PahiloPost

Jun 15, 2025 | १ असार २०८२

चितुवाले लियो बालकको ज्यान



रासस

चितुवाले लियो बालकको ज्यान
गुगल इमेज

बैतडी : चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्यान गएको छ। शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो।

शुक्रबार बेलुका ७ :३० बजेतिर घरको आँगनमा खेलिरहेका बेला एक्कासि चितुवाले बालकलाई आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। चितुवाले आक्रमण गरी बेपत्ता बनाइएका बालकको शव राति १० बजे घरभन्दा ५०० मिटर टाढा दक्षिणतिरको जङ्गलमा फेला परेको उनले बताए। बालकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिने प्रहरीले जनाएको छ।

यसैबीच चितुवाको आक्रमणबाट बालकको ज्यान गएपछि त्यस क्षेत्रका वासिन्दा त्रसित बनेका स्थानीय वीरेन्द्र महताले जानकारी दिए। स्थानीयवासी त्रसित बनेपछि थप सुरक्षा परिचालन गर्ने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट विसं २०६८ यता २४ जनाको ज्यान गइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell