PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रम ओलीको अवस्था कस्तो? अब काम गर्न सक्ने निजी चिकित्सकको दावी



कुञ्जरमणि भट्टराई

प्रम ओलीको अवस्था कस्तो? अब काम गर्न सक्ने निजी चिकित्सकको दावी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली दुई साता लामो सिंगापुर बसाइपछि शुक्रबार स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली फर्कने सुचना पाएपछि उनका शुभचिन्तक तथा सञ्चारकर्मीको बाक्लै उपस्थिति थियो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा।

शुक्रवार बिहान ११:४५ बजे प्रधानमन्त्री ओली आइपुग्ने भन्दै नेकपाको केन्द्रीय कार्यलयबाट समाचार संकलनको लागि खबर गरिएको थियो। प्रधानमन्त्री मध्यान्न आइपुग्ने सुचना पाएका संचारकर्मी बिहान ११ बज्नु अघिदेखि नै विमानस्थल पुगेका थिए।

थाइ एअरवेजको जहाजबाट मध्यान्न आइपुगेका प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरे।

पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित ओली रातो कार्पेटमा बाहिर निस्किए। शुभचिन्तक र सञ्चारकर्मी भएको ठाउँमा आइपुगेपछि ओलीले न त आफ्नो स्वास्थ्यबारे बोले न त समसामयिक राजनीतिबारे नै र कुनै प्रतिक्रिया दिए। केवल हात हल्लाउँदै अभिनन्द गर्दै निस्किए, उनी।

प्रधानमन्त्री हँसिला देखिन्थे। तर, उनको अनुहार केही फुलेको देखिन्थ्यो। झन्डै चार घण्टा लामो हवाइजहाको यात्राले त्यस्तो देखिएको हुनसक्छ।

सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई गत साउन २७ गते पनि उपचारपछि फर्किएका ओलीले सञ्चारकर्मीलाई प्रतिक्रया दिएनन् भलै उनी तगडा देखिएका थिए। ओलीले ट्वीट गर्दै आफू ठीक रहेको जानकारी दिएका थिए।

नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसिस प्रक्रियामार्फत उपचार गरिएको थियो। सातौं चरणको प्लाज्मा फेरिसिस गत बुधवार सकिएको थियो।

दुई साताको बसाइका क्रमामा प्रधानमन्त्रीले सिंगापुरबाट दुई पटक भिडिओ कन्फरेन्सबाट मन्त्रीहरूसँग कुरा गरेका थिए।

पहिले मन्त्रिपरिषदको बैठक भनिएपनि विवादपछि त्यसलाई छलफल भनिएको थियो। त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री बिरामी भएकाले उनलाई आराम गर्न आग्रह गरेका थिए।

स्वास्थ्य अवस्था सामान्य : निजी चिकित्सक

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको अवस्था सामान्य रहेको जनाएकी छिन्। डा. शाहले विज्ञप्तिमा जनाएअनुसार शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’ लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रकृया एनयुएचमा पूरा भएको छ।

विज्ञप्तिमा भनिएको छ, 'अब उहाँले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell