
सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने योजना अघि बढाएको छ।
तत्कालीन मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कर्णाली प्रदेश सरकारले आफू मातहत ल्याएसँगै प्रादेशिक शिक्षण अस्पतालका रुपमा विकास गर्ने योजना अघि सारेको हो। त्यसका लागि गत आर्थिक वर्षमा नै बजेट विनियोजन गरिएको भए पनि अहिलेसम्म पूर्वाधार निर्माण हुन सकेको छैन। अस्पतालको आवश्यक भौतिक संरचना र मेडिकल इक्विपमेन्टको सुविधा विस्तार गर्न झण्डै २० करोड रुपैयाँ विनियोजन गरेको छ। तर, अहिलेसम्म शिक्षण अस्पतालका लागि चाहिने न्युनतम पूर्वाधार पनि तयार नभएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काको भनाई छ।
‘पहिले सानो कुरा पूरा गरेर मात्रै ठूलो कुराको सपना देख्दा राम्रो हुन्छ। अहिले जेनतेन तीन सय शैयाको भवन बनेको छ। यसैले पनि नपुग्ला,’ उनले भने, ‘पहिले अस्पताललाई चाहिने न्युनतम पूर्वाधार तयार गर्नुपर्यो। स्वास्थ्यकर्मी छैनन्। कर्मचारी छैनन्। अस्पतालमा डाक्टर छैनन्। मेडिकलका सामग्री छैनन्। उपकरण छैनन्। यस्ता आधारभूत नभइ नहुने कुरा पूरा गरेर मात्रै शिक्षण अस्पताल बनाउन सकिन्थ्यो।’
उनले शिक्षण अस्पताल बनाउन सकिने तर्क गर्दै त्यसका लागि सबैभन्दा पहिले न्युनतम पूर्वाधार तयार गर्न प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए।
अस्पतालमा ३० जना दरबन्दी भएको भए पनि अहिले आठ जना डाक्टर कार्यरत छन्। अहिले अस्पताले विभिन्न माध्यमबाट काम चलाइरहेको उनले बताए।
‘जनताको साधारण कुरामा ध्यान दिनुपर्छ। अस्पतालमा डाक्टरको दरबन्दी अपुग छ। बेसिक कुरामा ध्यान दिन सवैले जरुरी छ,’ डाक्टर खड्काले भने, ‘मेडिकल कलेज खोले पनि विश्वविद्यालय खोले पनि हुन्छ। गरेपछि नहुने केही छैन। शिक्षण अस्पताल खोल्ने बित्तिकै एमविविएस खोल्नुपर्छ भन्ने छैन। मास्टर डिग्रीका खोल्यो भने जनताको सेवा दिन सजिलो हुन्छ। हामीलाई पनि त्यो प्रोग्राम चलाउन सजिलो हुन्छ। औषधी गर्न पनि सजिलो हुन्छ। यहाँ स्वास्थ्यकर्मी घट्दै गएको र विरामी बढ्दै गएको अवस्था छ।’
विशेषज्ञ डाक्टरको अभाव झेल्दै आएको कर्णालीमा शिक्षण अस्पताल सञ्चालन भए दक्ष चिकित्सक उत्पादन हुने अपेक्षा गरिएको छ। प्रदेश सरकारले यसअघि नै अस्पतालका लागि चाहिने अति आवश्यक पूर्वाधारका लागि बजेट विनियोजन गरे पनि अहिलेसम्म कुनै काम अघि बढाएको छैन। अस्पतालका लागि आवश्यक जनशक्तिको ओएनएम भइसकेको र भौतिक संरचना लगाएत मेडिकल इक्विपमेन्ट खरीद प्रक्रिया अघि बढाएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर मानबहादुर विकेले जानकारी दिए।
‘प्रदेश सरकारले तीन सय शैयाको अस्पताल बनाउने भनेर निर्णय गरिसकेको छ। त्यही अनुसार भौतिक संरचनाको काम, हस्पिटल फर्निचर, मेडिकल इक्विपमेन्टको व्यवस्था हुँदैछ। केही उपकरणहरुको खरीद प्रक्रिया गत वर्ष नै सुरु भएको थियो भने, यस वर्ष पनि हामीले केही प्रक्रिया अगाडि बढाइसकेका छौं,’ उनले भने, ‘तीन सय शैयाका लागि आवश्यक जनशक्ति र औजारको व्यवस्थापन हुँदै छ। सेवा पनि सोही अनुसार स्तरोन्नती भएर लैजाने योजनामा प्रदेश सरकार छ।’
शिक्षण अस्पताल सञ्चालनमा ल्याउन सके कर्णालीमै दक्ष स्वास्थ्यकर्मी उत्पादन हुनेछन्। जसले गर्दा उपचार अभावमा कर्णालीका नागरिकले अकालमै ज्यान गुमाउनबाट जोगिने थिए।