
काठमाडौं : विश्वकप छनोट अन्तर्गतको दोस्रो चरणको क्वालिफायर्समा नेपालले आज चाइनिज ताइपेईको सामना गर्दैछ। सेप्टेम्बर ५ मा भएको पहिलो खेलमा कुवेतसँग लज्जास्पद हार बेहोरेको नेपालले आज ताइपेईसँग खेल्न लागेको हो।
आज बेलुकी ५ बजे ताइपेई स्टेडियममा खेल हुनेछ। ताइपेई पनि यसअघिको खेलमा पराजित भइसकेको छ। जोर्डनसँग भएको समूह चरणको खेलमा ताइपेई २-१ ले पराजित भएको थियो।
नेपाल रहेको समूहमा ताइपेई तुलनात्मक रुपमा सहज मानिएको टोली हो। सोमबार भएको प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक योहान कालिनले ताइपेईसँगको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरे।
उनले कुवेतसँगको खेलमा आफ्नै गल्तीले गोल खाएको बताउँदै खेल सुधारेर लयमा फर्कने प्रयासमा रहेको बताए। नेपालले गएको जु्नमा भएको खेलमा ताइपेईलाई १–१ को बराबरीमा रोकेको थियो।
त्यस्तै नेपाली टोलीका कप्तान किरण चेम्जोङले ताइपेईविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने बताए। आफूहरुले राम्रो तयारी गर्न नपाए पनि उत्कृष्ट खेल प्रस्तुत गर्ने बताए।
ताइपेई फिफा वरीयतामा नेपालभन्दा अगाडि छ। ताइपेई वरीयतामा १२५ औँ र नेपाल १६६ औँ स्थानमा छन्।
विश्वकप छनोटमा सीधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्न लागेको नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताईपेई रहेका छन्। नेपाल प्रतियोगिताको समूह 'बी'मा छ। नेपाल रहेको समूहबाट कुवेत र जोर्डनले १/१ खेलमा जित निकाल्दै समान ३/३ अंक जोडेका छन भने ताइपेइ र नेपालले आफ्नो पहिलो खेल गुमाएका छन्।