
आइसिसीले टी २० को नयाँ वरीयता सार्वजनिक गरेको छ। नयाँ बरियतामा नेपाली क्रिकेट टिमका ३ खेलाडीले स्थान बनाएका छन्। नेपालका पारस खड्का, साेमपाल कामी र बसन्त रेग्मीले नयाँ बरियतामा स्थान बनाएका हुन्।
नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का टी २० अलराउण्डर तर्फ २७ औं स्थानमा रहेका छन्। उनले राशिद खान,दक्षिण अफ्रिकाका क्रिस मोरिस, भारतका रोहित शर्मा, वेस्ट इण्डिजका क्रिस गेललगायतलाई पछि पारेका छन्। अलराउण्डरको शीर्ष स्थानमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल रहेका छन्। त्यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमश बंगलादेशका सकिब अल हसन र अफगानिस्तानका मोहम्बद नाभि रहेका छन्। यता नेपालकै अर्का खेलाडी सोमपाल कामी ४९ रेटिङ सहित ६७ औं स्थानमा रहेका छन्।
यता ब्याटिङतर्फ पारस खडका ६८ औं स्थानमा रहेका छन् । उनी पछाडि ६९ औ स्थानमा भारतका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनी रहेका छन्। त्यस्तै भारतीय खेलाडीहरु शुरेस रैना, रिसब पन्त, पाकिस्तानका अहमेद सेहजाद लगायतका खेलाडीहरु उनी पछि रहेका छन्। ब्याटिङ्को शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम रहेका छन्। त्यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमश अस्ट्रेलियाका ग्लेन म्याक्सवेल र न्युजिल्यान्डका कोलिन मुन्रो रहेका छन्।
त्यस्तै बलिङमा सोमपाल कामी र बसन्त रेग्मीले स्थान बनाएका छन्। बरियतामा बसन्त रेग्मी ७२ औं स्थानमा छन् भने सोमपाल कामी ७८ औं स्थानमा रहेका छन्। बसन्त र सोमपालले इङल्याण्डका मोइन अली, बंगलादेशका नज्मुल इस्लाम लगायतका खेलाडीलाई पछि पारेका छन् । बलिङको नयाँ बरियतामा अफगानिस्तानमा राशिद खान शीर्ष स्थानमा छन् । त्यस्तै पाकिस्तानमा खेलाडीद्वय इमाद वसिम र सहाब खान क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन्।