काठमाडौं : उपत्यकाभित्र मोटरसाइकल चोरी गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा काठमाडौं नागार्जुन नगरपालिका वडा नम्बर ७ बस्ने २६ वर्षीय प्रदीप खड्गी, २५ वर्षीय रोशन खड्का र चितवन भरतपुर महानगरपालिका वडा नम्बर २१ बस्ने २० वर्षीय अन्जन विक रहेको महाशाखाका एसएसपी भीम ढकालले जानकारी दिए।
प्रहरीले राजधानीको बसुन्धरा, कालीमाटी, माछापोखरी, नयाँ बसपार्क, दरबारमार्ग, तीनचुली लगायत स्थानबाट हराएको १८ वटा मोटरसाइकल तथा स्कुटर समेत फेला पारेको छ। सोमबार ट्राफिक प्रहरीले फेला पारेको मोटरसाइकलधनीलाई बुझाएको थियो।
ट्राफिक नियम उल्लंघन गर्ने जो कोही कारवाहीमा पर्छन्- एसएसपी ढकाल
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले ट्राफिक नियम विपरीत सवारीसाधन चलाउने जो कोहीलाई पनि कारवाही हुने बताएका छन्। महाशाखाको जिम्मेवारी सम्हालेपछि सोमवार महाशाखामा पत्रकार सम्मेलन गर्दै एसएसपी ढकालले ट्राफिक नियम प्रहरी, सरकारी कर्मचारी लगायत सबैलाई एउटै र समान भएकाले सडक नियम पालना नगर्ने जो सुकैलाई पनि कारवाही गर्ने बताएका हुन्।
मिटरमा जान नमान्ने ट्रयाक्सीचालक, जथाभावी पार्किङ गर्ने सवारीचालक र सडक अनुशासन पालना नगर्ने पैदल यात्रुलाई समेत कारवाही हुने एसएसपी ढकालले बताए।
उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन गर्न आगामी दिनमा प्रविधियुक्त ट्राफिक व्यवस्थापन, प्रहरीको विनम्र व्यवहारमा जोड, ट्राफिक नियम सम्बन्धी जनचेतनामा जोड दिने एसएसपी ढकालले बताए।
अहिले उपत्यकाभित्र १ हजार ३ सय ६८ जना ट्राफिक प्रहरी कार्यरत छन्। एक जना ट्राफिकले ९ सयभन्दा बढी सवारीसाधनको अनुगमन गर्नुपर्ने अवस्था छ।