PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संविधान बदल्यौँ, शिक्षा नीति बदल्न सकेनौँ : दीनानाथ शर्मा



पहिलोपोस्ट

संविधान बदल्यौँ, शिक्षा नीति बदल्न सकेनौँ : दीनानाथ शर्मा

नेपालको शिक्षासँगै राजनीति पनि सँगसँगै आयो। भारतबाट अंग्रेज धपाइए। भारत स्वतन्त्र भयो। सँगसँगै नेपालमा पनि हामी नेपाली जनता र नेताहरू लडेर निरंकुशताको अन्त्य भयो। लोकतन्त्र आयो। लोकतन्त्र सँगसँगै शिक्षा प्रणाली पनि त्यतैबाट आयो। त्यो शिक्षा प्रणाली नेपालको हितमा थिएन। त्यो भारतको हितमा पनि थिएन। त्यो शिक्षा प्रणाली हाम्रो अनुकूलको थिएन।

अलिकति इतिहास भन्छु। दोस्रो विश्वयुद्धपछि बेलायतको संसदमा शिक्षाबारे गम्भीर बहस भयो। संसारभरिबाट हाम्रो आधिपत्य गुम्यो। अब यसलाई कसरी जोगाउने? निकै ठूलो बहस भयो। त्यसको अध्ययनका लागि थुप्रै देशमा मान्छे पठाइए। उनीहरूले राज्य गरेका एसिया प्यासेफिक क्षेत्रमा लर्ड मेका आए। फर्केर गए। उनले राजनीतिक रूपमा प्रत्यक्ष शासन गर्ने स्थिति छैन अब भाषा, संस्कृति र शिक्षाबाट मात्र नियन्त्रण गर्न सक्छौँ भन्ने प्रस्ताव राखे।

यसकारण यी देशहरूमा अङ्ग्रेजी भाषा सिकाउन अर्बौँ पाउन्ड खर्च गर्न थाले। नेपालको शिक्षामा पनि उनीहरूले सहयोग गरिरहेका छन्। त्यही शिक्षा हाम्रोमा पनि आयो।

सायद भारतीयको नीति नेपालमा आएको भए नेहरुको बारेमा गान्धीको बारेमा लेखिएको पाठ्यक्रम आउने थियो। त्यस्तो आएन। मैले १६ सालतिर पढ्दा, पोइट्री, प्रोस पढ्नुपर्थ्यो त्यहाँका लेखक दार्शनिकको बारेमा। कविहरूको बारेमा। वर्डस्वर्थ पढ्यौँ। सेक्सपियर पढ्यौँ। बेलायतका विषयमा धेरै पढ्यौँ। हामीलाई देवकोटा, भानुभक्तबारे पढाएनन्। किनभने त्यो शिक्षा नीति भारत भएर आएको थियो। २००७ सालदेखि २०२८ सालसम्म। २०२८ सालमा राजाले पञ्चायतलाई हित पुग्ने किसिमको शिक्षा नीति ल्याए। यो राष्ट्रिय हितका लागि थिएन। अहिले पनि छैन।

राष्ट्रिय हितको पक्षमा भएको भए हाम्रा देशका विद्यार्थीले हाम्रै माटोमा केही गर्थ्यो। केही यही गर्नुपर्छ भन्ने भावना आउँथ्यो।

चोरेर पास गर्नुपर्ने कस्तो शिक्षा?

शिक्षामन्त्री भएको बेला म चितवन गएँ। एक जना साथीकोमा। उनले ४ बिघा खेतमा टन्न तोरी लगाएका रहेछन्। तोरी मजाले फुलेको थियो। परिवारका सबै डिग्री पास गरेका छन्। सबै आँगनमा बसेका छन्। यता तोरी सखाप हुँदैछ लाई किरा लागेर।

त्रिभुवन विश्वविद्यालयबाट डिग्री पास गरेका दुई छोरा र दुई बुहारी सबै हेरेर बस्छन्। लाई किरालाई कसरी हटाउन सकिन्छ? आफ्नो तोरी कसरी जोगाउन सकिन्छ? केही थाहा छैन उनीहरूलाई। हामी के पढेका छौँ?

हाम्रो शिक्षा यही प्रकारको हो? हामीले जानकारी राख्नुपर्दैन। हामी खेती गर्छौँ भने यही प्रकारको शिक्षा हुनुपर्दैन? त्यो किसानलाई के गरे लाई किरा हट्छ भन्ने सामान्य जानकारी हुनुपर्दैन? त्यति पनि ज्ञान नराख्ने औपचारिक शिक्षा घोक्ने शिक्षा सकेसम्म पास हुने, नभए चोरेर भए पनि पास हुने, डिग्री पास गरेर कता जागिर पाइन्छ भनेर जाने शिक्षा प्रणाली अहिलेसम्म जारी छ।

मेरो प्रयास

'तैँले शिक्षामन्त्री भएर चाहिँ के हेरिस् त' भन्ने प्रश्न पनि उठ्छ। मैले त्यो लागेपछि ५० प्रतिशत प्राविधिक शिक्षामा र ५० प्रतिशत औपचारिक शिक्षा गरी दुइटा हाँगा बनाउनुपर्छ भनेर लागें। अहिले धेरै ठाउँमा त्यो चल्दैछ। बीचमा रोकिए पनि सुरुमै सयवटा प्राविधिक विद्यालय बनाउनुपर्छ भनेर ७५ वटा विषयहरूलाई तयार गर्न लगाएँ।

स्कुले शिक्षाले कम्तीमा यति त दिनुपर्‍यो कि घरमा विद्युत 'सट' भयो भने तार फेर्नुपर्छ। लाई लाग्यो भने कुन किसिमको औषधि छर्नुपर्छ भन्ने जनरल नलेज होस्। कम्प्युटर चलाउँछौं यसबारे सामान्य ज्ञान होस्। यतिसम्म बनाउनुपर्छ। मलाई चाहिँ यो चेतना व्यवहारले दियो।

म धेरै वर्षपछि युद्धकालमा छाडेको घरमा पुगेर बसेँ। राति बिजुलीको तार 'सट' भयो। बत्ती गयो। मेरा दुई छोरा डिग्री पढेका छन्। बुहारी पनि पढेका। मैले पनि दुईचार अक्षर चिनेको छु। हामी सबै पढेलेखेका मान्छे रातभरि अँध्यारोमै बसियो। भोलिपल्ट एक जना भाइलाई बोलाएर हेरेको ती भाइले भने सानो फ्युज गएछ रे। एक सेकेन्डमा फ्युज जोडे। बत्ती बल्यो।

त्यतिबेलादेखि हाम्रो ज्ञान र डिग्री काम छैन भनेर प्राविधिक शिक्षा ९ कक्षाबाटै सुरु गर्नुपर्छ भनेर लाग्यो। अहिलेसम्मको शिक्षा नीति बेकार छ। २८ सालमा पञ्चायतले ऐन ल्यायो। त्यो ऐनले अहिलेसम्म कभर गरेको छ। त्यत्रो परिवर्तन भयो गणतन्त्र आयो। तर शिक्षा ऐन त्यही बोकेर हिँड्या छौँ हामी। हामीले संविधान बदल्यौँ शिक्षा नीति बदल्न सकेनौँ। तिनै पुराना थोत्रा शिक्षा ऐन र नीति बोकेर हिँडेका छौँ।

शिक्षा नीति कहिले बन्ला?

नेपालमा अहिलेसम्म हाम्रो राष्ट्रिय शिक्षा नीति छैन। राजनीतिक दलका नेताहरूमा राष्ट्रिय शिक्षा नीति चाहिन्छ भन्ने संकल्प देखिएन। यस्तो नहुँदा जेजस्तो भद्रगोल नीति छ त्यसै गरी चल्दै आएको छ। अब यसरी हुँदैन। यो माटोलाई गुणात्मक ढंगले फाइदा पुर्‍याउने शिक्षा नीति चाहिन्छ।

जसरी राजनीतिक परिवर्तन गर्‍यौँ त्यसरी नै गुणात्मक शिक्षाका लागि राष्ट्रिय शिक्षा ल्याउन बहस चलाऔँ। म हिस्सेदार बन्न तयार छु।

उच्च शिक्षाको ऐन पनि छैन। कतिपय देशमा शिक्षा मन्त्रालयले विश्वविद्यालयलाई गभर्न गर्न सक्दैन। यसका लागि छुट्टै मन्त्रालय चाहिन्छ। त्यसले नीति अनुसन्धान प्राथमिकता फरक हुन्छन्। विश्वविद्यालयलाई सेन्टर अफ एक्सिलेन्स बनाउने भन्ने कुरा त्यसले निर्धारण गर्छ। त्यसका लागि विश्वविद्यालयलाई शिक्षा मन्त्रालयले गभर्न गर्न सक्दैन। विश्वविद्यालयका लागि छाता ऐनको आवश्यकता छ। त्यसका लागि छुट्टै मन्त्रालय आवश्यक छ।

दुःखको कुरा हामी सरकारमा छौँ। मन्त्री हाम्रा हुनुहुन्छ। सरकार बनेको दुई वर्ष भयो। तर अहिले पनि हामीसँग शिक्षा ऐन छैन। यो वर्षे अधिवेशनमा पनि नयाँ ऐन ल्याइएन।

जो नेताको पछि दौडियो उही

हामीसँग राष्ट्रिय रोस्टर नै छैन। कसलाई भिसी बनाउने, कसलाई रेक्टर बनाउने, कसलाई सेवा आयोगको अध्यक्ष बनाउने भन्ने केही पोलिसी छैन। पार्टीहरूसँग पनि छैन।

पार्टीभित्र गुट छन्। पदमा पुग्न चाहनेहरू गुटको मान्छे, नेताको पछि दौडन्छन्। झ्याप्प पार्न जसले सक्छ उसैले पड्काइदिन्छ।

दोस्रो कुरा हामी वार्तामा आइसकेपछि भागबन्डा गर्न सिक्यौँ। दुइटा ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले हामीलाई सानो-सानो भाग दिने। रजिस्ट्रार र रेक्टर बनाउनु पर्‍यो भने दुइटा दलले लिने। त्यसपछि अलिकति सेवा आयोगको अध्यक्ष अलिकति खत्र्याकखुत्रुक केही छ भने त्यो हामीलाई पनि दिने।

सरकारमा आइसकेपछि हामी पनि के कम? साथीभाइहरूले यसो गरेका थिए मतको आधारमा हुने रहेछ। हाम्रो भिसी किन नहुने? तर म शिक्षा मन्त्री हुँदा मैले त्यसो गरिनँ। काठमाडौँ विश्वविद्यालयको भिसी बनाउने अवसर आएको थियो। हाम्रै पार्टीको हुनुपर्छ भनेर साथीहरूले भन्याथे। प्राध्यापक र विद्यार्थी संगठनका साथीहरूको दबाब पनि त्यही थियो। मैले सुरेशराज शर्मालाई बनाएँ। किनभने काठमाडौँ युनिभर्सिटीलाई कमसेकम व्यवस्थित बनाउन सुरेशराज सक्षम छन् भन्ने मलाई लाग्यो। मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा भिसी नियुक्त गर्दा पनि मेरो पार्टीको मान्छे नियुक्ति गरिनँ। जसले बनाउन सक्छ। उसलाई दिनुपर्छ। योग्य र सक्षम मान्छे हुनुपर्छ। प्रोफेसरहरू सक्षमताका आधारमा माथि लानुपर्छ भन्ने मेरो भनाई हो। शिक्षा नीति कस्तो बनाउने भन्ने कुरा नेपाली सन्तानको प्रश्न हो।

विश्वभरि राज्य गर्न गए पनि बेलायती कहिल्यै आप्रवासी भएर बसेनन्। भारतमा बसेनन्। उनीहरूले भारतबाट कोहिनुर हीरा चोरेर लगे। काठ गोदामको काठ लगेर बेलायतको घरमा सजाए। त्यहाँको मार्बल लगे। पत्थर लगे। फलाम लगे। कोइला लगे। केही पनि नभएको देश समृद्ध भएर संसारभरि शासन गरे। हाम्रो पुस्ताको सोच हामी संसारभरि प्रतिस्पर्धा गर्न जान्छौँ। श्रेष्ठता पनि कायम गर्छौ। तर हाम्रो देश हामी यहीँ बस्यौँ भने देश बनाउँछौँ। बाहिर गएर देशलाई माया मार्ने संस्कृतिको अन्त्य गरौँ।

-नेविसंघ, त्रिवि समितिले बिहीवार आयोजना गरेको विश्वविद्यालय र दलीय भागबन्डा विषयमा शर्माले राखेको धारणाको सार।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell