PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

एटिएममा चिनियाँ भाषाको प्रयोग पनि लुटिनुको एक कारण



पहिलोपोस्ट

एटिएममा चिनियाँ भाषाको प्रयोग पनि लुटिनुको एक कारण

काठमाडौं : चिनियाँले एटिएमबाट मच्चाएको 'लुट'को अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकले गठन गरेको टोलीले एटिएममा प्रयोग भएको चिनियाँ भाषालाई पनि कारण देखाएको छ।

नेपाली र अंग्रेजी भाषाको मात्र प्रयोग गर्दै आएका बैंकहरुले पछिल्लो समय एटिएममा चिनियाँ भाषा पनि प्रयोगमा ल्याएका छन्। नेपालमा लुट्न आएकाहरु नेपाली र अंग्रेजी दुवै भाषा नबुझ्ने चिनियाँ नागरिक छन्। पक्राउ परेका ६ जनासँग प्रहरीले दोभाषे प्रयोग गरे बयान लिइरहेको छ।

बैंकका एटिएममा चिनियाँ भाषा प्रयोग भएकाले उनीहरुलाई लुट्न सजिलो भएको अनुसन्धानमा देखिएको छ। चिनियाँ भाषा नभएको भए उनीहरुले एटिएमबाट सजिलै लुट मच्चाउन नसक्ने अनुसन्धान अधिकृतहरुको भनाइ छ।

त्यसमाथि अनुसन्धान अगाडि बढाउन प्रहरीसँगै पनि भाषागत दक्ष जनशक्ति छैन। 

पढ्नुस् : भाषा नबुझ्दा प्रहरीको अनुसन्धानमा अरुकै भर

आज चिनियाँ नागरिकले प्रणाली ह्याक गरेर एटिएमबाट पैसा झिकेको बारे अनुसन्धान गर्न बनेको टोलीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाललाई प्रतिवेदन बुझाएको छ।

राष्ट्र बैंककै भुक्तानी तथा फर्छ्यौंट विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा बनेको टोलीले कमजोरी कहाँ भयो भन्ने टुङ्गो भने लगाउन सकेन। यद्यपि, टोलीले सुरक्षात्मक उपायहरु के के हुनसक्छन् भनेर कार्यान्वयन गर्नु पर्ने विषयहरु सुझाबका रुपमा दिएको छ।

‘अहिलेसम्म प्राप्त विवरणहरुका आधारमा हामीले प्रतिवेदन तयार पारेका हौं। केही सुझाबहरु पनि दिएका छौं,’ मिश्रले भने, ‘बैंकहरुको तर्फबाट गर्नु पर्ने सुरक्षात्मक उपायका बारेमा हामीले लेखेर दिएका छौं।’

टोलीले नेप्स र भिसा तथा सम्बन्धि बैंकहरुसँग सहकार्य गरेर प्रतिवेदन बनाएको छ। उनीहरुले दिएको तथ्याङ्कका आधारमा नेपालभित्रबाट १ करोड ६८ लाख रुपैयाँ र भारतबाट भारु १ करोड ५ लाख रुपैयाँ झिकिएको छ। भारतबाट झिकिएका केही रकम भने बास्तविक ग्राहकले नै झिकेको पनि भेटिएको छ।

‘अहिले नै हामीले यति रकम लुटिएको रहेछ भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘लुटिएको मध्ये सवा करोड रुपैयाँ चिनियाँहरुबाट बरामद भएको छ। ठूलो क्षति भएको छैन। तर, सुधार हुन भने आवश्यक छ।’

टोलीले अहिलेसम्म चिप कार्ड प्रयोग नगरेका बैंकहरुलाई तत्काल प्रयोगमा ल्याउन भनेको छ। साथै चिप कार्डलाई सपोर्ट हुने खालको नयाँ एटिएम जडान गर्न पनि भनिएको छ।

गलत कारोबारलाई निरुत्साहित गर्ने खालको प्रणाली जडान गर्नलाई पनि सुझाब दिइएको छ। एटिएममा राखिएको रकमको बीमा गर्न पनि सुझाब दिइएको छ। टोलीले दिएको सुझाबका आधारमा गभर्नर नेपालले आवश्यक निर्देशन दिने छन्।

वास्तविक घटनाका बारेमा अध्ययन गर्न सिङ्गापुरबाट फरेन्सिक टोली नेपाल आइसकेको छ। टोलीले भोलि बिहानबाटै अध्ययन गर्ने छ। टोलीको अध्ययनपछि वास्तविकता बाहिर आउने मिश्रले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell