
काठमाडौै: बालिका तथा महिलाहरुमाथि हुने अन्याय र शोषणविरुद्धको 'उर्लंदो सय करोड अभियान २०२०' नेपालबाट आरम्भ हुने भएको छ। दक्षिण एसियाकी सशक्त सामाजिक अभियन्ता, कवि, लेखक कमला भसिनले सुरु गरेको वान बिलियन राइजिङ् नेपालमा भदौ २१ गते अर्थात् ७ सेप्टेम्बर २०१९ देखि सुरु हुन लागेको हो।
पुरुष प्रधानता र लैङ्गिकताले निम्त्याएको अवस्थाबारे खुलेर लेख्ने गरेकी भसिन हाल नेपालमा छिन्। उनी अभियान घोषणाका लागि नेपाल आएकी हुन्। नागरिक समाज नेपाल र उनको संस्था संगतको सहकार्यमा हुने कार्यक्रममा संगती ग्रान्ट अवार्ड वितरण तथा मीतो मेमिरीयल अवार्डको घोषणा पनि हुनेछ। यी अवार्डहरु लैंगिक समानता, न्याय र शान्तिका लागि नेपाल वा अन्य दक्षिण एसियाली देशमा काम गरिरहेका महिला र संस्थालाई प्रदान गरिने छ।
यस वर्षको संगती ग्रान्ट अवार्ड महिलाको नेतृत्व, क्षमता अभिबृद्धि, सीप विकासमा योगदान गरेको सम्मानस्वरुप सृजनशील महिला समाज नेपाल, काठमाडौंलाई प्रदान गरिंदैछ। त्यस्तै व्यक्तितर्फ मिथिला चित्रकलामार्फत विश्वमा लैंगिक समानता, सामाजिक समावेशीकरण, महिलाहरु र अन्यमाथि हुने हिंसाको बारेमा सन्देश प्रवाह गरेकोमा सुनैना ठाकुरलाई प्रदान गरिने भएको छ।
त्यस्तै, मितो स्मृति अवार्ड नृत्यांगना, मानव अधिकारकर्मी स्वर्गीय मितो भसिन मलिकको सम्झनामा स्थापना गरिएको हो। महिला सशक्तिकरण, न्याय, मानवअधिकार र शान्तिका लागि कार्यरत प्रतिवद्ध दक्षिण एसियाली महिलाहरुलाई प्रदान गरिने यो अवार्ड यो वर्ष आजाद फाउन्डेसनमा किशोरी कार्यक्रममा भर्ना भएका ५० जना बालिकाहरुलाई उच्च माध्यमिक तहको अध्ययन पूरा गर्न सक्षम बनाउन दिइने उनले बताएकी छिन्।