PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एटिआरका ठूला जहाज थप्दै निजी वायुसेवा कम्पनी



वसन्तराज उप्रेती

एटिआरका ठूला जहाज थप्दै निजी वायुसेवा कम्पनी

काठमाडौं : नेपालका तीन निजी वायुसेवा कम्पनीले ७० सिट क्षमताका एटिआर-७२ जहाज संचालनमा ल्याउने भएका छन्।

नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हाल संचालनमा रहेका सिम्रीक एयरलाइन्स, सौर्य एयरलाइन्स र सीता एयरले आगामी एक वर्ष भित्रै एटिआर-७२ जहाज संचालनमा ल्याउन गृहकार्य सुरु गरिसकेको छ।

नेपालमै पहिलोपटक जेट इन्जिन जहाजमार्फत उडान सुरु गरेको सौर्य एयरलाइन्सले एक वर्षभित्र तीनवटा एटिआर-७२ थप्ने योजना बनाएको छ। हाल दुईमध्ये एउटा ५० सिट क्षमतायुक्त सिआरजे-२००मार्फत चार्टर उर्डान गर्दै आएको कम्पनीले क्षमता विस्तारका लागि तीन वटा एटिआर थप्ने योजना बनाएको कम्पनीका उपमहाप्रवन्धक उमेश आचार्यले जानकारी दिए।

उनका अनुसार नयाँ फ्लिटमा प्रवेश गर्नुअघि कम्पनीले नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रारम्भिक प्रक्रिया सरु गरिसकेको छ।

कम्पनीले एटिआर संचालनमा ल्याइसकेपछि भइरहेको दुईवटा जेट इन्जिन जहाज मार्फत पोखरा, भैरहवालगायत विभिन्न पर्यटकीय गन्तव्यमा उडान गर्ने योजना रहेको उनले बताए।

उनका अनुसार कम्पनीले निकट भविष्यमा एटिआर मार्फत धनगढी, नेपालगञ्ज, सिमरा, भरतपुर लगायत गन्तब्यमा उडान गर्ने योजना बनाएको छ।

यसैगरी सिम्रीक एयरलाइन्सले हाल दुईवटा १८ सिट क्षमतायुक्त विचक्राफ्ट-१९०० संचालन गर्दै आएको छ। उसले एक वर्षको अन्तरालमा एटिआर-७२ जहाज ल्याउने योजना बनाएको हो।

कम्पनीले एटिआर जहाज ल्याउनका लागि हाल आन्तरिक गृहकार्य सुरु गरिसकेको कम्पनीका प्रवक्ता प्रज्वल थापाले जानकारी दिए।

उनले भने, 'अहिले हामी एटिआर जहाज ल्याउनका लागि गृहकार्य गरिरहेका छौँ। बजारको मागलाई मध्यनजर गर्दै ठूला जहाज ल्याउनैपर्ने देखिएपछि हामीले यो गृहकार्य सुरु गरेका हौँ।'

कम्पनीले आउँदो वैशाखमा दुईवटा र त्यसको केही महिनामै अर्को एटिआर जहाज ल्याउने योजना बनाएको थापाले जानकारी दिए। कम्पनीले अक्टोबरमा दुईवटा एटिआर ७२ ल्याउने योजना बनाएको भएपनि कारणवश ढिला भएको उनले बताए।

कम्पनीले एटिआर जहाज आइसकेपछि विराटनगर, भद्रपुर, नेपालगञ्ज र भैरहवा उडान गर्ने योजना बनाएको छ भने हाल भइरहेका दुईवटा विचक्राफ्टमार्फत माउन्टेन फ्लाइट, सिमरा, तुम्लिङटार लगायत गन्तब्यमा उडान गर्ने योजना बनाएको उनले बताए।

कम्पनीको आन्तरिक गृहकार्य सकिएलगत्तै जहाज थपको अनुमतिपत्र लिने प्रक्रियामा जाने योजना रहेको उनले जानकारी दिए।  

यसैगरी हाल चारवटा १९ सिट क्षमतायुक्त डोर्नियर जहाज उडान गर्दै आएको सीता एयरलाइन्सले पनि एक वर्षभित्र चारवटा एटिआर-७२ ल्याउने योजना बनाएको छ। 

कम्पनीले चारवटा एटिआर-७२ जहाज ल्याउनका लागि एक महिना अघि अनुमति पाइसकेको नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उच्च पदाधिकरीले जानकारी दिए। 

उनले भने, 'हामीले कम्पनीलाई एक महिना अगाडि नयाँ प्रकारको जहाज थप अनुमतिपत्र दिइसकेका छौँ। हामीले उहाँहरुलाई एक वर्षको अवधिमा चारैवटा जहाज ल्याउने सम्झौता अनुसार अनुमति दिएका हौं। हाल कम्पनीले जहाज ल्याउनका लागि गृहकार्य सुरु गरिसकेको जानकारी आएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell