PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कांग्रेस भुत्ते भयो, आन्तरिक मञ्चमा पनि झगडाकै कुरा उठ्छ : प्रदीप पौडेल



पहिलोपोस्ट

कांग्रेस भुत्ते भयो, आन्तरिक मञ्चमा पनि झगडाकै कुरा उठ्छ : प्रदीप पौडेल

यतिबेला नेपाली कांग्रेस दोस्रो चरणको हिमाल पहाड मधेश-तराई राष्ट्रिय जागरण अभियानमा जुटेको छ। अभियानमा प्रदेशस्तरीय नेताहरु खटिएका छन्। जागरणमा खटिरहँदा एकै मञ्चमा केन्द्रीय नेताहरुको अन्तरकलह पनि छताछुल्ल भइरहेकै छ।

एकले अर्काका कमजोरीबारे आलोचना गर्नेदेखि संसदमा बलियो प्रतिपक्षीको भूमिका निभाउन नसकेको आरोप पनि लागिरहेको छ। अन्तर्घातीलाई कारबाही गर्नेदेखि नेतृत्वको कमजोरीका विषय पनि मञ्चदेखि कार्यकर्ता तहसम्म उठेका छन्।

यिनै सेरोफेरोमा नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य प्रदीप पौडेलसँग नेत्र तामाङले गरेको कुराकानी:

 

दोस्रो चरणको जागरण अभियान शुरु भएको छ। यसले कांग्रेसलाई कति ऊर्जा दिन्छ?

यो नियमित काम हो। भयंकरै ठूलो काम त होइन। आवश्यकै थिएन भन्ने तर्क गर्नु पनि स्वाभाविक हैन। अहिलेसम्म हुँदै नभएको कुरा भनेर बढाइचढाइ गर्न पनि जरुरी छैन। यसले पार्टीलाई शून्यताको अवस्थाबाट अगाडि बढाउँछ।

हिजो जिल्ला तहमा भयो। आज प्रदेश तहमा हुँदैछ। पछि पालिका तहमा हुन्छ। यसलाई सकारात्मक हिसाबमा हेर्नुपर्छ। यति मात्र गरेर त पुग्दैन। यो भएको छ, अब यति गरे पुग्छ, भनेर हुँदैन। पार्टीका अवधारणालाई जनतामाझ लैजान र बुझाउन धेरै ठूलो मद्दत गर्छ।

तर, जागरण अभियानका मञ्चहरुमा शीर्ष नेताबीच आरोप प्रत्यारोप त जारी नै छ। यसरी ऊर्जा मिल्ला त कार्यकर्तालाई ?

तरंगित गर्नेगरी एजेन्डा ल्याउनुपर्ने हो। तरंगित गर्ने गतिविधि नल्याएसम्म खासै ठूलो परिवर्तन ल्याउन सक्दैनौं। हामीले आर्थिक, राजनीतिक र सामाजिक मुद्दा उठाउन सकेका छैनौं।

आन्तरिक मञ्चमा पनि झगडाकै विषयमा कुरा उठ्छ। कार्यकर्तालाई पनि यही कुरा सुनाइन्छ। भाषणका अरु धेरै एजेन्डा छन्। तर, एजेन्डा छुट्याउन नसक्दा आफ्नै आन्तरिक विषयमा रुमल्लिरहेका छन्। नेतृत्वले नयाँ एजेन्डा दिन नसकेका कारण यस्तो भएको हो।

सरकारले जनताका विरुद्ध गरेका, सुशासन दिन नसकेका विषयलाई प्रमुख प्राथमिकताका साथ उठाउन सक्नुपर्‍यो।

आफ्ना विषयमा कुरै गर्न हुन्न भन्ने हुँदैन। मर्यादित ढंगले कुरा उठाउन सकिन्छ। मर्यादित ढंगले नउठ्दा कांग्रेसमा धेरै झगडा छ जस्तो देखिन्छ। यसलाई कम गर्न प्राथमिकता छुट्याउन सक्नुपर्छ। सरकारका गतिविधि नेता कार्यकर्तालाई बुझाउन सक्नुपर्छ। अनिमात्र हाम्रा मञ्चहरु खास विषयमा प्रवेश पाउँछन्। परिणाम नदेखिने आफ्नो अन्तरविरोध बढी देखिने जुन परिस्थिति छ, त्यसलाई हामीले बदल्न सक्नुपर्छ।

एजेन्डा नै दिन नसक्नुको मुख्य दोषी को त?

पार्टीले एजेन्डा दिन नसक्नुमा प्रतिशतको हिसाबले बढी कमजोरी नेतृत्वकै हुन्छ। केन्द्रीय समितिकै हुन्छ। सबै नेताहरुको भए पनि नेतृत्वकै हुन्छ।

हामीले जनताको मुद्दा के हो भन्ने विषय प्राथमिकतामा राख्नुपर्छ। बाँकी भएका विषयमा एजेन्डा पनि बनाउन नसक्ने, परिभाषित पनि गर्न नसक्ने भनेको हाम्रो कमजोरी हो नि।

पछिल्लोपटक सडकमा देखिएको भीडलाई कांग्रेसले आफ्नो पक्षमा क्यास गर्न खोजिरहेको छ नि?

प्रत्येक मान्छे विवेकी हुन्छ। विवेकी मान्छेले कुन विषयलाई कसरी बुझ्ने भन्ने आफ्नो अवधारणा हुन्छ। त्यस घटनाबारे आफ्नो बुझाइको आधारमा एक्टिभ बनाउँछ।

सरकारको रवैयासँग जोडेर हेर्दा मान्छेहरु असन्तुष्ट छन्। सरकार बनेको १८ महिना भइसक्यो। पहिले पहिले ९ महिनामा सरकारहरु परिवर्तन हुन्थ्यो। अहिले त्यस्तो अस्थिरता छैन। ढुक्कले काम गर्न पाउँछु भन्ने त यो सरकारको नेतृत्व गर्नेलाई थाहा छ।

पहिलेको अस्थिर सरकार र स्थिर सरकारमा त फरक छ नि। तर, काम त अघि बढेन। काम शुरु भएर सक्नुपर्छ भनेको त छैन नि हामीले। शुरु नै गरेको छैन पो भनेको। १८/१८ महिनासम्म एउटा पनि नयाँ काम गर्न नसकेको सरकारले आशाको सञ्चार कसरी गर्न सक्छ? सरकार के भनिरहेको छ- म आएपछि भने पोखरा एयरपोर्ट भैरहवा एयरपोर्ट बनाएँ, मुग्लिन नारायणगढ राजमार्ग बनाएँ। मध्यपहाडी राजमार्गको नाम परिवर्तन गरेर पुष्पलाल राजमार्ग बनाएँ। धरान-सिन्धुली-हेटौंडा राजमार्गको नाम परिवर्तन गरेर मदन भण्डारी राजमार्ग बनाए। यति मेगावाट बिजुली निस्कने भयो। मेलम्ची खानेपानीको ९० प्रतिशत काम सम्पन्न भयो। १० प्रतिशतमा अनिश्चितता भयो। यो कुनै उपलब्धिको कुरा हो?

भाषणमा राम्रो काम गर्छु भन्नेले खै त काम गरेको? केपी ओली त भाषणमा पहिले पनि तीक्ष्ण नै हो। उहाँको क्षमता त भाषणमा मात्र रहेछ, काम गर्ने रहेनछ भन्दा मान्छे निराश हुँदैन?

न त घरघरमा पाइप जोडेर बटन दबाएर प्याट्ट गर्दा ग्यास बाल्न सक्नुभो। न हावाको बिजुली बाल्नुभयो। न पानीजहाज ल्याउनु भो। न रेल ल्याउनुभयो। न भ्रष्टाचार नियन्त्रण गर्नुभयो।

यति धेरै भ्रष्टाचारका मुद्दा आएका छन्। भ्रष्टाचार अहिलेमात्र शुरुवात भएको हामी भन्दैनौं। तर बाहिर धेरै देखिएको अहिले हो नि। वाइडबडी काण्डमा किन उदासीन, बालुवाटार काण्डमा किन यति धेरै ढाकछोप, फोरजीमा किन यस्तो बेवास्ता? गेजुवा कम्पनीलाई बूढीगण्डकीको ठेक्का किन दिएको?

यो प्रस्तुति हेर्दा सरकार संविधानप्रति इमान्दार छैन। लोकतन्त्रप्रति इमान्दार छैन। यसलाई रणनीतिक रुपमा उपयोग गरेर जनवादी लक्ष्यतिर जान खोजिरहेको देखिन्छ। प्रेस काउन्सिलको जुन विधेयक प्रस्तुत भएको देखिन्छ। प्रेस स्वतन्त्रता नभएको देश लोकतान्त्रिक हुन सक्छ? मानव अधिकारको प्रत्याभूति नभएको देश देश लोकतान्त्रिक हुन सक्छ?

आज केपी ओलीजी नयाँ राजा बन्न सुरक्षा परिषदको निर्णयबिनै सेना परिचालन गर्न खोज्नुभएको छ। विश्वविद्यालय कब्जा गर्न खोजिरहनुभएको छ। सूचना प्रविधि विधेयकबाट सम्पूर्ण रुपमा सरकारले आफ्नो विरोध रोक्दैछ।

यो सबै कुराले जनतालाई आशांकित गर्‍यो नि। हिजो राजाले बक्सिस दिएर जागिर दिन्थ्यो। अहिले केपी ओलीले बक्सिस दिएर जागिर दिन्छन्।

संघीयता, समावेशीता र गणतन्त्रका कारण यस्तो भएको हैन। केपी ओलीको नेतृत्व एकदमै काबिल हुन नसकेको कारण यस्तो भएको हो। नेतृत्व असफल भएका कारण व्यवस्था असफलतातिर बढेको छ।

प्रतिपक्षी बलियो रुपमा प्रस्तुत नभएकाले यस्तो भएको हैन र?

नेपाल बन्द गर्ने गरी हामी अघि बढ्दैनौं। सार्वजनिक सम्पत्ति नाश हुने गरी, सडक प्रदर्शन गर्दैनौं भन्ने होइन। सडक प्रदर्शन नगर्दासम्म सरकार नसच्चिने देखियो। हामीले सदन अवरुद्ध गर्‍यौं। तर, सबै विषयमा त्यो हतियार प्रयोग किन गरिरहेका छैनौं?

आफ्नो हैसियतअनुसार मुद्दा उठाइरहेको छ कांग्रेसले। सानो दल भएकाले सरकारले सुनेन। त्यसैले कांग्रेस सडकमा आउँदा साथ दिनुपर्छ भन्ने लाग्ने बनाउनुपर्छ। जति उपयोग गर्नुपर्ने हो त्यो उपयोग गर्न सकिरहेको छैन।

छाया सरकार पनि बनेको छ नि, सरकारको कामको समीक्षा गर्न। कस्तो छ यसको काम?

छाया सरकारका मन्त्रीसँग हामी पनि सन्तुष्ट छैनौं।

अहिले भूमिसम्बन्धी विधेयक आयो। हाम्रो त्यो मन्त्रालयको जिम्मेवारी पाउनुभएको साथीले त्यसका बारेमा पार्टीलाई जानकारी दिने गरी किन विषय ल्याउन सकिरहेको छैन। भूमिसम्बन्धी विधेयकमा व्यक्तिले धेरै दर्ता गर्न नपाउने, हदबन्दी लाग्ने। कृषिसम्बन्धी कम्पनी खोल्ने त जति हजार रोपनी पनि दर्ता गर्न पाउनुपर्ने। अब यो नेकपाका के गर्छ भने आफ्ना कार्यकर्तालाई कृषि कम्पनी खोल्न लगाउने अनि जग्गा दिने। काम चाहिँ त्यहाँ कृषिको हुँदैन। प्लटिङको हुन्छ।

सम्बन्धित जिम्मेवारी पाउनुभएका साथीहरुले किन खोतलिरहनुभएको छैन? यसका नकारात्मक विषयमा किन ल्याउन सकिरहेको छैन। प्रभावकारी ढंगले काम गर्ने गरी अघि बढाउनुपर्छ।

यस विषयमा केन्द्रीय समितिमा पनि मैले कुरा राख्दै आएको छु। सम्बन्धित विभागको जिम्मेवारी प्राप्त गर्नुभएको साथीहरुले ती विषयलाई खोतल्ने कुरा मेरो विश्वास छ। देश र पार्टीलाई जानकारी दिने छ भन्ने मेरो विश्वास छ। गठन गरेर दायित्व पूरा गरेको मान्नु परेन। सूचनाहरु दिन सक्नुपर्छ। त्यसो भएमा मात्र प्रभावकारी हुन्छ जस्तो लाग्छ।

यही कारणले हो कि देशकै नेतृत्वसँग मात्र हैन नेताहरुप्रति पनि जनताको घृणा बढेको देखियो। अथवा, अन्य कारण छन्?

संविधान बनेपछि नयाँ सरकार आएपछि मानिसहरुको अपेक्षा अलि बढी थियो। अपेक्षाअनुसार अगाडि बढ्ने त धेरै परको कुरा भयो। १० प्रतिशत पनि पूरा भएन। डेलिभर भएमात्र राजनीति लोकप्रिय हुन्छ। भाषणमा क्रान्तिकारिमात्र देखिने कुराले जनता अब आश्वस्त हुन सक्दैनन्।

जनता बढी असन्तुष्ट त सत्तासँगै छ। नेकपासँगै छ। त्यो समूह कांग्रेससँग पनि अस्वस्त हुन सकिरहेको छैन भने कांग्रेसले पनि आफूलाई व्यवस्थित गर्न सकेन। आफूलाई खरो ढंगले प्रस्तुत गर्न सकेको छैन। कतिपय सन्दर्भमा टेस्टेड पार्टी पनि भनेको छ। प्रतिपक्षी पनि आफूले अपेक्षा गरेको सच्चिने ढंगबाट अगाडि नबढ्दा असन्तुष्टि बढ्छ। कांग्रेस विकल्पको रुपमा प्रस्तुत हुन सकेन भने व्यवस्था नै अलोकप्रिय भएर जान्छ।

व्यवस्थालाई बचाउन गणतन्त्रका कारण हैन भनेर जनतालाई बुझाउन कांग्रेस वैकल्पिक शक्तिका रुपमा आउन जरुरी छ। त्यो निराशा असन्तुष्टि कांग्रेसमा जोडिन आवश्यक छ। भरोसायुक्त नेतृत्व प्रदान गर्न कांग्रेसले दिन जरुरी छ। मेनस्ट्रिम पार्टी नेकपा र कांग्रेस हो। दुवैसँग असन्तुष्टि बढेमा व्यवस्थाप्रति नै असन्तुष्टि बढ्छ। यो व्यवस्थाका विरुद्ध लाग्ने मान्छे पनि नेपालमा छन्। उनीहरुले व्यवस्था गलत हो भनिरहेका छन्। यो मिथ्या कुरालाई प्रष्ट पार्न कांग्रेस जुझारु भएर आउनुपर्छ।

गुटउपगुट बनाएर भागबन्डा सुरक्षित गर्ने प्रवृत्ति त बढेको बढ्यै छ त पार्टीमा?

यसलाई सैद्धान्तिक पक्षसँग जोडिनुपर्छ। गुटविहीन राजनीति हुँदैन। गुट विचारसँग जोडिनुपर्छ। गुट विचारसँग निरपेक्ष हुँदा व्यक्तिलाई बलियो बनाउनतिर केन्द्रित हुन्छ। जुनकुरा नेपालमा एकदमै मौलाएको छ। कम्युनिस्टको त सिद्धान्त र व्यवहार उत्तर-दक्षिणतिर फर्केको छ। हामीले पनि एकअर्कालाई भेटिने सिद्धान्त र व्यवहारलाई समन्वय गर्न आवश्यक छ। कांग्रेस पार्टी विचारको जगमा उभिएको पार्टी हो।

निरन्तर रुपमा कांग्रेसमा निरन्तर रुपमा विचारको बहस हुन जरुरी छ। त्यसका लागि जति पनि गुट छन्, ती विचारको भिन्नतासँग जोडिएको हुनुपर्छ। कसैले समाजवादको बारेमा व्याख्या गर्‍यो, त्यो अर्को पार्टीको नेतालाई मन परेन भने समाजवादको कुरा राखेर गुट बनाउनुपर्छ। यसलाई सच्याएर विचारसँग जोडिने गरी गुट बनाउने गरी अघि बढ्नु जरुरी छ।

पछिल्लो केन्द्रीय समितिमा हिन्दु राष्ट्रको विषयले प्रवेश पायो। यसमा तपाईको राय कस्तो रह्यो?

धर्मको विषयमा त होली वाइन प्रकरण र सुर्खेतमा भएको गौहत्या काण्डले अलिकति राज्य र हिन्दुइज्म नै समाप्त गर्न खोजेको हो कि भन्ने देखिन्छ। कांग्रेस धार्मिक स्वतन्त्रतामै विश्वास गर्छ।

विषय टुंगो नलागेसम्म पुरानो विषय बदलिएको मानिँदैन। हाम्रो मौलिक धर्म हिन्दु धर्म, बौद्ध धर्म र किराँत धर्मलाई संरक्षण गर्दै धार्मिक स्वतन्त्रताका साथ अघि बढ्नुपर्छ। संविधानप्रदत्त अधिकारलाई हामीले छाडेका छैनौं।

कांग्रेस अहिले पनि बिपीकै मुद्दा देखाएर अघि बढिरहेको छ। यो कतिको सान्दर्भिक छ?

कांग्रेसले ठोस ढंगबाट एजेन्डाहरु दिन सकिरहेको छैन। हाम्रो प्राथमिकता बदल्न जरुरी छ। १५ सालमा बिपीले जे भन्नुभयो त्यही फ्रेममा त्यही कुरा गरेर आजको समाज आकर्षित हुँदैन। बिपीवादी हुनु भनेको परिवर्तनलाई आत्मसात गर्नु हो। बिपीको लोकतान्त्रिक समाजवादको जगमा उभिएर हामीले कन्टेन्टलाई फेर्नुपर्‍यो। समय सापेक्ष बनाउन सक्नुपर्‍यो।

स्पष्ट एजेन्डाका साथ अघि बढ्नुपर्‍यो। कतिपय कुरालाई हामीले स्पष्ट ढंगले ल्याउन सकिरहेको छैन। त्यो चुनौती छँदैछ। प्रष्ट ढंगले अघि बढाउन सके बिपी कोइरालाकै समयमा जस्तो धारिलो बनाएर समाजका मुद्दालाई जोड्न सक्यौं भने हुन्छ। इतिहासमा कांग्रेसले गरेका काम मिथ्या हैन। भएकै कुरा हो। यसले उत्साह ल्याउँछ। तर, त्यही सबै हो भनेर त्यसैको मात्र प्रचार हिँड्न भएन। इतिहासमा गर्व गर्दै भविष्यको पुस्तालाई हामीले त्यस्तै इतिहास दिने कोशिस गर्नुपर्छ। समयसापेक्ष एजेन्डा बनाएर हामी अघि बढ्नुपर्छ। सैद्धान्तिक र वैचारिक बहस हुनु जरुरी छ कांग्रेसमा।

कस्तो किसिमको वैचारिक बहस हुनु जरुरी छ कांग्रेसमा?

बिपी कोइरालाको समयमा समाजभन्दा १० कदम अगाडि थियो कांग्रेस। समाजले थाहै नपाएको मुद्दा बिपी कोइरालाले समाजलाई कांग्रेसको माध्यमबाट एजेन्डा बनाएर अगाडि बढेको थियो। त्यतिबेला दलितमाथि विभेद थियो। जनजाति मधेशी महिला राजनीतिको मेनस्ट्रममा थिएन।

बिपीले यसलाई बुझाउनुभयो। त्यति धारिलो पार्टी पछिल्लो पटक भुत्ते बन्दै आयो। यसलाई हामीले करेक्सन गर्न जरुरी छ। जनजाति, दलित र महिला लगायतका मुद्दा शुरुमा कांग्रेस जति धारिलो थियो पछिल्लो समय हुन सकेन। त्यसपछि त्यसको स्वामित्त्व अरुले लिए। धेरै क्रान्तिको नेतृत्व कांग्रेसले गर्‍यो। सैद्धान्तिक पक्षबाट कांग्रेस धारिलो हुन नसक्दा यस्तो भएको हो।

यो विषयलाई नउठाएर आन्तरिक विषयलाई उचालिरहेका छौं। आन्तरिक विषयलाई उठाएर झगडामात्र देखाइरहेका छौं। सबै कम्युनिस्टले बनाएको भन्ने हैन। तुलानात्मक ढंगले हामी अगाडि नै छौं। नराम्रो बीचको राम्रो हामी नै छौं। यस्तोमात्र भएर पुग्दैन। एकदम राम्रो हुनु आवश्यक छ। आफ्ना मञ्चहरुमा कार्यकर्तालाई विचारको बहसमा समावेश गराउने र तिखार्ने धारिलो बनाउने र स्पष्ट ढंगबाट अघि बढ्नु जरुरी छ।

यो हाम्रा लागि चुनौती हो। समाजवाद के हो? पुँजीवादसँग हाम्रो सम्बन्ध के हो? उत्पादनको स्रोत के हो हाम्रा सामाजिक मुद्दाहरु के के हुन्? अबको १० वर्षपछि हामीले गर्न खोजेको केहो हाम्रा समृद्धिका आधारहरु के के हुन्? आर्थिक वृद्धिदर हासिल गर्ने तरिका के हो? छिमेकीसँगको सम्बन्ध के हो यसमा स्पष्ट हुनु जरुरी छ।

अन्तर्घातीलाई कारबाही गर्ने चेतावनी नेतृत्वले दिइरहेको छ, उनीहरुका लागि न्यायोचित उपचार खोजिनुपर्ने हैन र?

अन्तर्घातीलाई कारबाही गर्नुपर्दैन भनेर कसैले भन्दैन। पहिचान गर्न गाह्रो छ। अन्तर्घातीलाई त कारबाही गर्नैपर्छ। पोलिसी लेभलमा बस्नेले विधान मुताबिक काम गरेन भने त्यसलाई के गर्ने? पोलिसीविरुद्ध काम गर्नेलाई पनि कारबाही गर्नुपर्‍यो नि।

पार्टीविरुद्ध पार्टीको विधानविरुद्ध पार्टीको वैधानिक व्यवस्था कार्यान्वयन नगर्ने त्यसभन्दा अलग ढंगले जाने जोकोहीलाई कारबाही गर्नुपर्छ। पहिले शुरुवात कसरी भयो? प्रश्न त जोसँग पनि उठेको छ नि। तलकाले माथिकालाई प्रश्न उठाउन पाउने कि नपाउने?

माथिकाले गल्ती गरे तलकाले गल्ती गर्‍यो भन्न पाउने कि नपाउने? गल्ती गरेकोलाई रियालाइज गर्ने कि नगर्ने? गल्तीको मापन गरेर दण्डित हुने कि नहुने। अन्तर्घातीलाई कारबाही हुनुहुँदैन भनेर त कसैले भन्दै भन्दैन।

जागरण अभियानतिरै फर्कौं, यो महाधिवेशन धकेल्न प्रयोग गरेको अस्त्रजस्तो लाग्दैन तपाईंलाई?

अधिवेशन त एक वर्ष धकेलिसक्यो। अधिवेशन धकेलेर झन् टाढा पुगे पनि अधिवेशन लागेजस्तो भएको छ। हरेक मञ्ज अधिवेशनमुखी भएजस्तो लाग्छ। हरेक अभियान अधिवेशनमुखी भएजस्तो लाग्छ। यो स्वभाविक हो। तर, के हो भने सबै कुरालाई अधिवेशनमुखी बनाउँदा नै अन्तरविरोध बढेको जस्तो देखिन्छ। अधिवेशनमा प्रतिस्पर्धा गर्न एजेन्डा ल्याउन पर्‍यो नि।

यस्तो मञ्चलाई अधिवेशनमा चुनाव जित्ने टुल्सका रुपमा प्रयोग नगरौं। चुनाव जित्ने विषय त एजेन्डा हो। समाजवाद के हो, लोकतन्त्र समाजवाद के हो, रिसोर्स के हो? युवा जनशक्तिको शक्ति चिन्नुपर्छ। त्यसलाई देश निर्माणका लागि कसरी प्रयोग गर्ने यो मेन एजेन्डा हुन सक्छ।

कसैले चाहेर पनि सगरमाथा बनाउन सकिँदैन। बनिबनाउ सगरमाथा हामीले प्राप्त गरेका छौं। यसलाई प्रचार गरेर दुनियाँको सगरमाथा हेर्ने चाहना किन बनाउन सक्दैनौं। नेपाल सुन्दर छ भन्ने सबैलाई थाहा छ। तर यहाँ व्यवस्था ठीक छैन। यहाँ गए ठगिन्छ भन्ने म्यासेजलाई हामीले चिर्नुपर्छ। सगरमाथा बनाउन कसैले सक्दैन।

तपाईँलाई कतिको लाग्दैछ त महाधिवेशन?

अब यो पदमा उठ्छु, साथीहरुले समर्थन गर्नुस्। भोट माग्न भेट्न आएको छु भनेर भोट प्राप्त हुँदैन। चुनौतीहरु यी यी हुन्, समाधान यसरी हुन्छ। अबका दिनमा कांग्रेसले युवालाई यसरी इन्स्पायर गर्छु। यसरी समेट्छ समाजका मुद्दालाई यसरी हेर्छ कांग्रेसले। कांग्रेसभित्र आम साथीहरुमा आशाको सञ्चार यसरी गराउँछ। अब आउने निर्वाचनमा यसरी जित्छ।

अब आउने निर्वाचन कांग्रेसले यसरी जित्छ, नेकपालाई उछिन्ने गरी यसरी अगाडि बढ्छौं। अब आउने निर्वाचन जित्ने फेहरिस्त जसले प्रस्तुत गर्न सक्छ, उही नेतृत्वमा आउँछ। सबै कुरा झल्कने गरी मेरो प्रस्तुति देख्यो भने साथीहरुले विश्वास गर्छन्।

जसले अबको निर्वाचन जिताउने गरी रणनीति ल्याउन सक्छ, मुद्दा ल्याउन सक्छ। त्यो अबको हाम्रो नेता हुन्छ।

भनेपछि यही नेतृत्व पनि निरन्तर हुन सकिने सम्भावना पनि देखियो नि?

होइन, सामान्य मौखिक वाचा गरेर हुँदैन। अहिलेको नेतृत्वलाई कार्यन्वयन गर्ने अवसर छ। देशभर डुलेर यो गर्छु, त्यो गर्छु भनेर हुँदैन। काठमाडौंको सानेपामा बसेर त्यो समयभित्र पार्टीलाई चेन्ज गर्ने गरी पोलिसी बनाए त्यसै पत्याउँछ। केन्द्रीय कार्यालयमा कुनै छलफल नहुने। नयाँ कुरा केही नआउने। अनि पार्टीको नेतृत्व देशभर पार्टीका कार्यकर्तालाई भेटेर आश्वास्त गरेर हुन्छ त?

अहिलेको नेतृत्वलाई अहिले नै परिवर्तन हुने अवसर छ। नत्र भने नयाँ नेतृत्वलाई एजेन्डा प्रस्तुत गरेर रिप्लेस् गर्ने अवसर छ।

यसको मतलब नयाँ नेतृत्व आउनुपर्छ भन्न खोज्नुभएको?

चेहरा बदल्ने मुख्य कुरा हैन। कार्याशैली बदलिनुपर्छ। प्रवृत्ति बदलिनुपर्छ। दृष्टिकोण बदलिनुपर्छ। प्राथमिकता बदलिनुपर्छ। प्रष्ट भएर आउन सक्नुपर्‍यो। सबै कुरा समेटेर वैचारिक रुपमा बुलन्दता जसले दिन सक्छ। अबको नेतृत्व गर्न सक्ने परिस्थिति उसको बन्न सक्छ।

तपाईंको दाबेदारी केमा रहन्छ, यतातिर पनि कुरा गरौ न?

महाधिवेशनमा अपग्रेड हुने इच्छा त भइ नै हाल्छ। मेरो इच्छाले मात्र हुने हैन। मैले आफ्नो दाबीलाई स्वभाविक बनाउनका निम्ति मैले तरंगित गर्ने गरी विषय दिन सक्नुपर्‍यो।

जनतालाई आश्वास्त गर्ने गरी अबको रणनीति प्रस्तुत गर्न सक्ने, जनतालाई युवालाई आकर्षित गर्न सक्नुपर्‍यो। ४० वर्षभन्दामाथिका मतदाता यथावत हुनुहुन्छ। १८ देखि ४० वर्षसम्मकालाई तरंगित बनाउन सक्ने दृष्टिकोण आउन सक्नुपर्छ।

मेरो मुख्य भूमिका त्यसैमा केन्द्रित छ। त्यसले मात्रै मलाई नयाँ भूमिकामा लैजान सक्छ। नयाँ जिम्मेवारी पूरा गर्न सक्ने ल्याकत दिन सकेमात्र म आफूलाई अपग्रेड गर्न सक्छु। त्यसको लागि प्रयास गरिरहेको छु।

पदाधिकारीमा युवा देख्न चाहिरहेका छन् कार्यकर्ताले। त्यो चाहना पूरा हुन्छ त्यसो भए?

नयाँ मतदाता धेरै आउनुहुन्छ आउँदो महाधिवेशनमा। नयाँ मतदाता युवा बढी आउनुहुन्छ। सीमित संख्यामा पुराना तर पार्टीमा धेरै योगदान गर्नु भएका अग्रज आउनुभए पनि धेरै त युवा नै आउनुहुन्छ। युवाका सेन्टिमेन्टसँग जोडिन सक्नुपर्छ। पुरानाहरुले माया गर्ने अवस्था छँदैछ। आफूलाई उचाइमा लान सकिन्छ कि? नयाँहरुको विश्चास चाहिँ चुनौती कतिको सामना गर्न सक्छ भन्ने देखिएमा आफू कतिको खरो रुपमा प्रस्तुत हुन सक्छु। त्यसमा भर पर्छ।

तपाईं खरो रुपमा प्रस्तुत हुने तयारीमै हुनुहुन्छ होला नि?

त्यो स्वाभाविक हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell