PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पाकिस्तानबाट नेपाल भित्रिँदै चिनियाँ विदेशमन्त्री वाङ यी, राष्ट्रपति सी जिङपिङको भ्रमणको बाटो खुल्ला?



विधुर ढकाल

पाकिस्तानबाट नेपाल भित्रिँदै चिनियाँ विदेशमन्त्री वाङ यी, राष्ट्रपति सी जिङपिङको भ्रमणको बाटो खुल्ला?

सिचुवान : चिनियाँ स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यी आज पाकिस्तान हुँदै नेपाल जाँदैछन्। उच्चस्तरीय भ्रमणको लामो पर्खाइको घडीलाई अन्त्य गर्दै नेपालमा हुन लागेको चिनियाँ राजनीतिक नेतृत्वको भ्रमणले चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणको बाटोसमेत खोल्ने अपेक्षा गरिएको छ।

उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय भ्रमणको प्रतीक्षा पाँच वर्षदेखि हुँदै आएको छ। यसबीच नेपालले पटक-पटक चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणका लागि निम्ता दिइँदै आएको छ।

यो पाँच वर्षमा आधा दर्जन सरकार परिवर्तन भए तर राष्ट्रपति सीको भ्रमण हुन नसकिरहेको अवस्थामा चिनियाँ स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीको हुन लागेको नेपाल भ्रमणले उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय भ्रमण हुने अपेक्षालाई बल पुगेको छ।

तेस्रो चरणको चीन-पाकिस्तान-अफगानिस्तानबीचको त्रिपक्षीय विदेशमन्त्री स्तरीय वार्ताका लागि शनिवार पाकिस्तानको राजधानी इस्लामावाद उत्रिएका विदेशमन्त्री यीले यस क्षेत्रको शान्ति र स्थायित्वका लागि चासो व्यक्त गरेका थिए।

छलफलमा पाकिस्तानी विदेशमन्त्री शाह मोहमुद कुरेशी र अफगानस्तानका विदेशमन्त्री सलाहउद्दिन रब्बानी नेतृत्वको टोली सहभागी थियो। २०१७ मा पहिलो पटक बेइजिङमा भएको त्रिपक्षील छलफल दोस्रो पटक अफगानस्तानको काबुल र तेस्रो पटक पाकिस्तानको  इस्लामावादमा भएको हो।

विदेश मन्त्री यीले इस्लामावादमा रहँदा त्यहाँका विदेशमन्त्री कुरेशी नेतृत्वको टोलीसँग द्विपक्षीय भेटवार्ता पनि गरेका छन्। शनिवार भएको भेटवार्ताका क्रममा अगस्ट ५ मा भारतको संसदले कश्मिर मामिलामा लिएको कदमको विषयमा छलफल भएको थियो।

भेटवार्ताका क्रममा दुवै पक्ष कश्मिर मामिला यस क्षेत्रको शान्ति स्थायित्वको विषयमा समेत प्रभाव पार्ने भन्दै दुई देश कश्मिर मामिलामा समान धारणा बनाएर अगाडि बढ्ने सहमत भएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ।

विदेश मन्त्री वाङ यीको टोलीमा चिनियाँ उप विदेशमन्त्री लुओ झाओहुइ लगायतका उच्च अधिकारीसमेत सहभागी छन्।

चिनियाँ विदेश मन्त्रालयले विदेशमन्त्री यीको नेपाल भ्रमणको जानकारी गराउँदै नेपाल र चीन पछिल्ला वर्ष बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत हिमालय वारपार बहुआयामिक सञ्जाल विस्तारका क्षेत्रमा काम गरिरहेको भन्दै विदेश मन्त्री यीको भ्रमणले दुई देशबीच यसअघि भएका सम्झौताको कार्यान्वयनमा जोड दिने जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयमा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ सुयङले चीन र नेपाल लामो समयदेखि मित्र राष्ट्र रहेको भन्दै अप्रिलमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजकीय भ्रमण गरेको स्मरण गर्दै भ्रमणका क्रममा दुई देशबीच महत्त्वपूर्ण समझदारी भएको र त्यसले नेपाल चीनबीचको सम्बन्धलाई थप मजबुत बनाएको बताए। विदेशमन्त्री यीको भ्रमण नेपाली राष्ट्रपति भण्डारीको चीन भ्रमणले क्रममा र यस अघि भएका सम्झौताको कार्यान्वयनमा जोड दिने उनको भनाइ थियो। त्यस्तै भ्रमणले दुई देशबीचको साझेदारीलाई थप मजबुत पार्ने उनले बताए।

होला त सीको नेपाल भ्रमण?

पाँच वर्षदेखि राष्ट्रपति सीको भ्रमण गराउने तयारी गरिरहेको नेपालले अहिलेसम्म उत्तरबाट उच्चस्तरीय भ्रमण गराउन सकेको छैन।

सन् २०१३ मार्चमा चिनियाँ राष्ट्रपतिमा निर्वाचित भएका सीले यसबीच दक्षिण एसियाका भुटान र नेपाल बाहेकका सबै देशको भ्रमण गरेका छन्। नेपालले पटक-पटक भ्रमणको निम्तो दिए पनि उनको भ्रमण हुन सकेको छैन।

२०६८ पुस ३० गते तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जिआबाओले केही घण्टाका लागि नेपाल भ्रमण गरे। त्यसयता उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय भ्रमण हुन सकेको छैन।

यसबीच गठन भएको चार वटा सरकारका प्रधानमन्त्रीहरुले चीनको भ्रमण गरेका छन्। त्यस्तै चीनबाट चिनियाँ राज्यपरिषदका उपप्रधानमन्त्री वाङ याङले नेपाल भ्रमण गरेका छन्। यो नै २०६८ सालमा तत्कालीन प्रधानमन्त्री वेन जिआबाओको नेपाल भ्रमणपछि उत्तरी छिमेकी चीनबाट नेपालमा भएको त्यो नै उच्चस्तरीय भ्रमण हो।

सन् २०१३ मा राष्ट्रपति निर्वाचित भएसँगै नेपालले सीलाई नेपाल भ्रमण गराउने प्रयास गरेको थियो।

२०७१ सालमा नै तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले चिनियाँ समकक्षी सीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। त्यतिबेला बेइजिङस्थित नेपाली दूतावासले नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्षगाँठको अवसरमा सीलाई नेपाल भ्रमण गराउने तयारीसमेत गरेको थियो।

तर, त्यस वर्ष सी दक्षिण एसियाका अन्य मुलुकको भ्रमणमा निस्किए, भ्रमण गर्ने देशको सूचीमा भने नेपाल अटाएन।

त्यतिबेला चीनले बेइजिङस्थित नेपाली दूतावासका अधिकारीहरुलाई बोलाएर नेपाल भ्रमणमा सूचीमा नरहेको भन्दै ‘निकट भविष्य’मा नेपालको भ्रमण हुने भन्दै जानकारी गराएको थियो। त्यसयताको ‘निकट भविष्य’ अझै आइपुग्न सकेको छैन।

२०७१ सालमा राष्ट्रपति सी दक्षिण एसिया भ्रमणमा निस्किए। यो भ्रमणका क्रममा नेपाल पनि पर्ने अपेक्षा गरिएको थियो। भ्रमण अगाडि चीनको विदेशमन्त्रालयले बेइजिङमा रहेको दक्षिण एसियाका कूटनीतिक नियोगका प्रमुखहरुलाई बोलाएर दक्षिण एसियामा राष्ट्रपति सीको भ्रमण हुन लागेको जानकारी गराएको थियो। त्यतिबेला नेपाल पनि भ्रमण सूचीमा पर्ने अपेक्षा गरिएको थियो।

त्यतिबेला सीले माल्दिभ्स, श्रीलंका र भारतको भ्रमण गरे। तर, नेपाल भ्रमण गरेनन्। २०१५ को मार्चको सीको भ्रमण तालिका अगाडि विदेशमन्त्री वाङ यीले नेपालको तीनदिने भ्रमण गरेका थिए। उनको त्यस भ्रमणले सीलाई नेपाल भ्रमण गराउने अवसरको रुपमा हेरिएको थियो तर भएन।

२०७२ साल वैशाखको दोस्रो साता नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले चिनियाँ राष्ट्रपति सीलाई भेटेरै नेपाल भ्रमणको निम्तो दिए।

इन्डोनेसियाको जकार्तामा २०१७ अप्रिल २३ गते कोइरालाले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग द्वीपक्षीय भेटवार्ता गरेका थिए। एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशौँ वार्षिकोत्सव समारोहका क्रममा इन्डोनेसियाको राजधानी जकार्ताको द्विपक्षीय भेटघाटमा प्रधानमन्त्री कोइरालाले राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिए। त्यतिबेला सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्नेमा आश्वस्त पारे।

