PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

प्रमुख अतिथिका रुपमा निम्त्याइएका पर्यटनमन्त्री योगेश दबूको कार्यक्रममा भएनन् उपस्थित : कारण, छायाँदेवी कम्प्लेक्स उद्घाटनको विवाद



सहयोग रञ्जित

प्रमुख अतिथिका रुपमा निम्त्याइएका पर्यटनमन्त्री योगेश दबूको कार्यक्रममा भएनन् उपस्थित : कारण, छायाँदेवी कम्प्लेक्स उद्घाटनको विवाद

काठमाडौं: नेवार समुदायको साझा राष्ट्रिय संगठन 'नेवा: देय् दबू'को रजत जयन्तीका अवसरमा आज राजधानीको खुशीबुँमा विशेष कार्यक्रम आयोजना भयो। कार्यक्रमको मुख्य अतिथिका रुपमा निम्तो गरिएको थियो, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईलाई।

मन्त्री भट्टराई आउने कार्यक्रम तय भएदेखि नै नेवा: राजनीतिक अभियानलगायतका संघ संगठनहरुले विरोध गरे।

कारण बन्यो,  ठमेलको कमल पोखरीमाथि बनेको विवादस्पद छायाँदेवी कम्प्लेक्स।

गत वर्ष सो कम्प्लेक्सको उद्घाटनका लागि तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीलाई निमन्त्रणा गरिएको थियो। पोखरी मासिएको भन्दै विरोधमा रहेको नेवा: राजनीतिक अभियानले सोही दिन कम्प्लेक्स बाहिर विरोध प्रदर्शन गर्दै अधिकारीलाई नआउन सार्वजनिक रुपमा आग्रह गरेका थिए।

फलस्वरुप अधिकारी उद्घाटन कार्यक्रमा उपस्थित भएनन्। र, कम्प्लेक्सको उद्घाटन गर्न पुगे योगेश भट्टराई। त्यसपछि संस्थाले सांस्कृतिक अतिक्रमणमा योगेशले साथ दिएको भन्दै विरोध गर्दै आएको थियो।

हेलिकप्टर दूर्घटनामा अधिकारीको मृत्यु भएपछि उनै भट्टराई संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्‍त्री बने।

अभियानले बाहिर विरोध हुँदाहुँदै पछाडिको ढोकाबाट गएर योगेशले कम्प्लेक्स उद्घाटन गरेको आरोप लगाउँदैर गल्ती नसच्चाए सार्वजनिक बहिस्कार गर्ने चेतावनी दिँदै आएको थियो।

यसैबीच देय् दबूले रजत जयन्तीमा भट्टराईलाई नै प्रमुख अतिथि बनाएपछि नेवा: राजनीतिक अभियान लगायतका संघ संस्था दबूसँग क्रुद्ध बनेका थिए।

विरोधमा अभियानले दबूले बाँडेको निमन्त्रणा पत्र च्यात्दै भट्टराईलाई प्रमुख अतिथि बनाए कार्यक्रम स्थलमा कुनै प्रकारको घटना हुन सक्ने र त्यसको जिम्मेवारी देय् दबूकै हुने चेतावनी समेत दिएको थियो। बुधवार अभियानलगायतका संघसंस्थाले नेवा: देय् दबूका अध्यक्ष नरेश ताम्राकारलाई भेटेर भट्टराईलाई नबोलाउन ज्ञापनपत्र बुझाएको थियो। तर, दबूले भने कार्यक्रम सबै तय भइसकेको भन्दै धेरै ढिला भइसकेको बताएको थियो। 

त्यसपछि, मन्त्री भट्टराई कार्यक्रमस्थलमा आए कार्यक्रम बहिस्कार गर्नेदेखि लिएर मञ्चमै आएर मन्त्रीलाई कालो झण्डा देखाउनेसम्मको कार्यक्रम अभियानले घोषणा गरेको थियो। 

अन्तत: विरोध चर्किने देखिएपछि आजको रजत जन्मोत्सव कार्यक्रममा मन्त्री भट्टराई आएनन्। कार्य व्यस्तताको कारण भट्टराई उपस्थित हुन नसकेको भनिए पनि विरोधको कार्यक्रम उनी नआउनुको प्रमुख कारण यही रह्यो। 

नेवा देय् दबूका राष्ट्रिय अध्यक्ष नरेश ताम्राकारले पहिलपोस्टसँग भने, 'उहाँ आउने कुरा लगभग पक्का थियो। तर कार्य व्यस्तताका कारण उहाँले आउन नसक्ने जानकारी गराउनु भयो। विरोधको कार्यक्रमले पनि उहाँको उपस्थित हुन नसकेको हो।'

मन्त्री भट्टराईले कार्यक्रम सफल होस्, म आएर कुनै विवाद नहोस् भन्दै रजत जन्मोत्सवको शुभकामना दिएको ताम्राकारले बताए। 

भट्टराई नआउने भएता पनि दबूको कार्यक्रमस्थलमा अभियानका अभियन्ताहरु प्लेकार्ड लिएर विरोध गर्न पुगेका थिए। केही समय नाराबाजी गरेरै उनीहरु फर्किएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell