सन् २००८ तिर एउटा भनाइ विश्वभरि नै अत्यन्त चर्चित भएको थियो– ईश्वरले मात्र मलाई सत्ताबाट हटाउन सक्छ। र, यसो भन्ने व्यक्ति थिए– जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबे। उनले त्यसै वर्ष राष्ट्रपतिको चुनावअघि भनेका थिए– तपाईंले चुनाव हार्नु भयो भने राजनीति त्याग्नु सर्वोत्तम हुन्छ।
तर चुनावको पहिलो चरणमा नै विपक्षी उम्मेदवार मोर्गन चांगिराईसँग पराजित भएपछि भने मुगाबेले आफ्नो पहिलेको भनाइ सर्लक्क उल्टाउँदै ‘ईश्वरले मात्र मलाई सत्ताबाट हटाउन सक्छ’ भनेका थिए। यसले सत्ताप्रति उनको मोह दर्शाउँछ, जसका लागि उनले विपक्षी दलका समर्थकमाथि सांघातिक आक्रमण गर्न पनि बाँकी राखेनन्।
३७ वर्षसम्म जिम्बावेमा शासन गरेका तिनै रोबर्ट मुगाबेको निधन भएको छ। उनी ९५ वर्षका थिए।निकै बिरामी उनी गत अप्रिलदेखि नै सिंगापुरको अस्पतालमा उपचाररत थिए। निकै लामो बिमारीपछि मुगाबेको निधन भएको उनको परिवारले बताएको बिबिसीले उल्लेख गरेको छ।
बेलायतको उपनिवेश रहेको जिम्बावेलाई मुक्त बनाउने स्वतन्त्रता संग्रामको नेतृत्व गरेका मुगाबेलाई सन् २०१७ को नोभेम्बरमा भएको सैन्य कू ले राष्ट्रपतिबाट अपदस्थ गरेको थियो।
जिम्बावे स्वतन्त्र भएपछिको पहिलो आम निर्वाचनबाट मुगाबे सन् १९८० मा त्यहाँको प्रधानमन्त्री भए। तर उनले सन् १९८७ मा प्रधानमन्त्रीको पद त्यागे र राष्ट्रपति भए।
आफ्नो शासनकालका शुरुवाती वर्षहरुमा मुगाबेले काला जातिको स्वास्थ्य र शैक्षिक क्षेत्रमा गरेको उल्लेखनीय सुधारहरुका लागि उनको निकै प्रशंशा गरिन्छ। तर काला जाति र अल्पसंख्यक गोरा जातिका मानिसहरुको बसोबास भएको जिम्बावेमा मुगाबेले गरेको भूमि सुधार कार्यक्रम भने औधी विवादास्पद भयो।
भूमि सुधार कार्यक्रम लागू भएपछि जिम्बावेको अर्थतन्त्र नै खस्कियो। उनको शासनकालका पछिल्ला वर्षहरु भने पद तथा अधिकारको दुरुपयोग र अनियन्त्रित भ्रष्टाचारले उनले पहिले गरेका सबै राम्रा कामहरुलाई छायामा पारिदियो। मुगाबेले ग्रेस मारुफूसँग दोस्रो बिहे गरेपछि उनको राजनीतिक पतनको गति तीव्र भयो। ग्रेसलाई आफ्नो उत्तराधिकारी बनाउनका लागि मुगाबेले आफ्ना लामो समयका राजनीतिक सहकर्मी उपराष्ट्रपति इमर्सन मनंगावालाई नै पदच्युत गरेका थिए।
सन् २०१७ को अन्त्यतिर कू गरी उनलाई अपदस्थ गरेपछि राष्ट्रपति भएका इमर्सन मनंगावाले मुगाबेको निधनबाट आफू ‘अत्यन्त दुःखित’ भएको भन्दै उनलाई ‘जिम्बावेको राष्ट्रपिता’ र ‘स्वतन्त्रताको प्रतीक’ भएको बताएका छन्।
मुगाबेलाई अपदस्थ गरी राष्ट्रपति बन्नुअघि मनंगावा उपराष्ट्रपति थिए।
स्वतन्त्रताका प्रतीक मुगाबे
मुगाबेको जन्म तत्कालीन रोडेसिया (पछि नाम परिवर्तन गरेर जिम्बावे) मा सन् १९२४ को फेब्रअरी २१ मा जन्मिएका थिए।
बेलायतको उपनिवेश रहेको तत्कालीन रोडेसियाको गोरा सरकारका पालामा मुगाबेलाई सन् १९६४ मा १० वर्षभन्दा बढी जेलमा बन्दी बनाइएको थियो। सरकारको आलोचना गरेको भन्दै स्वतन्त्रताका पक्षधर मुगाबेलाई अदालतमा मुद्दासमेत नचलाई गैरकानुनी तवरबाट थुनिएको थियो।
जेलमा थुनिएकै बेला सन् १९७३ मा मुगाबेलाई त्यहाँको राजनीतिक दल जानु (जिम्बावे अफ्रिकन नेसनल युनियन) को अध्यक्ष चुनिएको थियो। उनी जानुको संस्थापकमध्येका एक थिए।
जेलबाट छुटेपछि स्वतन्त्रताका लागि युद्ध नै गर्नुपर्ने भन्दै मुगाबे मोजाम्बिक गए। उनले त्यहींबाट रोडेसियामा छापामार युद्ध थाले। तर आवश्यकता पर्दा उनी कुशल लडाकु मात्र नभएर कुशल मध्यस्थकर्ता समेत साबित भए।
त्यसपछि रोडेसिया सरकारसँग वार्ता भयो, जसको परिणामस्वरुप रोडेसिया बेलायती उपनिवेशबाट मुक्त भयो। रोडेसिया स्वतन्त्र भएपछि ‘रिपब्लिक अफ जिम्बावे’ गठन भयो। त्यसपछि सन् १९८० मा जिम्बावेमा पहिलोपल्ट आम निर्वाचन भयो र मुगाबे जिम्बावेका प्रधानमन्त्री भए। स्वतन्त्रता संग्राममा उनको प्रेरणादायी नेतृत्वका कारण चुनावमा उनको दलले अत्यधिक बहुमत पाएको थियो।
मुगाबेको जीवनका महत्वपूर्ण तिथिमिति
सन् १९२४ : जन्म, शिक्षकका रुपमा काम गरे
सन् १९६४ : रोडेसिया सरकारद्वारा बन्दी बनाइए
सन् १९८० : स्वतन्त्रतापछिको आम निर्वाचनमा विजय
सन् १९९६ : आफूभन्दा ४१ वर्ष कान्छी ग्रेस मारुफूसँग विवाह
सन् २००० : जनमत संग्रहमा पराजित, पराजित भएपछि आफ्ना कट्टर समर्थक लडाकुबाट गोराको स्वामित्वमा रहेका कृषि फार्महरुमाथि हमला, साथै आफ्नो विरोधी पार्टीका समर्थकमाथि समेत आक्रमण
सन् २००८ : राष्ट्रपतिका लागि भएको चुनावको पहिलो चरणमा विपक्षी उम्मेदवार चांगिराईभन्दा पछाडि परे। त्यसपछि चांगिराईका समर्थकमाथि देशभरि नै आक्रमण भयो र चांगिराईले आफ्नो उम्मेदवारी फिर्ता लिए। अर्का विपक्षी नेता जाेसुआ एन्कोमोको क्षेत्रमा समेत उनका समर्थकमाथि आक्रमण
सन् २००९ : अर्थतन्त्र खस्किएर राष्ट्र नै असफल हुने स्थिति आएपति विपक्षी नेता चांगिराईलाई प्रधानमन्त्रीमा नियुक्ती। चांगिराई अत्यन्त असहज परिस्थितिमा राष्ट्रिय एकताको सरकारमा चार वर्ष बसे।
सन् २०१७ : लामो समयका राजनीतिक सहकर्मी इमर्सन मनंगावालाई उपराष्ट्रपति पदबाट बर्खास्त गर्नु र पत्नी ग्रेसलाई उपराष्ट्रपति नियुक्त गर्नु।
सन् २०१७ नोभेम्बर : सेनाले हस्तक्षेप गरी मुगाबेलाई सत्ता त्याग्न बाध्य पार्नु।