PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भारतको मोतिहारीदेखि अमलेखगंजसम्म क्रसबोर्डर पेट्रोलियम पाइप : सुरक्षाको जिम्मा सेनालाई



पहिलोपोस्ट

भारतको मोतिहारीदेखि अमलेखगंजसम्म क्रसबोर्डर पेट्रोलियम पाइप : सुरक्षाको जिम्मा सेनालाई

काठमाडौं : भारतको मोतिहारीदेखि नेपालको अमलेखगंजसम्म ७० किलोमिटर लामो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन भोलिदेखि सञ्चालन हुनेछ। यो पेट्रोलियम पाइपलाइन दक्षिण एशियाकै पहिलो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन हो।

उक्त पेट्रोलियम पाइपलाइनको उद्घाटन नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले स्विच थिचेर गर्ने छन्। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आ-आफ्नो कार्यालयमा स्विच थिचेपछि मोतिहारीबाट पाइपलाइन हुँदै तेल अमलेखगन्ज आउनेछ। पाइपलाइनबाट सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको आयल निगमका अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए।

अमलेखगंज डिपोमा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र इन्डियन आयल कर्पोरेशन(आइओसी)का प्रतिनिधि समेत रहनेछन्। डेढ दशक अघिदेखि चर्चामा रहेको यो पाइपलाइन भारतले नाकाबन्दी लगाएपछि भने निर्माणले गति लिएको थियो। नाकाबन्दीपछि नेपालले चीनबाट समेत तेल ल्याउने सम्झौंता गरेपछि आइओसीले पाइपलाइन निर्माणलाई तीब्रता दिएको हो।

नेपालले चीनसँग तेल ल्याउने सम्झौंता गरेपछि आइओसीले आफ्नो एकाधिकार तोडिने डरले पाइपलाइन निर्माणमा केन्द्रित गरेको निगम उच्च स्रोतले जानकारी दियो। ढुवानीमा हुने अवरोध र भाडा वापतको रकम बचत हुने देखेर नेपालले समेत पाइपलाइन निर्माणलाई प्राथमिकतामा राखेको थियो।

तेल ल्याउनुअघि हाइड्रो टेष्ट, पाइप बेल्डिङ गरेर जोडिएका पाइपको रेडियोग्राफी, पाइप जोडिएको बिन्दुमा एक्स–रे, स्क्यान प्लाष्ट गरेर पाइपमा रहेका खिया हटाएर चिल्लो बनाउने काम गरेको थियो। यो सबै परीक्षणपछि मोतिहारीबाट डिजल समेत पठाइसकिएको छ।

पेट्रोलियम पाइपलाइन सुरक्षाको जिम्मा नेपाली सेनालाई, २० जनाले सुरक्षा गस्ती गर्दै

उक्त पेट्रोलियम पाइपलाइनको सुरक्षाका लागि नेपाली सेनाले पाइपलाइनमा मोबाइल गस्ती गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

नेपालतर्फको ३७.५ किलोमिटर पाइपलाइनको सुरक्षा गर्न २० जना सेना खटाइएको छ। आपूर्ति मन्त्रालयले रक्षालाई पठाएको प्रस्ताव स्वीकृत भएपछि सेनाले गस्ती सुरु गरेको हो। नेपाल आयल निगमसँग गत चैत २८ र २९ गते भएको छलफलमा इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पाइपलाइनको सुरक्षा छिटो टुंग्याउन आग्रह गरेको थियो।

भारतमा पाइपलाइन सुरक्षा सम्वन्धी छुट्टै ऐन छ। तर नेपालमा भने पाइपालाइन पहिलो पटक निर्माण भएकोले कानुन बनेको छैन। गत साउन २ गते बिहिवार पाइपलाइनबाट डिजल नेपाल आइसकेको छ। मोतिहारीबाट हालिएको हजार किलोलिटर डिजल १८ घण्टापछि नेपाल आइपुगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell