PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

कांग्रेस बाँकेका सभापति कुट्ने तीन समातिए, तीन फरार



रासस

कांग्रेस बाँकेका सभापति कुट्ने तीन समातिए, तीन फरार

नेपालगञ्ज : नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण थपलियाले बताए।

सभापति कोइरालालगायतका काङ्ग्रेस कार्यकर्तामाथि नेकपाका कार्यकर्ताको एक समूहले मञ्चमै पुगेर आक्रमण गरेका थिए।

नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले उक्त कुराको खण्डन गरेका छन्। अध्यक्ष खरेलले भने, “काङ्ग्रेसको कार्यक्रम बिथोल्ने हाम्रो कुनै नीति नै छैन । काङ्ग्रेसका कुनै एक कार्यकर्तासँग हाम्रो पार्टीका समर्थक युवाहरुको व्यक्तिगत विवादले एक्कासि जन्माएको यो दुःखद् घटना मात्र हो।”

नेपाली काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत हिजो बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका सभापति कोइराला लगायतका काङ्ग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो।

आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ। नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा उनको उपचार गरिएको थियो। सो अस्पतालका चिकित्सक डा विनोद थापाका अनुसार सभापति कोइरालाको हातको नाडीदेखि माथिको हड्डी भाँच्चिएकाले प्लाष्टर गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell