
काठमाडौं : अवैध हतियार चिनियाँ पेस्तोल बोकी लुट्धन्दा मच्चाउने समूहका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिवार प्रहरीले यस समूहका उनीहरुलाई दुई वटा चिनियाँ पेस्तोलसहित नियन्त्रणमा लिएको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले उनीहरुलाई माछापोखरीबाट नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नेमा कुशल अधिकारी, रामबहादुर तामाङ, धर्मराज तामाङ, युवराज भण्डारी, योर्सङ घले, विजय तामाङ, पिटर तामाङ र राजन तामाङ रहेका छन्।
प्रहरीकै हेयरस्टायलमा घर रेकी गर्दै लुट्धन्दा
पक्राउ परेकाहरुको साथमा रहेको चिनियाँ पेस्तोल प्रहरीले प्रयोग गर्ने पेस्तोल जस्तै देखिएको प्रहरीले जनाएको छ। ती पेस्तोल प्रहरीबाटै माओवादी सशस्त्र द्वन्द्वताका लुटिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। यद्यपि यसबारे थप अनुसन्धानपछि मात्र खुल्ने महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंहले बताए।
यो समूहले नेपाल प्रहरीकै शैलीको कपाल बनाएर प्रहरी भन्दै घर रेकी गर्ने र व्यवसायी लुट्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
उक्त समूहले १९ गते मुस्ताङ गेस्ट हाउसको ४०४ नम्बर कोठाबाट सुन व्यवसायीलाई लुटेका थिए।
पक्राउ परेकामध्ये पाँच जना माछापोखरीस्थित 'हाई रेस्टुरेन्ट एन्ड डान्स बार'का सञ्चालक भएको प्रहरीले जनाएको छ। उनीहरुले कतिपय ठाउँमा डान्स बारको आडमा लुटधन्दा मच्चाएको देखिएको प्रहरीले जनाएको छ।
मुख्य योजनाकार विप्लवका नेता
पक्राउ परेकामध्येका योर्साङ घले समूहको प्रमुख योजनाकार रहेको अनुसन्धानमा देखिएको छ। उनी नेत्रविक्रम चन्द विप्लव समूहको युवा संघको केन्द्रीय सदस्यसमेत रहेको खुलेको छ। उनीहरुले आजै बौद्धको घर लुट्ने योजनासमेत बनाएको खुलेको छ।
पक्राउ परेकामध्ये कुशल अधिकारी सेनाका भगौडा हुन् र युवराज भण्डारी सशस्त्र प्रहरीमा कार्यरत जवान रहेको प्रहरी अनुसन्धानले देखाएको छ।