
काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।
वर्षा निरन्तर नभइ केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाका साथै एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीमा आकस्मिक पानीको बहाव बढ्न सक्ने र पहाडी भू–भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
हाल देशभरी आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। राति देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानमा रहेकोले मौसम बदली भई वर्षा भइरहेको महाशाखाले जनाएको छ।
वायुमण्डलमा हावाको चाप कम भएको स्थानमा न्यूनचापीय रेखा बन्छ। यसलाई मनसुन रेखा पनि भन्ने गरिन्छ। हावाको चाप कम भएको स्थानमा जलवास्पयुक्त बादल जम्मा हुने भएकाले सो स्थान आसपासमा वर्षा हुने मौषमविद् बरुण पौडेलले बताए। उत्तरी गोलार्धमा तापक्रम बढ्दै जाँदा यो रेखा बन्ने उनले बताए।
उक्त न्यूनचापीय रेखा बंगालको खाँडीदेखि भारतको कलकत्ता र दिल्ली हुँदै पाकिस्तानसम्म रहेको उनले बताए। दक्षिण पश्चिमी देशहरुमा यसै रेखाका कारण वर्षा हुने उनको भनाइ छ।
उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम शुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको महाशाखाले जानकारी दियो। न्यूनचापीय रेखासँगै बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावका कारण मनसुन सक्रिय भएको हो।
भोलि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ। त्यस्तै शनिबार देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ६ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० दशमलव ७ डिग्री सेल्सियस रहेको छ।