
काठमाडौं : एटिएम नै ह्याक गरेर करोडौं नेपाली रुपैयाँ उडाउने चिनियाँको फरार हुने तयारी सुन्दा तपाइँलाई अनौठो लाग्न सक्छ। एटिएम ह्याकरहरुले आफू बच्नका लागि हेलिकप्टरको समेत प्रयोग गरेको देखिएको छ। चोरीका लागि हेलिकप्टरसम्मकै प्रयोग गर्नसक्ने भनेपछि अन्दाज गर्नुस् यिनीहरु कति तयारीका साथ भित्रिएका थिए नेपाल।
गत शनिवार साँझ पौन ६ बजेतिर ठमेलमा रहेको डेस्को र नेपालयन मनी चेन्जरबाट चिनियाँ नागरिकहरु निस्किए। त्यहाँ साटिएको झन्डै २६ हजार डलर उनीहरुको साथमा नै थियो। शनिवार निस्किएका तीन मध्ये एक जना आइतवार राति विमानस्थलबाट पक्राउ परे। पक्राउ परेका सु लुसिङ हुन् जसले प्रहरीबाट बच्नका लागि कुनै कसर छाडेनन् तर पनि असफल रहे।
शनिवार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दरबारमार्गमा रहेको नबिल बैंक परिसरमा झु लियानग्याङलाई नियन्त्रणमा लियो। ४५ हजार रुपैयाँ र २० वटा एटिएम कार्डसहित उनी नियन्त्रणमा परेका थिए। उनको गोजीमा भेटिएको 'माया मनोर बुटिक होटेल'को रुमको चाबी पछ्याउँदै प्रहरी त्यही पुग्यो।
प्रहरीको टोलीले थप चार जना चिनियाँलाई त्यही दपेच्यो। उनीहरुसँगबाट १ करोड ३६ लाख रुपैयाँ पनि बरामद भयो। यति हुँदाहुँदै पनि अरु तीन जना भने भागिसकेका थिए।
भाग्ने तीन मध्येका एक हुन् सु लुसिङ। फ्रान्सको पासपोर्ट भएका सु नेपालबाट मलेसिया उड्ने तयारीमा रहँदा प्रहरीको नियन्त्रणमा परेका थिए।
बच्नका लागि हेलिकप्टर चार्टर
एयरपोर्टमा समातिनुपूर्व मनी चेन्जरमा साटिएको २६ हजार डलरसहित फरार रहे सु लुसिङ। शनिवार उनको टोलीका साथीहरु समातिएका थिए। त्यसको सूचना पाएलगत्तै उनी केरुङ नाकाबाट चीनतिर छिर्ने तयारीसाथ लागे रसुवातिर। प्रहरीको अनुसन्धानमा आइतवार बिहान उनी ११ बजेतिर रसुवा पुगेको देखिन्छ।
‘उनी केरुङ नाकासम्मै पुगेको देखियो। सुरक्षा कडा देखेपछि उनी फर्किए,’ महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले भने।
साथीहरु पक्राउ परेपछि प्रहरीको फन्दामा पर्ने डरले सु भागेर केरुङ पुगेकोका थिए। तर, त्यहाँबाट पनि उम्किन मुस्किल देखिएपछि उनले हेलिकप्टर चार्टर गरे अनि फर्किए काठमाडौं।
शनिवार साढे ४ बजे दरवारमार्गमा उनका साथीहरु पक्राउ परेका थिए। त्यसको ३० मिनेटको अन्तरालमा उनी फरार हुन भ्याइसकेका थिए। होटेल पुगेर पैसा झिकेर निस्किन भ्याइसकेका उनलाई रसुवाको रुट भने सहज बनेन। रसुवाबाट चीनतिर छिरेर सुरक्षित हुने उनको योजना असफल हुँदै थियो भने आइतबार राति ९ बजे मलेसियाको विमान पनि छुट्दै थियो।
कुनै विकल्प बाँकी नभएपछि उनी रसुवाबाट काठमाडौं फर्किने र मलेसियाको फ्लाइट समात्ने तयारीमा थिए। आइतबार ११ बजे रसुवा पुगेका उनी दिउँसो त्यतै अल्झिए। सडकमार्गबाट फर्किँदा फ्लाइट भ्याउने सम्भावना कम देखेपछि उनले निर्क्यौल गरे – हेलिकप्टर नै चार्टर्ड गर्ने।
‘उनी हतारमा थिए। गोजीमा डलर थियो। त्यसैले हेलिकप्टर नै लिएर फर्किएको देखियो,’ परिसरका डिएसपी वोगटीले भने। उनी चढेको हेलिकप्टरमा अरु मानिसहरु पनि रहेको प्रहरीको अनुसन्धानमा देखिएको छ। ती को थिए, प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको छ।
प्रहरीका अनुसार सु चढेको हेलिकप्टर ५ बजे काठमाडौंमा ल्यान्ड भएको देखिन्छ।
त्यसो त साथीहरु समातिएपछि उनले ट्याक्सी भाडामा लिएर रसुवा पुगेको खुलेको छ। ट्याक्सीलाई उनले २ सय ५० डलर तिरेका थिए।
‘हामीले ट्याक्सीको सबै पहिचान गरेर अनुसन्धान गरिरहेका छौं,’ डिएसपी बोगटीले भने।
प्रहरीले अहिले पक्राउ परेका चिनियाँ नागरिक सहित अन्यको बयान लिइरहेको छ। त्यस्तै उनीहरुको साथबाट प्राप्त मोबाइल फरेन्सिक चेकका लागि पठाइएको छ।
मलेसिया जाने तयारी जेलको बाटो बन्यो सु लुसिङका लागि। उनीसँगै फरार रहेका अन्य दुई प्रहरीबाट टाढा नै छन् अझै। फरार दुई चाहिँ कसरी प्रहरीलाई झुक्याउन सफल भए त? प्रश्न अनुत्तरित नै छ।