PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

विश्वविद्यालयमा दलीय भागबन्डा बहस : कसैको ताली त कसैको गाली



नेत्र तामाङ

विश्वविद्यालयमा दलीय भागबन्डा बहस : कसैको ताली त कसैको गाली

काठमाडौं: बिहीवार नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्याम्पस इकाईले प्रज्ञा प्रतिष्ठानको प्रांगणमा खुल्ला बहस कार्यक्रम आयोजना गर्‍यो।

कार्यक्रमका मुख्य वक्ता थिए, पूर्व शिक्षामन्त्री एवं कांग्रेस नेता अर्जुननरसिंह केसी, पूर्व शिक्षामन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका नेता दीनानाथ शर्मा र विश्लेषक हरि रोका। वक्ताहरुले नेविसंघले विश्वविद्यालय सुधार्ने पहल थालेकोमा प्रशंसामात्र गरेनन्, 'पानीमरुवा' समेत भन्न भ्याए।

कसले के भने?

विश्लेषक हरि रोकाको प्रश्न : खोइ मसाल अंकित झन्डा बोकेको?

कार्यक्रममा हरि रोकाले नेविसंघले बहस कार्यक्रम थालेर राम्रै गरेको बताउँदै गर्दा पानीमरुवाको आरोपसमेत लगाए। भने, 'पानीमरुवा नै भएजस्तो लाग्यो नेविसंघ। नेविसंघको गर्विलो इतिहास खै कायम गर्न सकेको? खोइ मसाल अंकित झन्डा बोकेको?'

देशको राजनीति उल्टो दिशामा गएको दाबी गर्दै उनले अहिलेका विद्यार्थी विश्वविद्यालयकै कारण देश छाडेर कतिखेर जाउँ झै खुट्टा उचालेर बसेको बताए। भने, 'यो देश छाडेर कतिखेर जाउ भनेजस्तो भइरहेको छ विद्यार्थीहरुलाई। हामीले कस्तो विद्यार्थी उत्पादन गरिरहेका छौं?'

हामीलाई सरापे सराप्नुस्, जिम्मा अब तपाईँहरुको : पूर्व शिक्षामन्त्री शर्मा

पूर्व शिक्षामन्त्री शर्माले राजनीतिले आफूलाई शिक्षा क्षेत्रमा तानेको उल्लेख गर्दै शिक्षक भएर काम गरेको अनुभवसमेत सुनाए। शर्माले भने, 'राजनीतिले मलाई शिक्षा मन्त्री भए। केही समय पढाए पनि। तर के गर्नु, पढाएका विद्यार्थी धेरै विदेशिए। दु:ख लाग्छ।'

डाक्टर पढ्न गएका र विज्ञान पढ्न गएका विद्यार्थी फर्केर नआएकोमा चिन्ता व्यक्त गर्दै उनले अबका नेताले विदेश पठाएका छोराछोरी पनि नफर्कने दाबी गरे। भने, 'मैले पढाएका विद्यार्थी फर्केर आउछन् कि आउँदैनन्। नेताका छोराछोरीले पठाएका पनि फर्कने छैनन्।'

राष्ट्रिय शिक्षा नीति नबनेकै कारण देशको विश्वविद्यालय भद्रगोल भएको शर्माले उल्लेख गरे।

'सरापे पनि सराप्नु, हामीले यतिसम्म गर्‍यो। अब तपाईंहरुको जिम्मा,' उनले भने, 'हाम्रो शिक्षा यस्तै रहेछ। हाम्रो राष्ट्रिय शिक्षा नीति छैन। यसैले भद्रगोल भएर आएको छ। राष्ट्रिय रोस्टर छैन। कसलाई भिसी बनाउने भन्ने नीति नभएपछि जसले दौडधुप गर्न सक्यो। उहीँ झ्याप्प।'

बाह्र बुँदे सम्झौतादेखि नै सबै ठाउँमा भागबन्डाको नराम्रो संस्कृति शुरु भएको शर्माको दाबी थियो।

अति राजनीतिकरणले शिक्षा क्षेत्र बिग्रियो : अर्जुननरसिंह केसी

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अति राजनीतिकरणले शिक्षा क्षेत्र बिग्रेको बताए। उनले भने, 'अति राजनीतिकरणले शिक्षा क्षेत्र बिग्रेको छ। २०६२ सालदेखि यति धेरै भागबन्डा भयो कि। लाजमर्दो अवस्था छ।'

नेविसंघले थालेको बहस निकै सकारात्मक रहेको उल्लेख गर्दै केसीले सबै विचारका विद्यार्थीसँग समन्वय गरेर जबरजस्त दबाव सिर्जना गर्न सुझावसमेत दिए।

उनले विश्वविद्यालय क्षेत्रलाई प्राज्ञिक स्वतन्त्रताको केन्द्र बनाउनसमेत माग गरे।

त्रिभुवन विश्वविद्यालमा पढेको भन्दा लाज मन्नुपर्ने अवस्था

कार्यक्रममा नेविसंघ नेता बलदेव तिमिल्सिनाले शिक्षा क्षेत्रमा धेरै समस्या रहेको दाबी गरे। भने, 'नेपालको शिक्षा भद्रगोल अवस्थामा चलिरहेको छ। शिक्षामा धेरै समस्या छ। शिक्षा राजनीतिले विगारेको भन्छ। के यो साँचो हो त? शैक्षिक थलो भद्रगोल छ।'

अर्का नेता कुन्दनराज काफ्लेले त्रिभुवन विश्वविद्यालयमा पढेको भन्दा लाज मन्नुपर्ने अवस्था रहेको गुनासो गरे।

'२८ सालमा राजाले बनाएको शिक्षा ऐन परिवर्तन भएको छैन। यसले देखाउँछ राजनीतिक दल शिक्षामा चासो दिँदैन,' उनले भने, 'नेपालमा शिक्षाका व्यापारी सांसद भएका छन् सबै दलमा। उहाँहरुले तोडफोड गर्नुहुन्छ। त्रिभवन विश्वविद्यालय पढ्छु भन्दा लाज लाग्नुपर्ने अवस्था छ। पोखरा विश्वविद्यालय, पूर्वाञ्चलमा पढ्छु भन्दा लाज मान्नुपर्ने अवस्था छ। रिसर्च छैन।'

नेपाल सुन्दर बनाउने हो भने शिक्षालय सुधार्न आवश्यक रहेको उल्लेख गर्दै काफ्लेले नसुध्रे नेविसंघले आन्दोलन गर्ने चेतावनी दिए।

शिक्षालय सुधार्न भिसीदेखि प्रध्यापक नियुक्तिमा राजनीतिक नियुक्ति बन्द गर्नुपर्ने विद्यार्थीहरुको सुझाव थियो। कार्यक्रममा विद्यार्थीहरुले शिक्षा क्षेत्र सुधारका लागि सुझावसमेत दिए। त्रिभुवन विश्वविद्यालयको अनियमितता अन्त्यका लागि खुल्ला बहस कार्यक्रम आयोजना गरिएको इकाइ सभापति रहेका हरि आचार्यले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell