रिम टिकट असोज पहिलो साताबाट

काठमाडौं : दशैंका लागि असोज पहिलो साता बसको अग्रिम टिकट खुल्ने भएको छ। यातायात व्यवस्था विभागले बुधवार बोलाएको बैठकमा असोज पहिलो साता अग्रिम टिकट खोल्ने प्रारम्भीक सहमति भएको हो।

‘असोज पहिलो साता अग्रिम टिकट खोल्न प्रारम्भीक सहमति भएको छ। तर, यातायात व्यवसायीले आफ्नो बैठक डाकेर मात्रै निर्णय गर्न आग्रह गरेकाले मिति घोषणा हुन सकेन्,’ विभागका एक अधिकारीले भने।

बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बिहीवार आफ्नो बैठक डाकेर मात्रै निर्णय गर्नसक्ने जानकारी गराएका थिए। महासंघले बैठकबाट गाडीको विवरण तयार पारेर विभागलाई दिनेछन्। त्यही विवरणका आधारमा अर्को साता बस्ने बैठकले अग्रिम टिकट खोल्ने मिति तय हुनेछ।

बैठकमा व्यवसायीले यातायात समिति खारेजीपछि नयाँ बस नथपिएकाले व्यवस्थापन गर्न भने कठिन हुने बताएका थिए।

‘यातायात समिति हुँदा तेल हालेर बस पठाउने गरिन्थ्यो। अहिले समिति क्रियाशील छैन। यताबाट यात्रु लिएर जाने र उपत्यकाबाट भित्रिँदा खाली आउनुपर्ने अवस्था हुन्छ। त्यसका बारेमा सरकारी निकायले सोचिदिनुपर्छ,’ व्यवसायीले भनेका थिए, 'भाडा नबढेको पाँच वर्ष भइसकेको छ। यस अवधिमा पार्टपूर्जा र कर्मचारीको तलब बढेको बढ्यै छ। तर, हामीले कुनै दबाब दिँदैनौं। सरकार अभिभावक भएकाले व्यवसायीको समस्या बुझ्ने अपेक्षा राखेका छौं।’

महासंघका महासचिव सरोज सिटौंलाले अग्रिम टिकट खोल्न सहमत भए पनि मिति भने तय नभएको बताए।

‘हामीले धेरै असहज अवस्थामा पनि दशैंका बेलामा यात्रुको सेवा गरेका छौं। लाखौं यात्रुलाई सुरक्षित गन्तब्यमा पुर्‍याउने जिम्मेवारी हाम्रो हो। त्यसमा हामी कुनै कसर बाँकी राख्दैनौं,’ उनले भने, ’समिति भङ्ग भएपछि नयाँ गाडी थपिएको छैन। हामीले संचालनमै रहेका गाडीमार्फत् यात्रुलाई गन्तब्यमा पुर्‍याउने प्रतिवद्धता गरेका छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell