
काठमाडौं : श्रीलंकामा जारी यु १९ एसिया कपमा नेपालले आज बंगलादेशको सामना गर्दैछ। पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा आज बंगलादेशको सामना गर्न लागेको हो।
यता बंगलादेशले पहिलो खेलमा युएइलाई ६ विकेटले पराजित गरेको थियो। नेपाललाई सेमिफाइनलमा पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाब छ। खेल आज बिहान १०:१५ बजेबाट सुरु हुनेछ।
नेपाल र बंगलादेशबीचका पछिल्ला प्रदर्शनहरुमा हेर्ने हो भने बंगलादेश बलियो देखिएको छ। नेपाल र बंगलादेशबीच भएका पछिल्ला पाँच खेलमा बंगलादेशले ४ खेल जितेको छ भने एउटा खेल रोकिएको थियो।
एसिसी यू १९ प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ। समूह बी मा नेपालसँगै श्रीलंका, बंगलादेश र युएई रहेका छन्। समूह बी को खेलमा श्रीलंका र बंगलादेशले १/१ खेल जितेका छन भने नेपाल र युएई १/१ खेलमा पराजित छन्।