त्यसको दुई दिनपछि नेपालमा शक्तिशाली भूकम्प गयो। यसले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण प्रतिको तयारीमा त्यति ध्यान पुगेन। त्यसपछि संविधान निर्माणमा जुटेको नेपालले संविधान जारी भएपछि नयाँ सरकार पायो।

हालका प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बने। २०७२ सालको अन्तिममा भारतसितको सम्बन्धमा तनावमा भइरहेको बेला प्रधानमन्त्रीको रुपमा पहिलो पटक ओलीले चीनको भ्रमण गरे। त्यतिबेला उनले चिनियाँ राष्ट्रपति सीलाई पुनः नेपालको तर्फबाट नेपाल भ्रमणको निम्तो दिए।

प्रधानमन्त्री ओलीले सीलाई नेपाल भ्रमणको निम्तो दिएपछि २०७३ मा नेपाल सीले नेपाल भ्रमण गर्ने उच्च अपेक्षा गरिएको थियो। तर ओली लामो समय प्रधानमन्त्रीको रुपमा सिंहदरबारमा टिकेनन्।

२०७३ साउनमा उनीमाथि अविश्वासको प्रस्ताव दर्ता भयो। ओलीले राजीनामा दिए। तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भए। उनले प्रधानमन्त्री भएलगत्तै सीलाई नेपाल भ्रमणमा स्वागत गर्ने तयारी गरे।

उनले तत्कालीन उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई विशेष दूतको रुपमा बेइजिङ पठाए। उनले त्यहाँ सीको नेपाल भ्रमणको विषयमा छलफल गरे। २०७३ सालको असोजको अन्तिममा सीले नेपाल भ्रमण गर्ने चर्चा चल्यो।

असोजको अन्तिममा भारतको गोवामा भएको ब्रिक्स–बिम्स्टेक सम्मेलनमा सहभागी हुन गोवा जाने क्रममा सीले नेपालसँगै कम्बोडिया र बंगलादेशको भ्रमण गर्ने बताइयो। तर अन्तिम समयमा उनले कम्बोडिया र बंगलादेशको भ्रमण गरे, नेपालको गरेनन्।

अघिल्लो ओली सरकारले चीनसँग गरेका सम्झौताको कार्यान्वयनमा प्रचण्ड सरकारले उदासिनता देखाएको र भारततर्फ ढल्किएको आशंका गर्दै उनले अन्तिममा आएर नेपाल भ्रमण स्थगित गरेको चर्चा चल्यो।

सीले ब्रिक्स सम्मेलनमा जाँदा या चीन फर्कने क्रममा नेपालको भ्रमण गर्ने करिब तय गर्दै नेपालस्थित चिनियाँ दूतावासले तत्कालीन ओली सरकारलाई दिइसकेको थियो। तर, असोजसम्म आइपुग्दा सरकार परिवर्तन भइसकेको थियो। र भ्रमण पनि रोकियो।

त्यतिबेला प्रधानमन्त्री प्रचण्डले सीलाई गोवामै भेट गरे। त्यस भेटमा समेत प्रचण्डले सीलाई नेपाल भ्रमणको निम्तो दिए। प्रचण्डको विशेष दूत बनेर चीन पुगेका तत्कालीन उपप्रधानमन्त्री महराले सीले असोजमै नेपाल भ्रमण भ्रमण गर्ने दाबी गरेका थिए।

प्रचण्डलेसमेत चिनियाँ राष्ट्रपति सीलाई नेपालको भ्रमणमा आउन पुनः निम्ता दिएका थिए। गोवामा भएको भेटमा पुनः एक पटक राष्ट्रपति सीलाई नेपाल भ्रमणका लागि स्मरण गराएर प्रचण्ड नेपाल फर्किए।

२०७३ को चैतमा प्रधानमन्त्री प्रचण्डले चीनको भ्रमण गरे। त्यतिबेला पनि उनले चिनियाँ राष्ट्रपति सीसँग भेट गरी नेपाल भ्रमणको निम्तो दिए।

 

बिआरआई समझदारीमा हस्ताक्षरसँगै भ्रमणको आशा

चिनियाँ राष्ट्रपति सीले अगाडि सारेको महत्वकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपालले २०७३ को वैशाख २९ गते हस्ताक्षर गर्‍यो। वैशाख २९ काठमाडौँमा बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरेसँगै तत्कालीन अर्थमन्त्रीसमेत रहेका महरा बेइजिङमा आयोजना भएको बीआरआई वार्षिक सम्मेलनमा सहभागी हुन पुगे। त्यहाँ उनले नेपालको तर्फबाट पुनः राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिए।

नेपालले बीआरआईमा हस्ताक्षर गरेसँगै चिनियाँ लगानीकर्ता र चिनियाँ उच्च अधिकारीहरुको सक्रियता नेपालमा बढ्यो। चीनको मात्र होइन वर्ष २०७३ कूटनीतिक सक्रियताको वर्ष बन्यो।

सोही वर्ष भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गरे। तर भारतभन्दा बढी चीनबाट सरकारी अधिकारीहरुले नेपालको भ्रमण गरेको परराष्ट्र मन्त्रालयले त्यतिबेला सार्वजनिक गरेको प्रतिवेदनमै उल्लेख छ। २०७३ मा उत्तरी छिमेकी चीनबाट रक्षामन्त्रीसहितको उच्चस्तरीय टोली नेपाल भ्रमणमा आयो।

यसबीच चीनबाट सहायकमन्त्री स्तरको भ्रमण हरेक महिना जस्तै भयो। २०७३ मा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुने बताइए पनि भ्रमण भएन्। नेपालका तर्फबाट हालका सभामुख तत्कालीन उपप्रधानमन्त्री महराले तीन पटक चीनको भ्रमण गरे। 

२०७४ मा उपप्रधानमन्त्री वाङ याङले नेपालको भ्रमण गरे। उनको यो भ्रमणलाई पनि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको तयारीको रुपमा हेरियो। तर सफल भएन्।

वाङको यस क्रममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निम्तो दिए। भेटवार्ताका क्रममा देउवाले चिनियाँ राष्ट्रपति सीलाई भ्रमण नेपाल भ्रमणको निम्तो दिए।

संविधान निर्माणपछि २०७४ को अन्तिममा ओली पुनः नेपालको प्रधानमन्त्रीमा निर्वाचित भए। नयाँ सरकार गठनसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्ष २०१८ लाई उच्चस्तरीय नेपाल भ्रमणको वर्षको रुपमा मनाइने भन्दै उत्तर र दक्षिण दुवै छिमेकीबाट उच्चस्तरीय भ्रमण गराउने दाबी गरेका थिए। यसबीच भारतीय प्रधानमन्त्री मोदीले नेपालको दुई पटक भ्रमण गरे तर चिनियाँ राष्ट्रपति सीको भ्रमण हुन सकेन्।

यसबीच चिनियाँ उपविदेशमन्त्रीले नेपालको भ्रमण गरे। २०१५ मा नेपालको भ्रमण गरेका यी आज नेपाल पुग्दैछन्। उनको यो भ्रमणलाई चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको अन्तिम तयारीको रुपमा हेरिएको छ।

यसबीच सीको भ्रमणको तयारीका लागि भन्दै पछिल्लो महिना चीनबाट गोप्य रुपमा भ्रमणहरु भइरहेका छन्। स्रोतका अनुसार राष्ट्रपति सीको सुरक्षा व्यवस्थाको अध्ययन गर्न चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौँ पुगेर नेपालका सुरक्षा अंगका प्रमुखहरुसँग छलफल गरेको छ। त्यसैले पनि सीको भ्रमण हुन सक्ने सम्भावना बढ्दै गएको देखिन्छ। यद्यपि, सीले कुनै देशको भ्रमण गर्नु अगाडि त्यहाँका मूलधारको पत्रिकामा सीको लेख प्रकाशित हुँदै आएका छन्।

सीको भ्रमण अघिल्लो दिन काठमाडौंबाट प्रकाशित हुने मूलधारका पत्रिकामा लेख प्रकाशित भएसँगै पक्का हुनेछ।

यसबीच नेपालबाट चीनमा पटक पटक उच्चस्तरीय भ्रमण हुँदै आए पनि चीनबाट कमै रुपमा हुँदै आएको छ। सन् १९९६ मा तत्कालीन राष्ट्रपति जियाङ जेमिन तत्कालीन राजा वीरन्द्रको निमन्त्रणमा नेपाल भ्रमणमा आएका थिए। त्यसयता चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन सकिरहेको छैन्। दोस्रो कार्यकालका लागि चिनियाँ राष्ट्रपतिको रुपमा निर्वाचित सीले यस वर्ष नेपालको भ्रमण गर्दै नेपालप्रति चिनियाँ चासो कायम रहेको देखाउन चाहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell