PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

आफ्नो जन्मदिनमा नाजिरले लेखे आमाका लागि कविता



पहिलोपोस्ट

आफ्नो जन्मदिनमा नाजिरले लेखे आमाका लागि कविता

काठमाडौं : भदौ २२ गते (आज) बिहानै अभिनेता नाजिर हुसेनले फेसबुकमा कविता पोस्ट गरे। आफ्नो जन्मदिनको उपलक्ष्यमा उनले आफ्नी आमालाई सम्बोधन गर्दै कविता लेखेका हुन्। उनकी आमा मीना हुसेनको केही वर्षअघि अस्वस्थताका कारण निधन भयो। उनी स्वास्थ्य स्वय‌ंसेविका थिइन्।

साथै आफ्ना लागि शुभकामना पठाउने सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन्। उनी २८ वर्ष पुगेका छन्।  

रंगमञ्च हुँदै फिल्मको पर्दामा छाएका नाजिर हाल नयाँ फिल्म र म्युजिक भिडियो छायाँकनमा व्यस्त छन्। व्यस्तताका बीच पनि आज भने उनले छायांकनबाट बिदा लिएर उनी मण्डला नाटकघरमा आफ्ना अग्रज र समकालीन नाट्यकर्मीहरुसँग जन्मदिन मनाउँदै छन्।

यस्तो छ उनले आमाको लागि लेखेको कविता:

         आमा


आज म जन्मेको दिन
तपाईं खुशी भएको दिन


मेरो जन्मदिनका लागि
तपाईंले सिक्का थुपार्ने सपना देखेजस्तै
म सपना र मायाहरु थुपार्न सिक्दै छु


आज पनि

तपाईंले मेरो हरेक जन्मदिनमा

अञ्जुलीभरि राखिदिनु भएको सिक्काहरु
मेरो अनिँदो आँखाहरु
सिक्काको बास्ना
अनि तपाईंको हत्केलाहरु सम्झन्छु
म नहाँसुन्जेल मेरा गाला सुमसुम्याउने हत्केला
अनि तपाईंको आवाज...

कान्छा, अब त तँ बूढो भइस्
 

अँ... होइन, खै मेरो जुँगा त आको छैन
मेरो उत्तरले खित्का छोडेर हाँस्ने तपाईं

अनि

हाँसोले चाउरिएका तपाईंको गाला र आँखाको भागहरु

म खुब याद गर्छु


अहिले मलाई मेरो जन्मदिनमा शुभकामना दिने

धेरै मायालु मनहरु छन्

र पनि म तपाईंलाई सम्झन्छु
तपाईंलाई थाहा छ म खुशी छु
सायद तपाईं पनि खुशी हुनुहुन्छ होला


खुदा हाफिज आमा।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell