PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

बारा र पर्साका हुरी पीडितले पाउने भए सेनाले बनाएको घर



राधेश्याम पटेल

बारा र पर्साका हुरी पीडितले पाउने भए सेनाले बनाएको घर

वीरगंज : कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले तिन तहका सरकारको उच्चतम समन्वयका कारण बारा र पर्साका हावाहुरी पीडितहरुको घर समयमै निर्माण भई हस्तनान्तरण गर्न सकिएको बताएका छन्।

नेपाली सेनाको जनता आवास निर्माण कार्यदलद्वारा आज वीरगंजमा आयोजित हावाहुरी प्रभावितहरुको घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री पोख्रेलले स्थानीय, प्रदेश र संघीय सरकारको  आपसी समन्वय र नेपाली सेनाको कार्यदक्षताको कारण बारा र पर्साका हावाहुरी पीडितहरुले घर पाएको कुरामा जोड दिए।

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री पोख्रेलले वर्तमान सरकार गठनपछि जनताले राखेका अपेक्षा पुरा नभएको गुनासो आउनु स्वभाविक भएको बताउँदै अब जनतालाई दिएको वाचा र प्रतिबद्धता अनुरुप काम गरेर देखाउने बेला आएको बताए।

मुलुकको स्थायित्व र विकासका लागि नभई नहुने कानुन निर्माण गर्ने प्रक्रिया लगभग सम्पन्न भएको र अब पनि जनताका आकांक्षा पुरा नभए जनताले गर्ने फैसला स्वीकार गर्न तयार हुनुपर्ने कुरा उनले औल्याए।

कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा नेपाली सेनाले छोटो अवधिमा जनआकांक्षा अनुरुप घर निर्माण सम्पन्न गरेको भन्दै नेपाली सेनालाई धन्यवाद दिए।

मुख्यमन्त्री राउतले सेनाको कार्यकुशलताको बावजुद पनि हावाहुरी पीडितको केही घर निर्माणको क्रममा छुट्न गएको बताउँदै छुटेका घरहरु संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति पुर्णचन्द्र थापाले चैत्र १७ गते बारा पर्सामा आएको विनाशकारी हावाहुरीले पुर्‍याएको क्षति र स्थानीयले कठिन परिस्थितिको सामना गरिरहेको अवस्थाबाट मुक्ति दिन सरकारको निर्देशन अनुरुप सेनाले घर निर्माण सम्पन्न गरेको बताए।

कार्यक्रममा प्रधान सेनापति थापाले निर्माण सम्पन्न गरिएका बाराका ८ सय ७ र  पर्साका ६२ गरी ८ सय ६९ घरको सांचो कार्यवाहक प्रधामन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेललाई हस्तनान्तरण गरेका थिए। पोख्रेलले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई सांचो दिएका थिए।

हावाहुरीबाट प्रभावित भई घर निर्माण गरिएका बाराका कलैया उपमहानगरपालिका, पचरौता र महागढीमाई नगरपालिका, फेंटा, सुवर्णपुर, प्रसौनी, परवानीपुर र देवताल गाउँपालिका तथा पर्साको वीरगंज महानगरपालिका, बहुदरामाई नगरपालिका र संखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष तथा नगर प्रमुखहरुलाई सांचो हस्तनान्तरण गरेका थिए।

हस्तनान्तरण गरिएको सांचो सम्बन्धित स्थानीय तहका प्रमुखहरुले आआफनो गाउँपालिका तथा नगरपालिकाको प्रभावित क्षेत्रमा पुगी विशेष कार्यक्रमको आयोजना गरी हस्तनान्तरण गर्ने नेपाली सेनाले जनाएको छ।

कार्यक्रममा प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल, रक्षा सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका उच्चपदस्थ अधिकारी, बारा र पर्साका सुरक्षा निकायका प्रमुखहरु, प्रदेश सभा सदस्य, स्थानीय जनप्रतिनिधिहरु, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

गत चैत्र १७ गते आएको विनाशकारी हावाहुरीका कारण बारा र पर्सामा जिल्लामा २९ जनाको ज्यान गएको थियो भने एक हजार दुई सय भन्दा बढी घाईते भएका थिए। गत चैत २१ गते सम्पन्न मन्त्रिपरिषदको आकस्मिक बैठकले हावाहुरीपीडितका लागि सरकारले नै घर निर्माण गरिदिने र सोको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो। 

सो निर्णयपछि बारा र पर्सामा नेपाली सेनाले बैशाख २१ गते घर निर्माण कार्यको थालनी गरेको थियो। नेपाली सेनाले बारा पर्सामा १२ समूह बनाएर सैनिक र गैरसैनिक गरी छ हजार भन्दा बढी जनशक्ति घर निर्माणमा लगाएको थियो।

नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले हावाहुरी पीडितले घरको लागत प्रतिघर ४ लाख ८५ हजार रहेको प्रतिवेदन पेश गरेको छ। सरकारले प्रतिघर निर्माणका लागि पाँच लाख ४६ हजार दरले रकम उलपब्ध गराएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell