PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपालमा पूर्वाधारमा लगानी बढाएको एडिबीका महानिर्देशक वूचोङको भनाइ, प्रविधिमा लगानी गर्न आग्रह



पहिलोपोस्ट

नेपालमा पूर्वाधारमा लगानी बढाएको एडिबीका महानिर्देशक वूचोङको भनाइ, प्रविधिमा लगानी गर्न आग्रह

काठमाडौं : एसियाली विकास बैंकका महानिर्देशक वूचोङ उमले तापमान वृद्धि र जलवायु परिवर्तनलाई दृष्टिगत गरी रेसिलिएन्ट पूर्वाधार निर्माण गर्नुपर्ने बताएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा उनले नेपालमा एडिबीले पूर्वाधारका क्षेत्रमा लगानी बढाउँदै लगेको जानकारी समेत दिए।

उनले संयुक्त राष्ट्र संघले अघि सारेको दिगो विकास लक्ष्यसँग नेपाल सरकारले घोषणा गरेको समृद्धि लक्ष्यलाई आबद्ध गराउन समुदायमा आधारित पूर्वाधार विकास गर्नुपर्ने पनि बताए। उनले ज्ञान, सीप, रकम र प्रविधिमा लगानी गर्न सरकार र निजी क्षेत्र दुवैले सामूहिक प्रयास गर्नसक्ने बताए। नयाँ प्रविधि विकास, उत्पादन र उपयोग गर्नुका साथै यातायात पूर्वाधार र शैक्षिक क्षेत्रमा समेत लगानी बढाउन उनले सरकारसँग आग्रह गरे।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले पछिल्लो समय नेपालले श्रम ऐनदेखि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन लगायत धेरै कानुन संशोधन गरेर लगानीको वातावरण सुधार्न प्रयास गरेको बताए।

डुइङ बिजिनेशलाई सुधार गर्न नीतिगत र प्रक्रियागत सुधारमा लागिएको बताउँदै उनले भारत, चीन, अमेरिका, नर्वेजस्ता मुलुकका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको र अरु मुलुकका लगानीकर्ता पनि निरन्तर परियोजनाबारे छलफलमा आइरहेको जानकारी दिए।

कार्यक्रममा सीएनआईका उपाध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्व राजस्व सचिव लालशंकर घिमिरे, रकभिल्ड टेक्नोलजी अस्ट्रेलियाका सिइओ गोविन्द पाण्डे, एडिबीका पूर्व उपाध्यक्ष डा विन्दु लोहनी लगायतले पछिल्लो समय नेपालमा लगानीको वातावरण सुधार भइरहेको बताएका थिए।

उनीहरुले लगानीका नयाँ विकल्पहरुको बारेमा छलफल बढ्दै गएको समेत बताए। उनीहरुले भारत लगायत मुलुकले अघि सारेका सार्वजनिक निजी साझेदारीका समस्याहरुबाट सिकेर अघि बढ्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell