PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

कांग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ गतेदेखि, असोज ७ मा सरकारविरुद्ध प्रदर्शन



नेत्र तामाङ

कांग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ गतेदेखि, असोज ७ मा सरकारविरुद्ध प्रदर्शन

काडमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भदौ २४ गतेदेखि दोस्रो चरणको जागरण अभियान सुरु गर्ने भएको छ। कांग्रेसले दोस्रो चरणको अभियान सुरु गर्ने जानकारी सानेपास्थित पार्टी कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलन गरी दिएको हो।

कांग्रेसले असोज ७ गते जिल्लास्तरीय विरोध प्रदर्शन गर्ने भएको छ। विभिन्न पाँच मुद्दामा कांग्रेसले सरकारको विरोध गर्ने जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो।

१५ दिनसम्म सञ्चालन गरिने जागरण अभियानको १५ उद्देश्य रहेको र एकै दिन ३४ हजार ९ सय ८० बिरुवा रोपिने जानकारी पनि कांग्रेसले दिएको छ।

कांग्रेसले जनतालाई सरकारका असफलताका बारेमा जानकारी दिन र सामाजिक सम्वादमार्फत जनमत बुझ्न पनि जागरण अभियान सञ्चालन गरेको बताएको छ।  

यसैगरी जागरण अभियानमार्फत पार्टीमा नयाँ सदस्यता व्यापक वितरण गरी सदस्य संख्या बढाउने र आपत विपतका बेला पार्टीको स्वयंसेवक दल गठन गर्ने उद्देश्य पनि कांग्रेसले राखेको छ। साथै अभियानबाट सहिद परिवारको घरघरसम्म पार्टीलाई पुर्‍याएर उनीहरुको पीरमर्का सुन्ने र सुझाव लिने पनि कांग्रेसले जनाएको छ।

यसैगरी आज गरेको पत्रकार सम्मेलनमा कांग्रेसका नेताहरुले पार्टीको पहिलो चरणको जागरण अभियानका दौरान ३१ हजार ६ सय ४४ जनाले पार्टीको सदस्यता लिएको जानकारी दिए। उनीहरुले दोस्रो चरणमा अझै बढी व्यक्तिले कांग्रेसको सदस्यता लिने विश्वास व्यक्त गरे।

राष्ट्रिय जागरण अभियानको उद्देश्य :

१) राष्ट्रव्यापी रुपमा पार्टी पक्तिमा सांगठनिक गति, एकता, समन्वय र हार्दिकता अभिवृद्धि गर्दै पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउँदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्न ।

२) यस क्रममा नेपाली कांग्रेससँग एकीकरण भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका विभिन्न तहका साथीहरू एवं अन्य दलबाट प्रवेश गर्नु भएका साथीहरूसंग व्यावहारिक र भावनात्मक समन्वय अभिवद्धि गर्दै पार्टीलाई सबल बनाउदै अघि बढ्ने। कम्युनिष्ट सरकार बनेको दुई वर्ष समेत नपुग्दै नेपाली समाजमा जे जस्तो असन्तुष्टि, निराशा र वितृष्णाको संकेत देखिएको छ त्यसलाई गम्भीरतापूर्वक लिंँदै सामाजिक संवादको माध्यमबाट समस्त जनताको विचार भावना साक्षात्कार गर्न।

३) नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनीतिक उपलब्धी एवं समृद्धिको दिशामा गरिएका काम नागरिक पंक्तिमा व्यापक ढंगले सम्प्रेषण गर्न ।

४) वर्तमान सरकारका अनेक भ्रष्टाचार लगायत विसंगतिपूर्ण जनविरोधी क्रियाकलापबारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले प्रष्ट्याउन।

५) बाइड बडी लगायतका नेपाली समाजमा रहेका अनेक फरक मत, संविधान या राज्यप्रणाली बारेकै विमतिहरु समेतलाई राष्ट्रिय एकताको सूत्रमा गाँस्न आवश्यक छलफल र बहस विभिन्न स्तरमा अघि बढाउन ।

६) जनता, मतदाता र नेपाली कांग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यहरुबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताको हितमा पार्टीलाई थप समर्पित गराउन।

७)तराई-मधेश लगायत मुलुकको कतिपय भू-भागमा रहेका असन्तुष्टिहरुको समाधान सूत्र विगतमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो, भन्ने तथ्यलाई आम नागरिकबीचमा प्रस्ट्याउँदै लोकतान्त्रिक संविधानप्रतिको जनविश्वासलाई दिगो बनाउदै अघि बढ्ने ।

८) मुलुकको वर्तमान राजनीतिक, सामाजिक, प्रशासनिक एवं कूटनीतिक सम्बन्ध आदि बारे नेपाली बौद्धिक क्षेत्रसँग विशेष अन्तरक्रिया र सैद्धान्तिक सहकार्य अघि बढाउन ।

९) तीनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्बन्धमा निर्वाचनमा मतदातालाई दिलाएको विश्वास बमोजिम कार्य गर्न अपिल गर्दै आवश्यक दबाव बढाउन ।

१०) नेपाली समाजमा केही समययता भइरहेका “निर्मला पन्त” प्रकरण में महिला हिंसाका अनेक घटना र प्रवृत्तिका विरुद्ध जनचेतना अभिवृद्धि गरी महिला सम्मान र सुरक्षा अभिवृद्धि गर्न गराउन ।

११) नेपाली समाजमा कतिपय ठाउँमा रहेका बोक्सी प्रथादेखि छाउपडीसम्मका अनेकौं सामाजिक विसंगतिको अन्त्यका लागि सार्थक छलफल र पहदकदमी अघि बढाउन।

१२) भूकम्प, हावाहुरी, आगलागी, बाढी र अनेक विपदमा भएको धनजनको क्षतिमा प्रभावकारी उद्धार र पुनःस्थापना अभियानलाई सघाउन तथा यस्तो सम्भावित विपदमा सर्तकता साथ काम गर्ने “स्वयंसेवी समूह" निर्माणको छलफल प्रारम्भ गर्ने । 

१३) स्वदेशसँगै विदेशमा रहेका ५० लाखभन्दा बढी नेपालीसँग आफ्नो मातृभूमिमा लोकतन्त्रको रक्षा, संघीयताको स‌ंवर्द्धन र समृद्धिमा सहभागिताका लागि विशेष संवाद र जागरुकता अभिवृद्धि गर्न तथा तिनको मताधिकार प्रवन्ध गर्न सर्वोच्च अदालतले सरकारलाई गरेको आदेश कार्यान्वयनका लागि दबाब बढाउन तथा वैदेशिक रोजगारीका क्रममा पछिल्लो समय बढेका बेथितिहरु अन्त्यका लागि दबाब बढाउँदै र श्रमिक नेपाली युवाहरुको पीडामा मल्हम लगाउन।

१४) कम्युनिष्ट पार्टीको सरकार बनेयता प्रेस स्वतन्त्रता माथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठीत गर्ने अनेक प्रयत्न आदिका विरुद्ध नेपाली प्रेस जगतसंग सहकार्य गर्दै प्रमुख प्रतिपक्षी दलका नाताले प्रेस स्वतन्त्रताको रक्षाका लागि खबरदारी गर्न ।

१५) नेपाली कांग्रेसमा समाहित हुन चाहनेहरूलाई पार्टीमा स्वागत गर्दै नयाँ सदस्यताको व्यापक वितरण गर्दै पार्टीको विभिन्न तहका लागि आवश्यक प्रशिक्षणको पूर्वतयारी गर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell