PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

डाक्टर बाबुराम भट्टराईको प्रश्न : किन बनाउँछ चीनले नेपालमा रेल?



पहिलोपोस्ट

डाक्टर बाबुराम भट्टराईको प्रश्न : किन बनाउँछ चीनले नेपालमा रेल?
फाइल फोटो

काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले निजी क्षेत्रले ऊर्जा बाहेकका पूर्वाधार क्षेत्रमा लगानी गर्न नसक्ने बताएका छन्। उनले सडक, शहरी पूर्वाधार लगायतमा नेपालको निजी क्षेत्रको लगानी क्षमता नै नपुग्ने दावी गरेका हुन्।

राजधानीमा आजबाट सुरु भएको पूर्वाधार सम्मेलनमा बोल्दै उनले विश्वमा चौथो चरणको औद्योगिक क्रान्ति सुरु भइसक्दा पनि नेपालमा पहिलो चरणको क्रान्तिसमेत नभएको बताए।

भट्टराईले अहिले पनि जिडिपीको २८ प्रतिशत निर्वाह कृषिमा निर्भर रहेको बताउँदै पूर्वाधार क्षेत्रमा सरकारले नै लगानी गर्नुपर्ने बताए। उनले काठमाडौं-तराई/मधेस द्रुतमार्ग र बाराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भने लगानीका लागि पहल गर्न निजी क्षेत्रलाई आग्रह गरे।

'त्यो अलिकति निजी क्षेत्रलाई हुने खालको परियोजना छ,' उनले भने, 'त्यो पनि हामीले सेनालाई जिम्मा दियौं। जबकि सेनाले ट्र्याक मात्र खोल्न सक्छ। उसको क्षमता निर्माणका लागि पुग्दैन।'

भट्टराईले भारत र चीनको बीचमा भर्‍याङजस्तो भएर नेपाल ठडिएकाले हामीले पहिलो प्राथमिकता सडकलाई दिनु पर्ने बताए। उनले ७५३ वटै स्थानीय तहलाई सडकले जोड्नु पर्ने बताए।

साथै कोशी, गण्डकी र कर्णाली करिडोरबाट भारत र चीनलाई जोड्ने सडक बनाउन पनि सुझाब दिए। उनले काठमाडौंले अब जनसंख्या नधान्ने भन्दै काठमाडौं र मधेशलाई जोड्न सुझाब दिए।

उनले सडकमा उद्यमीले लगानि गर्नै नहुने ठोकुवा समेत गरे।

'तपाईको धर्म मुनाफा कमाउने हो। बस्तु र सेवा उत्पादन गरेर रोजगारी सृजना गराउने,' उनले भने, 'प्रारम्भीक चरणमा पूर्वाधारमा राज्यले नै यसमा लगानी गर्नु पर्छ।'

उनले रेल र पानीजहाज हावा गफ भएको पनि संकेत गरे।

'रेल चीनबाट आउनु पर्छ भन्छौं तर उनीहरुले किन बनाउँछन् र? हिजोको दिन फरक थियो। हिजो सामरिक हिसाबले महत्व थियो सडक बनाइदिएका हुन्। आज पनि हामी त्यही कुरा सोच्छौं। त्यही सोचेर पानीजहाज र रेलको टिकट काउन्टर खोल्छौं भन्दिनु भयो। अब हामीलाई उनीहरुले दिने छैन। भिक्षा कति दिँदा रैछन् हिजो अस्ति देखिइहाल्यो,' उनले भने।

निजी क्षेत्रले पूर्वाधारभित्रको जलविद्युमा लगानी गर्न सक्ने बताए।

उनले निर्यतमूलक ब्यापार हुने भएकाले उर्जामा लगानी गर्न आग्रहसमेत गरे।

'तर दूर्भाग्य उपयुक्त नीति छैन र निजी क्षेत्रको पनि क्षमता नभएर त्यतातिर काम भइरहेको छैन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell