PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

मन्त्री मातृका यादव पार्टीको कार्यक्रममा किन उक्लिएनन् मञ्चमा?



पहिलोपोस्ट

मन्त्री मातृका यादव पार्टीको कार्यक्रममा किन उक्लिएनन् मञ्चमा?

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले सशस्त्र द्वन्द्वका क्रममा मारिएका तत्कालीन माओवादीका नेता सुरेश वाग्लेलाई स्मरण गर्‍यो। केन्द्रीय कार्यालय धुम्बाराहीमा आज एक कार्यक्रम आयोजना गरी पार्टीले उनलाई सम्झना गर्‍यो।

सोमबार बिहान आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले वाग्लेका सम्बन्धमा आफ्ना धारणा राखे।

तर, वाग्लेको २१ औं स्मृति दिवसको कार्यक्रममा पुगेका नेता कार्यकर्ता केही अचम्भित देखिए। कारण थिए- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव। 

मन्त्री यादव कार्यक्रमको निर्धारित समयमा नै कार्यक्रम स्थलमा आइसकेका थिए। कार्यक्रम ८ बजेका लागि बोलाइएको थियो। तर निर्धारित समयभन्दा आधा घण्टापछि मात्र कार्यक्रम सुरु भयो।

ने क पा का नेता लेखनाथ न्यौपानेले नेताहरुलाई आसन ग्रहणका लागि आग्रह गरे। उनले मन्त्री यादवलाई पनि मञ्चमा आसन ग्रहणका लागि आग्रह गरे। मन्त्री यादवले आसन ग्रहण गरे तर उनी मञ्चमा भने उक्लिएनन्। मन्त्री यादव पहिलेदेखि नै तल बसिरहेका थिए।

ने क पा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, देवेन्द्र पौडेल,  अग्नीप्रसाद सापकोटा लगायतका नेताहरु मञ्चमा थिए।

मञ्चमा नबसेर मन्त्री यादव कार्यकर्ताहरुसँगै तलै बसेपछि कार्यकर्ताहरुको ध्यान मञ्चमा भन्दा पनि मन्त्री यादवतिरै देखिन्थ्यो। केही नेता कार्यकर्ताले उनलाई मञ्चमा जान आग्रह गरे पनि उनले मानेनन्।

नेता कार्यकर्ताको ध्यान मन्त्री यादवतर्फ तानियो। कार्यकर्ताहरु मन्त्री यादवको फोटो खिचिरहेका थिए। उनी मञ्चमा नगएर तल बसेकोमा ने क पा का अधिकांश नेता कार्यकर्ताले असहज मानिरहेको प्रष्टै देखिन्थ्यो।

अप्ठ्यारो मान्दै मञ्चमा जान आग्रह गरिरहेका नेता कार्यकर्तालाई मन्त्री यादवले जवाफ दिए, 'म यहीँ ठीक छु।' उनी कार्यक्रम नसकिउन्जेलसम्म बसेका थिए।

यो पनि पढ्नुहोस् : लगानी सम्मेलनमा सीट नपाएपछि झोक्किएर बाहिर निस्किए उद्योगमन्त्री यादव, थामथुम पार्ने प्रयास विफल

गत वर्ष चैतमा सम्पन्न वैदेशिक लगानी भित्र्याउन सरकारले आयोजना गरेको लगानी सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका यादवलाई नै मञ्चमा बस्ने सीट छुट्याइएन। मन्त्री यादवले मञ्चमा आफ्नो सिट नभेटेपछि झोंक्किएर हलबाट बाहिर निस्किएका थिए।

उनी झोंक्किएर बाहिर निस्किएपछि थामथुम पारेर हलभित्र ल्याउने प्रयास गरिएको थियो। उनी हलभित्र नै आएनन्। उनी भित्र नआएपछि उद्योग सचिव यमकुमारी खतिवडा, वाणिज्यका सचिव केदारबहादुर अधिकारी र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह समेत बाहिरै मन्त्रीसँग बसेका थिए।

आजको कार्यक्रममा उनी बस्ने सिट थियो। कार्यक्रम सञ्चालक न्यौपानेले मन्त्री यादवलाई भने देवेन्द्र पौडेललगायत केही नेताभन्दा पछि मञ्चमा आसन ग्रहण गर्न बोलाएका थिए।  

त्यस्तै उनी नेपाल-भारत लजिस्टिक समिटमा त जाँदै गएनन्। विशेष अतिथि रहेका यादव कार्यक्रममा नगएपछि त्यसबेला अस्वस्थ रहेका प्रधानमन्त्री केपी शर्मा ओली आफैं नै कार्यक्रममा जानु परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell