PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

जनवादी गीत गाउँदै सानुको संसदसम्मको यात्रा



कुञ्जरमणि भट्टराई

जनवादी गीत गाउँदै सानुको संसदसम्मको यात्रा

यिनी जनवादी गायिका। गीतमार्फत् समाज र राष्ट्र परिवर्तन गर्नुपर्छ भन्ने ध्येय। त्यस्तै सन्देश बोकेका गीतहरु गाउँदै हिँड्ने बानी। रगत तताउने खालका गीतहरु। माया प्रितीका गीत त गीत नै नलाग्ने उनलाई।

सन्दर्भ २०२८ सालतिरको। उमेर १० मात्रै। ताप्लेजुङको मोती माविमा सांस्कृतिक कार्यक्रमको चल्दै थियो। त्यहाँ प्रस्तुत गरिएको एउटा गीतले उनको मनमा गजबले डेरा जमायो। गीत थियो -'क्रान्तिकारी एक जुट हौं नेपाली, अघि बढौं लाल झण्डा उचाली।'

उनले त्यो गीत कण्ठ पारिन्। त्यही गीत गुन्गुनाउँदै नाँच्दै हिँड्न पनि थालिन्। सानोमा रेडियो नेपालबाट बजेका गीत सँगसँगै गाउँथिन्। उनको स्वरमा मीठास उत्तिकै। अनि सुरु भयो रालफाली ग्रुपसँग गायन यात्रा। उनी अर्थात् सानु सिवा।

'त्यतिखेर राल्फाली ग्रुप आएको थियो। मैले सो ग्रुपसँग पनि संकल्प एल्बमका गीत गाएँ। सेलो पनि गाएँ,' उनी सम्झिन्छिन्।

उनी अरुणा लामाका गीत पनि गाउँथिन्। सानै उमेर, मीठो स्वर। उनलाई पूर्वको तारादेवी नै भन्थे।

रोपाइँ जात्रामा पनि माया प्रितिका गीत हैन आफ्नै खालका गीत गाउनुपर्छ भन्ने चेत आइसकेको थियो उनमा। कक्षा सातमा पढ्दा उनले आफ्नै गीत गाउने आँट गरिन्।

'हामीले पहिला सरहरुले नै बनाउनुभएको गीत गाउँदै रोपाई गर्थ्यौं। सात कक्षामा पढ्दै गर्दा अब हामी आफ्नै गीत गाऔं भनेँ,' उनले सुनाइन्।

उनको कुरो हेडसरलाई मन परेन। भाटै हाने। चुनौति पनि दिए - 'रातभरीमा गीत बनाइनस् भने स्कुलबाट निकाल्छु।'

चुनौती पूरा गर्न भए पनि उनले गीत लेख्नैपर्ने भयो। गीत लेखिन्, दाजुले साथ दिए।

गीत बन्यो यस्तो :

वर्षा र मास हिलो र झरी किसानको थाप्लोमा।

दश नँग्रा खियाँई गर्दछन् कमाइ डाँडा र पाखैमा

काम गर्ने हामी भोकै र नाङ्गै खाने चाहिँ अरु छन्।

दु:ख र कष्ट हराउँछ भने थपिन्छ बरु झन्।

जनवादी गीत सुन्न र गाउन थालेपछिमात्र उनले चाल पाइन् सामाजिक विभेद। जातीय विभेद पनि गीतैबाट जानिन्।

त्यसपछि श्रम गर्नेहरुलाई तल्लो जात बनाइएको रहेछ भन्ने लाग्न थाल्यो उनलाई।

'जनवादी गीत सुनेपछि मलाई प्रेम गीतहरु गाउन लाज लाग्न थाल्यो। समाजमा यस्ता घटना भइरहेका छन्। पृथ्वीमा जन्मिसकेपछि राम्रै गर्नुपर्छ भन्ने लाग्यो,' उनले सुनाइन्।

उनले जनवादी गीत गाउन थालिसकेकी थिइन्। एक त महिला घरबाट बाहिर निस्कनै मुस्किल। छोरी मान्छेहरुलाई पढाउनु हुँदैन भन्ने।

'छोरी पढाए भने त बोक्सी हुन्छन्, पोइल जान्छन् भन्ने थियो,' उनले भनिन्, 'गीत गाउने भनेपछि त हेर्ने नजर नै फरक।'

उनी कम्युनिष्ट पार्टीमा आवद्ध भइसकेकी थिइन्। गीतमार्फत् चेतना अभिवृद्धिका लागि पार्टीले उनलाई जिम्मा दिएको थियो।

'म गीत गाउँदै चेतना फैलाउँदै हिँड्थेँ। किसानहरु धान रोप्ने, कोदो रोप्‍ने ठाउँमा जान्थेँ। उहाँहरुले काम गरेको ठाउँमा गएर सघाउँदै गीत गाउँथेँ,' उनले भनिन्।

२०३६ सालमा भानुजङ माध्यामिक विद्यालयबाट एसएलसी दिइन् सानुले।

एसएलसी परीक्षाको अघिल्लो दिनसम्म पार्टीकै काममा हिँडेकी थिइन्। एसएलसी सकिए सँगै पढाइ पनि।

'त्यसपछिको अवस्थामा जनवादी गीत गाउँदै हिँड्ने। बुर्जुवा शिक्षा लिनुहुँदैन भनेर किताब पनि जलाइयो। किताबी कीरो बन्नुहुँदैन भन्ने मान्यताका साथ अघि बढियो,' उनले सुनाइन्।

२०४० सालदेखि महिला विकासका लागि काम गर्न थालिन्। महिलाका हक अधिकारका विषयमा सानैदेखि आवाज उठाउँदै आएकी सिवालाई यस्तो काम गर्न कठिन हुने कुरै थिएन।

तर, तत्कालीन समाजमा त्यहाँ उनीमाथि नै प्रश्न गर्न थाल्यो। समाज विगार्ने भन्ने आरोप लाग्यो। काम गर्ने ठाउँमै नजरबन्दमा परिन्।

जनवादी बिहे गरिन् उनले डम्बर पहाडीसँग। 'न भेटघाट, न चिनजान। जम्मा एकपटक देखादेख भएको थियो। एउटै राजनीतिक विचार,' लगनगाँठो जोडिने आधार सुनाइन। बिहे पनि गजब भयो। बेहुलाले भाषण गरे, बेहुलीले गीत गाइन्। हेर्ने मानिस दंग। 'त्यस्तो पो म्यारिज त। कम्युनिष्ट भनेको यस्तो हुनुपर्छ,' उनले भनिन्।

'पार्टीबाट विवाहको जानकारी दिइएको थियो। उहाँ गायिका हो भन्ने सुनेको थिएँ। चिनजान थिएन,' डम्बरले सुनाए, 'चिठ्ठी लेखालेख भएको पनि होइन। पार्टीले कुरा ल्याएको थियो।'

बिहे कसरी गर्ने भन्ने प्रश्न थियो। समाजमा नयाँपन दिनुपर्छ भन्ने सोच बन्यो। 'हामी कम्युनिस्ट पार्टीको स्कूलबाट आएको। तामझाम पनि नगर्ने भन्ने थियो। आर्थिक स्थिति र उदाहरणीय बन्ने क्रममा स्टेज म्यारिज गरियो,' डम्बरले सुनाए।'

यो जोडीको जीवन राम्रै चलेको थियो।

तर, २०५८ सालतिर उनको मृगौला फेल भयो। उपचारका लागि इलामबाट काठमाडौं आउनुपर्ने। 'माओवादी जनयुद्धले आवातजावतमा समस्या। महिनामा नै दुई तीन पटक धाइरहनुपर्ने। गाह्रो अवस्था भएपछि छोरछोरीसहित काठमाडौं बस्न थाले उनीहरु।

२०६३ सालमा भारतको तामिलनाडुमा मृगौला प्रत्यारोपण भयो।

'त्यतिबेला नेपालमा मृगौला प्रत्यारोपण हुने अवस्था पनि थिएन। ट्रान्सप्लान्ट गर्दा २५ लाख खर्च भयो,' सानुले सुनाइन्, 'महिनाको ८०/९० हजारको औषाधि ८/९ महिना प्रयोग गरियो। त्यसपछि बिस्तार घटाउँदै। अहिले पनि खर्च कम हुँदैन। नियमित चेक गरिरहनुपर्छ।'

मृगौला प्रत्यारोपण गरिएको तीन महिनामात्र आराम गरिन् उनले।

स्वास्थ्य समस्याले पिरोल्दा पनि उनलाई गीत गाउने रहरले छेकेन। मृगौला प्रत्यारोपण गरेको दुई महिनापछि उनले 'बाँचेछु भने...' एल्बम निकालिन्। उनका नरोए आमा..., बाँचेछु भने... दुईवटा एल्बम छन्। गीतमा उनका श्रीमानकै शब्द र संगीत छ।

मृगौला प्रत्यारोपणको दुई वर्षपछि उनको पाठेघरमा क्यान्सर देखियो। रोगमाथि रोग थपियो। त्यससँग पनि जुधिन्। २०७१ सालमा त्यसमा फेरि हृदयघात। त्यसपछि दुवै आँखामा मोतीयाबिन्दु।

'मृगौलाको ‌औषधीको साइड इफेक्टले गर्दा रोगमाथि रोग थपियो। तर आत्मविश्वासका कारण, उनी रोकिइनन्। 'अहिले महिनामा २२ हजारको औषधी प्रयोग गरिरहेको छु,' उनले सुनाइन्।

उनको मृगौला प्रत्यारोपण भएको १३ वर्ष भइसकेको छ। नियमित चेकअप गराइरहेकी छिन्। 'आर्थिक अभावको त के कुरा गर्नु। जग्गाजमिन बेचेर रोडमै आइसकेका हौँ। बल्ल केही सुधार भएको छ,' उनले भनिन्, 'आत्मबल हो सबैभन्दा ठूलो, यसपछि सब थोक सहज हुन्छ।'

उनको राजनीतिक योगदानको कदर गर्दै यस्तो अवस्थामा पुग्दा पार्टीले गजबले सम्झियो। उनलाई २०७४ को निर्वाचनमा तत्कालीन नेकपा एमालेले इलामबाट समानुपातिक सांसदमा चयन गर्‍यो। 'समानुपातिक सांसद बन्न पाउँदा पार्टीले न्याय गरेको' लाग्छ उनलाई। जिन्दगी सबै पार्टीकै लागि सुम्पिएको कदर भएजस्तै।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell