PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

येँयाः सञ्चालनका लागि सरकारद्वारा ५ करोडको अक्षयकोष स्थापना, महानगरले हाल्यो २ करोड



सहयोग रञ्जित

येँयाः सञ्चालनका लागि सरकारद्वारा ५ करोडको अक्षयकोष स्थापना, महानगरले हाल्यो २ करोड

काठमाडौं : सरकारले येँया: (इन्द्रजात्रा) को व्यवस्थापन सहज र सरल ढंगले सञ्चालन गर्नका लागि ५ करोड रुपैयाँको अक्षय कोष स्थापना गरेको छ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रिपरिषदको भदौ २० गतेको बैठकबाट अक्षयकोष स्थापना गर्ने निर्णय भएको जानकारी दिए।

उनले सरकारले १ करोड ५० लाख, प्रदेश ३ सरकारले १ करोड, काठमाडौं महानगरपालिकाले २ करोड र गुठी संस्थानले ५० लाख रकम राखेर अक्षयकोष स्थापना गरिएको बताए। कोष सञ्चालनका लागि काठमाडौं महानगरपालिकाका प्रमुखको अध्यक्षतामा एक समिति गठन गरिनेछ। सो समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि, प्रदेश सरकारको प्रतिनिधि, इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष, गुठी संस्थानका प्रतिनिधि र हनुमानढोका हेरचाह अड्डाका प्रमुख रहने छ। समितिको सञ्चालनका लागि महानगरपालिकाले कार्यविधि बनाउनेछ।

इन्द्रजात्रा व्यस्थापन समिति लगायत विभिन्न गुठीहरुसँग सम्बन्धित संघसंस्थाले पहिलैदेखि नै अक्षयकोष स्थापना गर्नुपर्ने माग गर्दै आएका थिए। अक्षयकोष नहुँदा जात्रा सञ्चालन गर्न गाह्रो भएको र गुठी संस्थानमा मात्र भर पर्दा जात्रा सञ्चालनमा समस्या भएको उनीहरुले बताउँदै आएका थिए।

कार्यक्रममा मन्त्री भट्टराईले काठमाडौंको संस्कृति र परम्परा जोगाउने दायित्तव सबैको भएको भन्दै इन्द्रजात्रालाई व्यवस्थित रुपमा सञ्चालन गर्न तीनै तहका सरकार एकै स्थानमा आएको बताए।

वर्षैपिच्छे सरकार फेरिइरहने र ती सरकारका प्राथमिकता र दृष्टिकोणहरु फरक फरक हुने भएकाले अब बन्ने अक्षयकोषले इन्द्रजात्रा सञ्चालनलाई स्थायित्व दिने उनको तर्क थियो।

भट्टराई मन्त्री भएको केही समयपछि महानगरपालिकाले मन्त्रालयमा अक्षयकोष स्थापना गर्ने मागबारे ध्यानाकर्षण गराएको थियो। महानगर र इन्द्रजात्रा व्यवस्थापन समितिको सक्रियतामा केन्द्र सरकारले प्रदेश सरकारलाई समेत संलग्न गराएर अक्षयकोष स्थापना गरेको हो। संघीयतामा गएपछि इन्द्रजात्राको खर्च व्यवस्थापन कुन तहको सरकारले गर्ने भन्नेबारे अन्योल रहेको थियो।

भट्टराईले  राष्ट्रपतिसमेत सरिक हुने इन्द्रजात्राको सञ्चालन एवं प्रवर्द्धन गर्न कामलाई सरकारले प्राथमिकतामा राखेको भन्दै अक्षयकोष स्थापनासँगै नेवार समुदायमा यसबाट सकारात्मक सन्देश जानेबारे विश्वास व्यक्ति गरे।

उनले भने, 'गुठीका बारेमा विगत पनि केही असमदारीहरु थिए। अक्षयकोष स्थापनाबाट ती सबै असमझदारी समाधान गर्न केही सहयोग होला। सरकारले यहाँका जात्रापर्व, संस्कार र संस्कृति जोगाउन सहयोग गरिहन्छ।'

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अक्षयकोष स्थापना घोषणालाई ऐतिहासिक दिनको संज्ञा दिँदै भने, 'आजको दिन खुशीको दिन हो। हामीले पहिलादेखि नै गर्दै आएको माग पूरा भएको छ। यसबाट जात्रा सञ्चालनमा देखिएका अवरोधहरु हटाउन सहयोग पुग्नेछ।'

प्रमुख शाक्यले राष्ट्रपति विद्यादेवी भण्डारीले पनि इन्द्रजात्रा र अक्षयकोषका सम्बन्धमा चासो राखेको बताए। आज बिहान इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यसँग राष्ट्रपति निवासमा इन्द्रजात्राका बारेमा छलफल भएको बताए।

इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले आफूहरुले वर्षौंदेखि अक्षयकोष स्थापनार्थ राख्दै आएको माग आज पूरा भएकोमा खुशी जनाउँदै ८ दिन जात्रा संचालन गर्न अब बाधा नपर्ने बताए। रामवरण यादव राष्ट्रपतिहुँदा समितिले अक्षयकोष निर्माणको पहल गरेको थियो। यादव अक्षयकोष बनाउने कुरामा निकै सकारात्मक रहेको भन्दै शाक्यले बल्ल सपना पूरा भएको बताए।

भक्तपुरको यसिगुँबाट तानेर हनुमानढोका पुर्‍याइएको य:सिंलाई भदौ २४ गते बिहान ९ बजेर १७ मिनेटको शुभ साइतमा इन्द्रध्वज फहराएर ठड्याइएसँगै येँयाः सुरु भएको हो। भदौ २७ गते भने जीवित देवी कुमारीका साथै जीवित देवहरू गणेश र भैरवलाई 'क्व:नेया'  (तल्लो टोलमा रथयात्रा) गराइन्छ। रथयात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथयात्रा भएकै बाटो हुँदै 'दागीं' र त्यसपछि 'बौमत:'  ल्याउने परम्परा रहेको छ।

भदौ २८ गते भने कुमारी, भैरव र गणेशलाई थ:नेया (माथिल्लो टोलमा रथयात्रा) गराइन्छ। भदौ ३१ गते भने ननिचा:या: अर्थात् बीचको टोलमा रथयात्रा गरी कुमारी, गणेश र भैरवको रथ यात्रा सकिन्छ। त्यसै दिनबाट लाखे, सवभक्कु, पुलुकिसी, दी प्याखं लगायतका नाचहरु समेत एक वर्षका लागि बन्द हुन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell