
काठमाडौं : प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ।
नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्लो प्रत्येक वर्ष ५ हजार मानिसले आत्महत्या गरेको देखिन्छ। गएको आर्थिक वर्ष ०७५/७६ मा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेका थिए। त्यस्तै आर्थिक वर्ष ०७३/७४ मा ५ हजार १ सय २४ जनाले आत्महत्या गरेका थिए। आर्थिकवर्ष ०७४/७५ मा आत्महत्या गर्नेको संख्या झनै उकालो लाग्यो र ५ हजार ३ सय १७ पुग्यो।
केही दिनअघि मात्र गौशालाको जंगलमा एउटै पासोमा झुन्डिएको अवस्थामा एक जोडी भेटिएका थिए। ३३ वर्षीया उमिता दमाई र ४० वर्षीय जय गिरी। उनीहरुको आत्महत्याको कारण भने अझै प्रष्टसँग खुल्न सकेको छैन। तर उनीहरु एउटै रुखमा एउटै शलमा एउटै पासो बनाएर झुन्डिएको अवस्थामा फेला परेका थिए।
प्रहरीको तथ्यांक अनुसार आत्महत्या गर्नेमध्ये सबैभन्दा धेरैले झुन्डिएर गर्ने गरेको देखिएको छ। करिब ७५ प्रतिशतभन्दा बढी मानिसले झुन्डिएर आत्महत्या गर्ने गरेका छन्। गएको आर्थिक वर्षमा ४ हजार ३ सय १२ जना मानिसले झुन्डिएर आत्महत्या गरेका थिए। पासो लगाउनु आत्महत्या गर्नेहरुको सजिलो विकल्प बनेको देखिएको मनोविद्हरुको तर्क छ।
१ हजार ३ सय २० जनाले विष खाएर आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ। एक वर्षमा एक जनाले विष्फोटक पदार्थ प्रयोग गरी आत्महत्या गरेका थिए। विष्फोटक पदार्थको कारण आत्महत्या गर्नेको संख्या अपवादमा नै पर्ने गरेको प्रहरीले जनाएको छ।
३ वर्षयताका प्रहरी तथ्यांक हेर्दा हाम्फालेर आत्महत्या गर्ने ट्रेन्ड भने घट्दो छ। आर्थिक वर्ष ०७३/७४ मा ७० जनाले हाम्फालेर देहत्याग गरेका थिए। २ वर्षपछि यो संख्या घटेर ४८ मा झरेको छ। शरिरमा करेन्ट लगाएर पनि मानिसले आत्महत्या गर्ने गरेका छन्। ३ वर्षमा ९ जनाले करेन्ट लगाएर आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ।
यो पनि पढ्नुहोस् : जेलमा गाँसिएको त्यो सम्बन्ध जुन एउटै रुख र एउटै पासोमा समेटियो