PahiloPost

Oct 24, 2019 | ७ कात्तिक २०७६


सभापतिको आसनमा बसेपछि गुटको टोपी फाल्नुपर्छ : गगन थापा



पहिलोपोस्ट

सभापतिको आसनमा बसेपछि गुटको टोपी फाल्नुपर्छ : गगन थापा

नेपाली कांग्रेस अहिले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा छ। निर्वाचनमा नराम्ररी हारेको कांग्रेसलाई यो जागरणले तंग्रिने मौका प्रदान गर्ने विश्वास लिइएको छ। उसो त देश संघीयतामा गएको झन्डै दुई वर्षपछि कांग्रेसले प्रदेशको अभ्यासलाई बल्ल अंगीकार गरेको यो अभियानले देखाउँछ। तेस्रो चरणको अभियानसम्ममा कांग्रेसले आफूलाई महाधिवेशनको लागि तयार पार्ने देखिएको छ। तर, पनि स्थानीय तहका संरचना बनिसकेका छैनन्। प्रदेशमा कांग्रेसको उपस्थिति कमजोर छ। यिनै सन्दर्भमा कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य गगन थापासँग नेत्र तामाङले गरेको कुराकानीः-

 

कांग्रेसले बल्ल प्रदेश सभा क्षेत्रस्तरमा जागरण अभियान लगेको छ, यसले पार्टीलाई नेता कार्यकर्तालाई कतिको जागरुक बनाउला?

यो जागरण अभियान एकदमै महत्त्वपूर्ण देखिएको छ। नेपाली कांग्रेस पार्टीभित्र अहिले दुइटा मोर्चालाई बलियो बनाउनुपर्ने आवश्यकता छ। पहिलो संसदीय मोर्चा र दोस्रो पार्टीको मोर्चा। यी दुवैलाई थप मजबुत पार्नुपर्ने अहिलेको आवश्यकता हो।

प्रदेशको संसदलाई पनि थुप्रै विषयमा प्रभावकारी बनाउनुपर्छ। पार्टीको मोर्चामा सन्दर्भमा हाम्रो संरचना नै थिएन। देश संघीयतामा गइसकेपछि पनि हामी पुरानै संरचनामा थियौँ। देश निर्वाचनमा गएलगत्तै हामी संरचनामा जानुपर्थ्यो। त्यसो गरेको भए काम गर्ने प्रशस्त समय हुने थियो। तर पार्टीले त्यसो गरेन। ढिलै भए पनि हामीले संरचनाको काम सकेका छ।

दोस्रो चरणको जागरण अभियान यसकारणले पनि महत्त्वपूर्ण छ कि हामी पहिलोपटक संघीयताको अभ्यास गर्ने क्रममा बनेको संरचनामा अभ्यास गर्दैछौँ। प्रदेश क र प्रदेश ख भनेर। संघीयताको संरचनापछि देशैभरि भएको यो पहिलो कार्यक्रम हो। त्यो भूगोलको कन्सेप्टमा कांग्रेसको कार्यक्रम भएकै थिएन।

३३० प्रदेशमा जागरण कार्यक्रमले धेरै राम्रो भएको छ। प्रदेश क को साथी क मै बस्नुभयो। ख को ख मै बस्नुभयो। चुनाव लडियो। तर प्रादेशिक काम भने पहिलोपटक भयो। महसुस भयो। आ-आफ्नो भूगोलमा खटिएका छन् साथीहरू। मलाई पनि एकदम रमाइलो र उत्साह जाग्यो। प्रादेशिक क्षेत्रमा राम्रो भएको छ। यो महत्त्वपूर्ण कार्यक्रम हो।

तर, सात प्रदेशमा त कांग्रेसको संरचना नै छैन, यसरी कसरी प्रभावकारी होला?

प्रदेशको पार्टी संरचना त बाँकी नै छ। सात प्रदेशको कांग्रेस तत्काल बनाउनुपर्छ। जस्तो प्रदेश २ को संसदमा हाम्रा संसदीय दलका साथीहरूले सत्तारुढ दलले ठूलो कमिसनको खेल गरे भनेर निरन्तर सदनमा आवाज उठाउनहुँदो रहेछ। तर त्यो केन्द्रीय पार्टीलाई थाहै छैन। केन्द्रले त यहाँको संघको संसद्को मात्र थाहा हुन्छ। प्राथमिकतामा नपर्ने रहेछ। नेपाली कांग्रेस प्रदेश २ भएको भए पो यो प्राथमिकतामा पर्थ्यो नि।

यसले गर्दा प्रदेशमा संरचना चाहियो। त्यसैले तत्काल सातवटै प्रदेशमा तुरुन्तै कांग्रेस चाहिन्छ।

संरचना बन्न किन ढिलाइ भइरहेको छ?

१३औँ महाधिवेशन सकिएको र १४ औँ महाधिवेशन सम्पन्न गर्न बाँकी भएकोले हामी बीचमा छौँ। समयमै गरौँ भनेर भन्ने हो। बाध्य पार्न त सकिँदैन।

महाधिवेशन अर्को सालको फागुनमा हुने हो। गाउँपालिका नगरपालिका त अब एक वर्षको समय रह्यो। एक वर्षपछि नयाँ कमिटी आउँछ। एक वर्षको समय काम गर्छ अहिलेको संरचनाले। नबनाएको भए एक वर्ष त कमिटीहीन अवस्था थियो। त्यो बेलामा बनाएको भए यो कमिटीले साढे दुई वर्ष काम गर्न पाउँथ्यो। डेढ वर्ष त खेर गयो। अब यसमा पनि चित्त बुझाउनुपर्ने हुन्छ।

यति हुँदा पनि सातवटा प्रदेशको कांग्रेस अझै बनेन। गाह्रो छैन यो संरचना बनाउन। बरु आन्तरिक संरचना बन्न गाह्रो थियो। यो त खासै गाह्रो छैन नि। विधानमा स्पष्ट छ। जुन प्रदेशको महाधिवेशन प्रतिनिधि हो त्यसको मतदाता त्यही हो। अलमल नगरी सरासर चुनाव गरौँ मैले भनिसकेको छु। सरासर चुनाव भएर नेतृत्व चयन गरे भइहाल्छ।

नेतृत्वकै कारण त हो नि यसरी ढिला भइरहेको?

निर्वाचनअघि यो सम्भव थिएन। सातवटा प्रदेश बनाउनुपर्थ्यो। यसमा हामी चुक्यौँ। पार्टीको कमजोरी भएकै हो। निर्वाचनको लगत्तै त बनाउनुपर्थ्यो। त्योबेलामा हाम्रो कमजोरी भएको हो।

हामीले विषय उठाएकै हो। जति महत्त्व पाउनुपर्ने हो नेतृत्व पंक्तिले महत्त्व बुझेन। सबैभन्दा पहिलो संरचना नै छैन। तीनै जना मान्छे एउटै क्षेत्रमा पर्नुभएको छ। तीनैजना क्षेत्रीय सभापति। क्षेत्र छैन। नगरपालिका र गाउँपालिकाको संरचना अस्तव्यस्त छ।

महाधिवेशन अर्को सालको फागुनमा हुन्छ भन्नुभयो, भ्रातृ संस्थाको किचलो अझै कायमै छ, होला महाधिवेशन?

नेविसंघको निर्वाचनबाट नेतृत्व ल्यायौँ। तरुण दल समझदारीमा मिलेर आयो। सबै कुराको अनुभव एक ठाउँमा राख्दा हाम्रो सबै भ्रातृ संस्था अस्तव्यस्त छ। निर्वाचन गर्ने निर्वाचन हुने सबै विषय हैन। पार्टी र भ्रातृ संस्थाको सम्बन्धको आधारभूत विषय हल नगरीकन यस्तै रहने भयो।

जुन उद्देश्यका लागि बनाएको हो त्यो उद्देश्यतिर लगाउने भन्दा पनि पार्टीभित्रको आफ्नो समूहको आफ्नो प्रभुत्व जोगाउनका निमित्त त्यसलाई कब्जा गर्ने हाम्रो नियत रह्यो। जुन बाटोबाट गए पनि। हामी सबै दोषी छौ। पार्टी सभापतिमात्र हैन।

युवापंक्ति नेतृत्वको जाममा पार्नुको कारण यही हो?

पक्कै पनि। जसले गर्दा यस्तो अस्तव्यस्त भयो। प्रभावहीन भयो। भ्रातृ संस्थाको थुप्रै काममध्ये नेपाली कांग्रेसजस्तो ठूलो पार्टीमा यसले नयाँ नेतृत्वको पंक्ति निर्माण गर्ने काम गर्छ। तर अस्तव्यस्त भयो। जम्यो। युथहरूको समूह रोकियो। यस विषयमा मैले केन्द्रीय सदस्यमा पनि कुरा उठाएँ। अहिले करिबकरिब म सबैभन्दा कान्छो केन्द्रीय सदस्य हो। अघिल्लो पटक पनि त्यस्तै। यस्तै पारा रह्यो भने अर्को केन्द्रीय समितिमा पनि मै कान्छो केन्द्रीय सदस्य पो हुन्छु कि।

यसले युथहरूको ठूलो समूह पार्टीको लिडरसिपमा आउन रोकिएको छ।

उमेरको मात्र नहेरौँ समुदायको पनि हेरौँ। कुनै बेला नेपालमा तामाङ समुदायको ठूलो कांग्रेस नेता को भन्दा भीमबहादुर तामाङको नाम आउँथ्यो। लिम्बूको भूविक्रम नेम्वाङ, राईमा बलबहादुर राई, मुस्लिमको शेख इदरिस। कुनै पनि समुदायको व्यक्तिले मेरो समुदायको व्यक्तित्वको हिसाबले प्रभावशाली राजनीतिक व्यक्तित्व कोसँग छ भन्दा कांग्रेसमा छ भन्ने महसुस गर्नुपर्‍यो।

पहिलो जेनेरेसनले नेताहरूले त्यो सुझबुझ गरेको देखियो। अहिले मेरो जेनेरेसनमा हेर्छु हामी लिडरसिपमा जान खोजिरहेका छौँ। तर हामीमात्र गएर भएन नि। हाम्रो पुस्तामा राई को, गुरुङ को, लिम्बु को, तामाङ को, मुसलमान को, चौधरी को त्यो त देखिनुपर्‍यो नि। हाम्रो पुस्ताले त्यो खोज्नुपर्‍यो। त्यो त स्वाभाविक रूपमा देखिनुपर्‍यो। भ्रातृ संस्थामा शुभेच्छुक संस्थामा कब्जा गर्दै गर्दा पनि।

समुदायलाई नेतृत्वमा ल्याउन कसरी सकिन्छ?

यो समुदायको नेतृत्व विकास गर्ने कुरा चाहिँ स्वाभाविक बाटोबाट नआउने रहेछ। नेताहरूले यसमा विवेक पुर्‍याएर अलिकति अतिरिक्त कदम चाल्नुपर्छ।

पार्टीको बैठक बस्दै गर्दा आफ्नो अनुहार त देखिनुपर्छ। हाम्रो पार्टीमा राई पनि छ, लिम्बू पनि छ, मगर पनि छ, शेर्पा पनि छ भनेर विज्ञापन गर्ने होइन। सबैले छ भन्ने फिल होस्। आफ्नो जस्तो लागोस्। महिलाले हेर्दा आफ्नो जस्तो लागोस्। दलितले आफ्नो जस्तो लागोस्। राष्ट्रिय पार्टी बनाउने सन्दर्भमा कहाँ छ कांग्रेस। नेपाली कांग्रेसमा नयाँ मान्छे कतिको आउँदैछ। समुदायको मान्छे कतिको ल्याउँदैछौँ।

यो काँग्रेसको कसले सोच्ने त। मेरो बिचारमा त, त शेरबहादुर देउवाले सोच्नुपर्‍यो। रामचन्द्र पौडेलले सोच्नुपर्‍यो। मैले नि सोच्नुपर्‍यो। त्यसरी सोच्यो भने भ्रातृ संस्था कब्जा गर्ने ठाउँसम्म पुग्दैन।

नेतृत्वले छेकेर पो हो कि आउन नसकेको?

महाधिवेशन भइरहेको भए, यस्तो हुन्थेन। प्रशिक्षण लिएर आफ्नो बाटो रोज्थे। बाटो बनिरहन्थ्यो। कतिको १२ वर्ष भयो नभएको। कसैको ७ वर्ष। कसैकै ८ वर्ष भयो। भयो भने पनि एउटाको हुँदा अर्कोको रोकिरहेको छौँ। नेविसंघमा त्यस्तै छ।

समुदायको नेतृत्वमा आरक्षणका कुरा पनि छन्, यसले न्यायोचित सहभागिता होला र?

कतिपय ठाउँमा उठाउनु पनि पर्ने रहेछ। कतिपय ठाउँमा धकेल्नुपर्ने रहेछ। वीपीको पालामा कोही आरक्षण भनेर ल्याएको हैन। राष्ट्रिय पार्टी हुनका लागि देशभरका समुदाय आट्नुपर्‍यो।

सहभागिता र नेतृत्व फरक कुरा हुन्। आरक्षणमा न्यायपूर्ण सहभागिताको कुरा सम्बोधन हुन्छ। यसपाली विधानमा थप संशोधन गरेर क्लस्टर बनाएर सात जना महामन्त्री बनाउने भएको छ। न्यायपूर्ण सहभागिता नेतृत्वको कुरा गरेको। विभिन्न समुदायको नेतृत्व हुनैपर्छ। भीमबहादुर तामाङ, बलबहादुर राई हुनुहुन्थ्यो। त्यतिबेलाको नेतृत्व त हामीले सरर सम्झिन्छ नि। यी सबै नेताहरू कसरी आए त। त्यो बेलाको लिडरसिपले त्यसरी सोचेछ त।

राष्ट्रिय पार्टी हुन सदस्यताको संख्याले मात्र हुँदैन। निर्वाचनमा कति मत ल्याए भनेरमात्र नि हुन्न। यो नेतृत्वको पङ्ति हेर्दै गर्दा न्यायपूर्ण सहभागिता हिसाबले पनि राष्ट्रिय चरित्र बोक्नुपर्छ। नेतृत्वको पङ्तिले हेर्दै गर्दा पनि राष्ट्रिय चरित्र त बोक्नुपर्ने रहेछ। हामी त्यो कुरामा चुकिरहेका छौँ।

तपाईँले आफ्नै जेनेरेसनको समुदायका साथीहरू खोज्नुभएको होला नि?

समाकालीन साथीहरू एकसे एक हुनुहुन्छ। तर, हामीसँगै काम गरेका साथीहरू बल्ल गाउँपालिका नगरपालिकामा आउनुभएको छ। विभिन्न स्थानमा ब्लक भए पनि उहाँहरू स्थानीय सरकारमा निर्वाचित हुनुभएको छ। एउटा फोरम पाएको छ। यो पनि योजनाबद्ध तरिकाले त आएको हैन। तर, एक किसिमको राहत यसले दिएको छ।

जागरण कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षण दिँदा शीर्ष नेताबीच आरोपप्रत्यारोप हुने काम रोकिएन, यसलाई कसरी रोक्न सकिएला?

पार्टी सञ्चालनमा आएका समस्या एकै रातमा आएका समस्या हैनन्। वर्षौँदेखि थुप्रेर यहाँसम्म आइपुगेको हो। पार्टीको अन्तरपार्टीको लोकतान्त्रिक अभ्यास गर्दा पहिले सीमित थियो। अहिले बढाउँदै गएको छ। अन्तरपार्टीको अभ्यासमा निर्वाचन हुन्छ। निर्वाचन भएको ठाउँमा समूह बन्छ। लाइक डिसलाइक हुन्छ। जय पराजय हुन्छ। त्यसमा दुइटा कुरा हुन्छ। पहिलो निर्वाचित हुनका लागि उसले विभिन्न समूह बनाउँछ। विभिन्न एसोसिएसन बन्छ। जिताउनका लागि निर्वाचित भएर जो आउँछ। सबभन्दा मुख्य भनेको सभापति।

सभापतिको आसनमा बसेपछि उसले गुटको टोपी फालिहाल्नुपर्छ। उसले गुटलाई भन्नुपर्छ धन्यवाद। तपाईँहरूको माया प्रेम स्नेहले यो जिम्मेवारी पाएँ। आजदेखि म सिङ्गो पार्टीको सभापति। अरू पदाधिकारी जिम्मेवारी पनि त्यही हो। हामीले यो संस्कारको विकास गर्न सकेनौँ।

हामी अड्किएर कहाँ बस्यौँ भने निर्वाचनको समयमा बनेको समूहमा हामी जकडिएर बस्यौँ। यसले पार्टीको लिडर सबैको लिडर भएन।

दोस्रो आन्दोलनको बेलामा सङ्घर्षको विधिको शासनको कुरा गौण हुन्छ। नियमित र सामान्य अवस्थामा विधिको शासनलाई गौण बनाइयो भने त्यसले ठूलो संगठन चलाउँदा समस्या हुन्छ। नेपाली कांग्रेसजस्तो पार्टीमा यस्तो भएको देख्छु। रुल अफ ल भन्ने हुन्छ। राज्य सञ्चालनमा संविधान र कानुन भनेजस्तै विधानको सर्वोपरिता हुनुपर्छ। भएन भने समस्या हुन्छ। प्रत्येक समस्या विधानको पालनासँग जोडिएको हुन्छ।

विधानको पालनालाई लक्जरी बनाएको छ। नेताहरुबीच कुरा मिल्यो भने विधान बर्सिदिन्छ। शेरबहादुर देउवा र रामचन्द्र पौडेललगायतका नेताहरुबीच कुरा मिल्यो भने सकियो। विधानको सरोकारै हुन्न। मुख्य कुरो राजनीतिक पार्टो हो। नेता मिले भइहल्यो भन्ने संस्कृति बन्यो। यो समस्याको ठूलो जड हो।

हाम्रो बीचमा माया पर्‍यो भनेर नेताहरूले भन्यो भने कार्यकर्ता उत्साहित हुन्छ। नेताहरुबीच घोचपेच भयो भने झगडा पर्‍यो बर्बाद भयो भने पीर पर्छ। पार्टीभित्रको वैयक्तिक सम्बन्ध हुन्छ। कहिले घोचपेच हुन्छ। कहिले मेल। पार्टी सञ्चालनको आधार नै सम्बन्ध भएपछि देउवा र पौडेलबीच कस्तो राम्रो कुरा भयो रे भन्दा देशभरको मान्छे खुसी हुनुपर्ने ठाकठुक परे दुःखी हुनुपर्ने। विधानसँग अलग हुँदा यस्तो भयो।

अब लक्षणहरूको होइन रोगको उपचार हुनुपर्छ। आउने महाधिवेशनबाट यी दुइटा रोगको उपचार हुन सक्नुपर्छ। निर्वाचित भएर आएको नेतृत्व सबैको हुनुपर्छ र विधानको सर्वोपरिता नै पार्टी सञ्चालनको आधार हुनुपर्छ।

सम्बन्धकै कुरा गरे पनि छताछुल्ल हुने गरी मञ्चमा बोल्नु शोभनीय हो त?

पार्टी सभापतिलाई पनि मैले आग्रह गरेको थिएँ। हामी कांग्रेसमा नेताहरूको विषयमा खुल्ला छलफल गर्ने परिपाटी बसालेका छौँ। पार्टीभित्रको मतमतान्तर हुन्छ। यसलाई अस्वाभाविक मान्दिनँ। यसलाई सीमाभित्र शालीनतापूर्वक प्रस्तुत गर्नुपर्छ। व्यवस्थित गरेमा शालीनता देखिन्छ। कहिलेकहीँ निकृष्ट हुन्छ। यसले कार्यकर्तामा निराशा देखिने रहेछ।

संघीय सदनमा पनि कांग्रेसको सांसदहरुबीच तालमेल नमिलेको देखिन्छ नि?

प्रतिपक्षको अनुभव कमकमै छ कांग्रेससँग। सहमति र मिलीजुलीको सरकार बनेकाले हामीले प्रतिपक्षको भूमिका के हो? सोच्नै छाडिसकेको जस्तो लाग्यो। बुझ्न केही गाह्रो भयो। केही महिनायता तंग्रिएको छ। अब अलि संगठित भएर आएका छौँ। अझै निखार ल्याउनु जरुरी छ।

कहिले कहीँ प्रश्न गर्ने हो। सधैं विरोधमात्रै गर्दै होइन। केहीमा नक गर्ने हो। केही कुरा अभ्यासको कमीले भयो। हामी सिक्दैछौँ। सुधार्दै लान्छौँ।

प्रतिपक्षी बलियो भएन भन्ने आरोप धेरै हदसम्म सही नै हो?

अमेरिकामा सिनेटमा राष्ट्रपतिको पार्टीको बहुमत छैन। राष्ट्रपतिले नेगोसिएट गरेर सहमति गर्छ। बेलायतमा संसदले फ्लोर क्रस गर्छ। हाम्रोमा जहिले पनि नम्बरको गेम हुन्छ। हाम्रो न बेलायतको जस्तो हो, न त अमेरिकाजस्तो। हामीसँग कहिल्यै नम्बर पुग्दैन। बाहिरबाट हेर्दा कांग्रेसले केही नगरेको जस्तो देखिन्छ। तर हामीले चाहेर पनि रोक्न सक्दैनौँ। किन भने हामीसँग नम्बर नै छैन। सरकार डराउने भनेको जनतासँगमात्र हो।

सभामुख र उपसभामुखका विषयमा पहिले खासै वास्ता नगरेको कांग्रेसले अहिले फेरि मुद्दा बनाएको छ नि?

यसमा सरकारले संख्याको आधारमा पेलेर गएको छ। हामीले के गर्‍यौँ भन्ने कुरा एउटा हो। यो अपब्याख्या भयो। सत्तारुढ दलले रकमी कुरा गरे। पहिले फरकफरक दल थियो भनेर प्वालहरू खोजेर सत्ताधारी गठबन्धन दुरुपयोग गरेर अगाडि बढेको छ। यो गलत हो।

छाया सरकारको काम कस्तो हुँदैछ?

केही कुरामा पक्कै पनि मद्दत पुगेको छ। शिक्षाको जिम्मेवारी मैले पाएकोले शिक्षासम्बन्धी विधेयकमा छलफल चलिरहेको छ। म यसमा सहभागी छु। म पार्टीभित्र जिम्मेवारी बाँडफाँटको हिसाबले हाम्रो लागि प्रडक्टिभ नै भयो। यसमा अधिकतम प्रयोग हुन सकिरहेको छैन।

प्रदेशमा त बनेन नि छाया सरकार?

प्रदेशमा छाया सरकारमात्र हैन पार्टी नै छैन। पार्टीको संरचना बनेपछि बल्ल त्यहाँको संसदीय दलसँग मिलेर काम गर्न सक्छ।

अर्को निर्वाचनमा जसरी जित्नुपर्छ भनेर लागिपरेको छ कांग्रेस, सम्भव देख्नुहुन्छ?

२०७९ मा नेपालमा आमनिर्वाचन हुन्छ। नेपाली कांग्रेसको पहिलो ड्युटी त्यो निर्वाचन हुने कुरा तलमाथि नहोस्। त्यो निर्वाचन फेयर होस्। कुनै दुर्घटनामा पर्न दिनु भएन। संसदमा पो प्रतिपक्ष हो तर, पद्धति जोगाउने मूल पक्ष नेपाली कांग्रेस हो। कांग्रेसको चिन्तन यसमा रहनुपर्छ।

कांग्रेसले जसरी नि जित्नुपर्छ भन्दै गर्दै मतदाताले किन जिताउने भन्ने प्रश्न उठाउँछ।

त्यसमा कांग्रेसको दुवटा उत्तर आउँछ।

पहिलो कांग्रेस राम्रो पार्टी हो २०१५ मा यस्तो गरेको २०६२ मा यस्तो गरेको। हामीले पुराना काम धेरै गरेका छौँ।

दोस्रो दुई तिहाइको सरकारले केही गर्न सकेन।

यो उत्तर गलत हैन। तर, यो उत्तर मिलेको छ त? छैन। सप्रसंग व्याख्या गर भनेकोमा प्रसंगमात्र आयो। मूल कुरा आएन। मूल कुरा कांग्रेसले ७९ मा निर्वाचन जित्यो भने २०८४ सम्ममा यो-यो हुन्छ भनेर सैद्धान्तिक आधारमा टेकेर प्रश्नको उत्तर दिन सके जनता आइहाल्छन्।

तपाईँलाई हेर्दै गर्दा जनताले विश्वास गर्ने आधार के? यसमा नेतृत्वको कुरा आउँछ। त्यो आधार दिन सक्नुपर्छ।

भनेपछि त्यो आधारका लागि नेतृत्व नै फेर्ने तयारीमा हुनुहुन्छ?

म नेपाली कांग्रेसको कार्यकर्ता भएकोले २०७९ मा देश चलाउने जिम्मेवारी पाएको कांग्रेस हेर्न चाहन्छु। मेरा लागि पनि यही प्रश्नको उत्तर खोज्न चाहन्छु। पार्टीभित्रको विश्वास जित्ने मान्छे आउँछ भने आम जनताको विश्वास जित्छ भने म पार्टीभित्र सानो भूमिकामा पनि बस्न तयार छु। केन्द्रीय सदस्यमात्र भएर। अथवा नभएर त्यो पनि तयार छु।

कोही पनि चुनौती लिन आउँदैन भने अघिल्लो पटक महामन्त्री लडेको यसपटक सभापति लड्न पनि तयार हुनुपर्ने अवस्था आउन सक्छ। त्यो पनि तयार। तर यी दुबै विषय मेरो प्राथमिकताका विषय हैनन्।

मैले प्रतिस्पर्धा गर्ने भनेको नेपाली कांग्रेसको महामन्त्री हो। यो मेरो स्वाभाविक छनोट हो। म तयार छु। यो दुबैमा लड्नुपर्ने अवस्था नआओस् भन्न चाहन्छु।

जनताले युवा युवा भनेर बाहिर खोज्दै गर्दा चुनावी मैदानमा त युवालाई नपत्याइदिने रहेछ नि?

हाम्रो पार्टीको संगठन अनुसार महाधिवेशनले मुख्य नेतृत्व चयन गर्छ। यो सभामा छानिएर आउने आउने भनेको कांग्रेसमा वर्षौँदेखि काम गर्ने नै हो। मनोवैज्ञानिक रूपमा आफ्नो उमेरकालाई विश्वास गर्छ। १०औँ लाख सदस्यले मतदान सोझै मतदान गर्ने हो भने नयाँ नेतृत्व आउन सक्थ्यो।

यस्तो अवस्थामा पनि अघिल्लो महाधिवेशनसम्म अहिलेकै नेतृत्वले कांग्रेसलाई जोगाउँछ भन्ने लाग्यो।

तर, अहिले देश घुम्दा यो पटकको महाधिवेशनबाट पार्टीका पाका नेताहरूले तन्नेरीहरूलाई काम गर्ने मौका दिएन भने यिनलाई भन्दा पार्टीलाई घाटा लाग्छ भन्ने देखिएको छ।

त्यसो भए नेतृत्व परिवर्तन हुन्छ?

पार्टीभित्रको तमाम साथीहरूले मुड जागरणको खोजीमा हुनुहुन्छ। यसपाला धेरै कुरा फेरबदल होला।



सभापतिको आसनमा बसेपछि गुटको टोपी फाल्नुपर्छ : गगन थापा को लागी १ प्रतिक्रिया(हरु)

Kamal [ 2019-09-12 16:39:22 ]
केन्द्रिय सदस्यले चाहिँ गुटको टोपी लगाउन मिल्ने हो गगन दाइ ! अनि मन्त्री हुदा आफ्ना गुटका मात्रले नियुक्ति पाउने हुन ???

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell