PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

पार्टी समायोजन बाँकी नै रहेकोमा गच्छदारको चिन्ता, सहमति टुंग्याउन बुढानिलकण्ठमा आज बस्ने भनिएको बैठक स्थगित



नेत्र तामाङ

पार्टी समायोजन बाँकी नै रहेकोमा गच्छदारको चिन्ता, सहमति टुंग्याउन बुढानिलकण्ठमा आज बस्ने भनिएको बैठक स्थगित

काठमाडौं : बिहीवार नेपाली कांग्रेसले दोस्रो चरणको जागरण कार्यक्रम घोषणा गर्न पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्‍यो।
पत्रकार सम्मेलनमा पार्टीका उपसभापतिद्वय विमलेन्द्र निधि र विजय गच्छार, महामन्त्रीद्वय सशांक कोइराला र पूर्णबहादुर खड्का पार्टी प्रवक्ता विश्वप्रकाश शर्मासँगै उपस्थित थिए।

प्रवक्ता शर्माले जागरणको घोषणापत्र सार्वजनिक भएपछि फ्लोर ओपन भयो र पदाधिकारीले पत्रकारको प्रश्नको जवाफ दिन थाले। पत्रकारको सवालमा उपसभापति गच्छदार र महामन्त्री कोइराला निस्क्रिय थिए। जवाफ उपसभापति निधि र महामन्त्री खड्काले दिन थाले।

सबैभन्दा बढी त उपसभापति निधि सबैभन्दा सक्रिय देखिए जवाफ दिन। जागरणमा हिन्दु राष्ट्रबारे कांग्रेसको सन्देश के त? जवाफमा उपसभापति निधिले कांग्रेसले यो एजेन्डा नबोक्ने स्पष्ट पारे थिए। 

त्यसपछि बोले गच्छदार!

जागरणबारे आफ्नो खासै धारणा नराखेका गच्छदारले समायोजनको प्रश्न आएपछि भने आफ्नो धारणा राखे। उनले कांग्रेस लोकतान्त्रिक फोरमबीचको एकता प्रक्रियाबारे भने, 'कांग्रेस र लोकतान्त्रिक फोरमबीच एकता भएको छ। सहमतिअनुसार २०० महासमिति मान्यता दियो- लोकतान्त्रिक फोरमका नेताहरुलाई। पहिलो चरणको जागरणमा डेढ सय पर्यवेक्षक सहभागी भए। म कांग्रेसको उपसभापति पदमा मनोनयन भएँ। महासमितिले पनि यसलाई पारित गर्‍यो।'

संघीय निर्वाचनअघि कांग्रेसमा विलय भएको पार्टीको समायोजन बाँकी नै रहेको उनले बताए। 'समायोजन बाँकी नै छ। अहिले पनि प्रक्रियामै छ। पहिलो चरणको जागरणमा पनि सकिएन। दोस्रो चरणको जागरणको लागि लामो समय छलफल भयो। पार्टी एक भएर जागरणमा जाने दुइटै पार्टीको सहमति भएको छ। अब सहमतिअनुसार नै समायोजन अघि बढाउँदै छ।'

यसैगरी सहमतिअनुसार एकता हुनेमा आफू ढुक्क रहेको उपसभापति गच्छदारले विश्वास व्यक्त गरे।

उनले भने, 'सहमतिअनुसार एकता हुनेमा विश्वस्त छु। आजैबाट छलफल शुरु भएको छ। सभापति शेरबहादुर देउवाले छलफलका लागि बोलाउनु भएको छ। बुढानिलकण्ठमा। सहमतिअनुसार अविलम्ब टुंगिन्छ।'

सोही क्रममा महामन्त्री खड्काले पनि आजै बैठक बस्ने कार्यक्रम रहेको जानकारी दिएका थिए। यद्यपि देउवाको व्यस्तताका कारण आज बैठक बस्न सकेन।

'बैठक आजका लागि बोलाइएको थियो। तर सभापतिको व्यस्तताका कारण हुन सकेन,' उपसभापति गच्छदारका स्वकीय सचिव कन्हैया ठाकुरले पहिलोपोस्टसँग भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell