PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

नेकपाको आक्रमणमा परी कांग्रेस जिल्ला सभापति कोइराला घाइते, 'साउथ इन्डियन फिल्म शैलीमा आक्रमण गरे'



पहिलोपोस्ट

नेकपाको आक्रमणमा परी कांग्रेस जिल्ला सभापति कोइराला घाइते, 'साउथ इन्डियन फिल्म शैलीमा आक्रमण गरे'
फाइल फोटो ।

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सामूहिक आक्रमण गरेका छन्।

अभियानका क्रममा आज बाँके जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेश सभा क्षेत्र 'ख'को खजुरा गाउँपालिका वडा २ सितापुरस्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम चलिरहँदा आक्रमण भएको नेपाली कांग्रेसले जनाएको छ।

कार्यक्रममा बर्दियाबाट खटिएका केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल बोलिरहँदा बाँके कांग्रेस सभापति किरण कोइरालालगायतलाई आक्रमण गरेको कांग्रेसले जनायो। खजुरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा गुन्डाहरुको समूहले आक्रमण गरेको सभापति कोइरालाकी छोरा सुधांशु कोइरालाले पहिलोपोस्टलाई जानकारी दिए।

'कार्यक्रम चलिरहँदा नेकपाका कार्यकर्ताले साउथ इन्डियन मुभिको स्टाइलमा एकैपटक आक्रमण गरे' कोइरालाले पहिलोपोस्टसँग भने, 'आमाको हात फ्याक्चर भएको छ। हामीले संयमता अपनाएका कारण थप घटना भएन।'

घटनामा प्रहरीकोसमेत संलग्नता रहेको उनको आरोप थियो। अहिले कांग्रेस बाँकेको टोलि जिल्ला प्रशासन कार्यालय बाँकेमा आक्रमणकारीलाई कारबाही गर्न मागसहित ज्ञापनपत्र बुझाउन पुगेका छन्।

सोही वडाका सुनिल, मुमबहादुर वली, निर्मल खत्री लगायतका १३/१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी 'यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदैन' भन्दै आक्रमण भएकोप्रति केन्द्रीय कार्यालय कांग्रेसलेसमेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

'यत्रो ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई नेपाली कांग्रेसले सुनियोजित एवं अत्यन्त गम्भीर घटनाको रुपमा लिएको छ। राजनीतिक दलले सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि सिधा आक्रमण प्रारम्भ गरिएको रुपमा नेपाली कांग्रेसले लिएको छ' कांग्रेसले भनेको छ, 'नेपाली कांग्रेस यस घटनाको घोर निन्दा र भर्त्सना गर्दछ। साथै, भविष्यमा यस्ता घटनाहरु पुनः नदोहोर्‍याउन नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गर्दछ। आक्रमणकारीहरुलाई तत्काल कडा भन्दा कडा कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell