PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पूर्व कुमारीलाई अभिनन्दन गर्दै फसिकेबमा कुमारी पूजाको निरन्तरता



सहयोग रञ्जित

पूर्व कुमारीलाई अभिनन्दन गर्दै फसिकेबमा कुमारी पूजाको निरन्तरता

काठमाडौं :  काठमाडौंमा नेवार समुदायको बाहुल्यता रहेका हरेक टोलमा कुमारी मन्दिरहरु हुन्छन्। कुमारी पूजा गर्ने परम्परा १२ औं शताब्दीमा गुणकामदेवले सुरु गरेको कथन छ। मल्लकालमा भने आ-आफ्नो टोलमा कुमारीको मन्दिर स्थापना गर्ने चलन सुरु भएको बताइन्छ।

रञ्जना (रञ्जना सिनेमा हल जाने) गल्ली भनेर चिनिने काठमाडौंको फसिकेबमा पनि कुमारीको मन्दिर रहेको छ। कुनैबेला चर्चित रञ्जना हलभित्र नै कुमारी मन्दिर रहेको थियो। मन्दिरका पुजारी जोशी माइला हलको स्क्रिन अगाडि नै कुमारीको मूर्ति रहेको र फिल्म चल्दै गर्दा पनि पूजा गरेको बताउँछन्। भने, 'यो देवता निकै कडा देवता हुन्। यहाँ हरेक दिन आरती र नित्य पूजा गर्नुपर्छ। फिल्म चल्दै गर्दा पनि मैले धेरै पटक पूजा गरेको छु।'

५७ वर्षदेखि माइला काठमाडौंको फसिकेबमा रहेको कुमारी मन्दिरमा पूजा गर्दै आएका छन्। काठमाडौंमा मल्टिप्लेक्सले कब्जा जमाएसँगै रञ्जना हलको अस्तित्व नै समाप्त भयो। हाल सो स्थानमा रञ्जना ट्रेड सेन्टर रहेको छ। सेन्टर बनाए पनि अहिले साहुले नयाँ कुमारी मन्दिर बनाइदिएको माइला बताउँछन्।

अहिले तिनै कुमरीलाई साक्षी राखेर येँ:या (इन्द्रजात्रा) को अवसरमा फसिकेबमा सामुहिक कुमारी पूजा सञ्चालन हुँदैछ।

२०७३ सालमा स्थापना भएको क्लब फसिकेबले आफ्नो स्थापनाकालदेखि नै कुमारी पूजा आयोजना गर्दै आएको छ। यस वर्ष पनि क्लबमा पूजालाई निरन्तरता दिँदै येँया: पुन्ही (इन्द्रजात्रा) का दिन अर्थात भदौ २७ गते कुमारी पूजा आयोजना गर्ने तयारी गरिरहेको छ।

२५ जना बालिकालाई सहभागी गराएर कुमारी पूजा सुरु गरेको क्लबले हाल भने १०८ कुमारीलाई पूजा गर्दै आएको छ। यसपटक पनि १०८ कुमारीलाई नै पूजा गरिनेछ। 

यो वर्ष भने क्लबमा पूर्व कुमारी मतिना शाक्यलाई अभिनन्दन गर्ने कार्यक्रम समेत राखेको क्लबका अध्यक्ष प्रज्वलमान शाक्यले बताए।

हाल हरेक महिना कुनै न कुनै स्थानमा कुमारी पूजा सञ्चालन हुँदैछ। केही भने कुमारी पूजा फेसन बनेको आरोप लगाइरहेका छन्। यता शाक्य भने यो फेसन नभइ परम्पराको निरन्तरता रहेको बताउँछन्। समय अनुसार परम्परा र त्यससँगको गतिविधिहरु परिवर्तन हुँदै गएका र मानिससँग समयको अभाव भएकाले पनि सामुहिक कुमारी पूजाप्रति मानिसहरु आकर्षित भएको उनको दाबी छ।

कल्बका कोषाध्यक्ष गौरव शाक्य केही वर्ष अगाडि मात्र सुरु गरेको कुमारी पूजामा सहभागी हुन मानिसहरुले महिनौं अगाडिदेखि नै नाम लेखाएकोले पनि कुमारी पूजाप्रति मानिसहरुको आस्था झल्कने बताउँछन्। भने, 'हाम्रो संस्कृतिमा कुमारी पूजा नौलो होइन। इहीभन्दा अगाडि कुमारी पूजा हाम्रो समुदायमा चल्दै आएको छ।'

हाल स्थानीय, व्यापारी र विभिन्न व्यक्ति र संघसंस्थाको सहयोगमा सञ्चालन हुँदै आएको यो कुमारी पूजाले संस्कृति लोप नभइ बाल्यकालदेखि नै बालिकाहरुलाई कुमारी संस्कृतिको महत्वबारे बुझ्न अभिप्रेरित गर्ने शाक्यको तर्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell