PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

दशैंमा अभाव हुन नदिन २३ हजार क्विन्टल सेतो चामल



पी बी खड्का

दशैंमा अभाव हुन नदिन २३ हजार क्विन्टल सेतो चामल

सुर्खेत : माथिल्लो कर्णालीका नागरिकले खाद्यान्न अभाव झेल्दै आएका छन्। स्थानीय उत्पादनले घरमा वर्षभरी पुग्ने खाद्यान्न नहुँदा भोकमरी जस्ता समस्या खेप्दै आएका छन्। चाडपर्व होस् या अन्य समयमा प्राय: कर्णालीका नागरिकले खाद्यान्न अभाव भोग्नुपर्ने बाध्यता छ। चाडपर्वमा सधैजसो खाद्य संकट भोगेको कर्णालीमा यसपटक भने पर्याप्त मात्रामा सेतो चामल मौज्दात रहेको छ।

प्रदेशको कुनै पनि जिल्लामा चाडपर्वको समयमा खाद्यान्न अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुर्खेत स्थित कार्यालयले चाडपर्वका लागि माथिल्लो कर्णालीमा सेतो चामल पठाउने काम गरिरहेको छ।

दशैं र तिहारको समयमा अझ बढी खाद्यान्न अभाव हुने कर्णालीका जिल्लाहरूमा यसपटकको दशैं र तिहारअघि नै खाद्यान्न पठाइसक्ने तयारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतले गरेको छ। कम्पनीले चाडपर्वअघि नै खाद्यान्न पठाइसक्ने जनाएको छ।

दशैं, तिहार र छठमा हुम्ला, डोल्पा, मुगु लगाएतका १० वटै जिल्लामा खाद्यान्न अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतका प्रमुख भीमबहादुर थापाले बताए।

'हामीसँग पर्याप्त मौज्दात छ, दशैँ, तिहार र छठमा खाद्यान्न अभाव हुन दिने छैनौँ,’ उनले भने, ‘यसका लागि हामीले चामल ढुवानीको प्रक्रिया भइरहेको छ।’

अहिले पनि कर्णालीका विभिन्न जिल्लामा रहेका डिपोहरुमा मौज्दात खाद्यान्न रहेको उनको भनाई छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतका प्रमुख थापाका अनुसार यो वर्ष हुम्ला र डोल्पा जिल्लामा पर्याप्त मौज्दात छ।

‘यो वर्ष हुम्लामा संकट नपरोस भनेर साउन लाग्दै २ हजार क्वीन्टल चामल हवाई जहाज मार्फत पठाइसकेका छौं,' उनले भने, ‘त्यतिले पुगेन भने पनि ४ हजार क्विन्टल चामल पठाउने योजनामा छौं।’

हुम्लामा खाद्यान्न हवाई सेवा मार्फत ढुवानी भएको बताए। हुम्लामा अहिले तत्काल केही खाद्यान्न अभाव भनेको सुनिए पनि संस्थानले हवाई सेवा मार्फत पठाएको बताए।

उनका अनुसार डोल्पा जिल्लामा पनि सात हजार क्विन्टल चामल मौज्दात रहेको छ।

‘खाद्य संकट हुने ठाउँमा अघिल्लो वर्षभन्दा अझै धेरै चामल पठाउने योजनामा छौं,’ उनले भने, ‘कुनै जिल्लामा संकट पर्न गयो भने पनि हामी चामल पठाउन तत्पर छौं।’

प्रमुख थापाले दैलेख जिल्लाको सदरमुकाममा चामलको अभाव नहुने भए पनि उक्त जिल्लाका ठाँटिकाँध, विन्द्रासैनी, नौमुले ठाउँमा चामल संकट भएको बताए। उक्त ठाउँमा चामल पठाउनका लागि केही दिन लाग्ने उनको भनाई छ। उनका अनुसार मुगु जिल्लाको श्रीकोट, पुलुमा चामल पठाइसकिएको र माग आएमा फेरि पनि पठाउन सकिनेछ।

अहिले कर्णालीका विभिन्न जिल्लाका डिपो र संस्थानमा गरी करिव २३ हजार क्वीन्टल बढी खाद्यान्न मौज्दात छ। सुर्खेतस्थित गोदाममा ८ हजार क्वीन्टल खाद्यन्न मौज्दात छ। उनले हुम्लामा २ हजार क्वीन्टल, डोल्पामा ७ हजार क्वीन्टल, मुगुमा ५ सय क्वीन्टल खाद्यान्न मौज्दात छ। जुम्लामा २ हजार ५ सय क्वीन्टल, कालीकोटमा १२ सय क्वीन्टल, जाजरकोटमा १६ सय क्वीन्टल र दैलेखमा ५ सय क्वीन्टल खाद्यान्न मौज्दात छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell