
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनाधिकृत रुपमा जुवा तास खेलेको अभियोगमा पक्राउ परेका व्यक्तिलाई छुटाउन प्रहरीलाई घुस दिन खोज्ने गङ्गालाल श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सूर्यविनायक नगरपालिका–५ सल्लाघारीमा श्रेष्ठले घर भाडामा लिई जुवा तास खेलाएको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले छापा मारी जुवा खेल्ने र खेलाउने व्यक्तिलाई पक्राउ गरेको थियो।
प्रहरी कारवाहीपछि धरौटीमा रिहा भएका श्रेष्ठले जुवा खेलाउन सहज बनाइदिन भन्दै प्रहरीलाई ४० हजार रुपैयाँ घुस दिन खोजेका थिए। सोही क्रममा आयोगको टोलीले श्रेष्ठलाई केही दिन पहिले महानगरीय प्रहरी परिसर भक्तपुरको कार्यालय परिसरबाटै पक्राउ गरेको थियो।
आयोगले बिगोसहित कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
यस्तै आयोगले सुलक्षण माध्यमिक विद्यालय विदुर नगरपालिका–९ नुवाकोटका प्रधानाध्यापक हरिराम भण्डारीले स्थायी रुपमा अध्यापन गर्दाको समयमा तीनवर्षे बेतलबी बिदा लिई वैदेशिक रोजगारीमा गए पनि सेवा अवधि गणना गरी सरकारी स्रोतबाट तलब भत्ता लिएको अभियोगमा आयोगले मुद्दा दायर गरेको छ।
सेवा निवृत्त हुने समयमा वैदेशिक रोजगारीमा गएको समयको अवधिसमेत गणना गरेको र विद्यालयको प्रधानाध्यापक हुँदा सबै कागजात नष्ट गरेको पाइएको छ।
आयोगले सोही विद्यालयका निमित्त प्रधानाध्यापक केशव बहादुर बस्नेत, विद्यालय निरीक्षक कुमार प्रसाद तिमिल्सिना समेतले उक्त कार्यलाई प्रोत्साहित गरेको पाइएको जनाएको छ।
आयोगले शिक्षक भण्डारी, मतियारको भूमिका खेलेको अभियोग लागेका बस्नेत र विद्यालय निरीक्षक तिमिल्सिनाविरुद्ध समान २३ हजार ९९९ रुपैयाँ बराबरको बिगो कायम भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
यस्तै महोत्तरी भङ्गाहा नगरपालिका–८ का वडाध्यक्ष मोहम्मद रफिक आलमले योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज बनाइदिने भन्दै एक लाख ६० हजार रुपैयाँ घुस मागेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
घुस रकम दिलाउन जमानी बस्ने सोही वडाका सदस्य कारी तेली र विचौलियाका रुपमा रहेका मुकेश साहविरुद्ध समान एक लाख ६० हजार रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ।