PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

बाँके घटनामा गृहमन्त्रीको जवाफ, नेकपाका कार्यकर्ताले कांग्रेसको सभा बिथोलेको हैन



पहिलोपोस्ट

बाँके घटनामा गृहमन्त्रीको जवाफ, नेकपाका कार्यकर्ताले  कांग्रेसको सभा बिथोलेको हैन
राज्य व्यवस्था तथा सुशासन समिति बैठकको फाइल फोटो

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनामा नेकपा कार्यकर्ताको संलग्नता नरहेको बताएका छन्। उनले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा बाँके घटनाबारे जानकारी दिँदै उक्त घटनामा केही उच्छृखंल व्यक्तिहरुको संलग्नता रहेको जानकारी आफूले पाएको र प्रहरीले ३ जना पक्राउ गरिसकेको जानकारी पनि दिए।

आज बिहान बसेको राज्य व्यवस्था तथा  सुशासन समितिको बैठकमा समितिकी सदस्य कांग्रेस सांसद डिला संग्रौलाले पार्टीको विज्ञप्ति बाँडेपछि बैठकको शुरुमै विवाद उत्पन्न भएको थियो। सांसद संग्रौलाले हिजो बाँकेमा नेपाली कांग्रेसको कार्यक्रममा भएको आक्रमणको भत्र्सना गर्दै पार्टीले जारी गरेको विज्ञप्ति समितिको बैठकमा पत्रकारमाझ बाँडेकी थिइन्।

समितिको बैठक शुरु हुनासाथ कांग्रेस सांसद संग्रौलाले बाँके घटनाबारे बोल्न समय माग्नुका साथै गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेकी थिइन्। समिति सभापति शशी श्रेष्ठले उक्त राजनीतिक विषय भएको र तत्काल त्यसलाई बैठकमा प्रवेश गराउँदा विषयान्तर हुने बताइन्।

त्यसपछि सांसद संग्रौलाले कांग्रेसद्वारा आक्रमणको विरोधमा जारी गरिएको पार्टी विज्ञप्ति पत्रकारहरुबीच बाँडेपछि समितिका सदस्य तथा नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले बैठक कांग्रेसको हो कि राज्य व्यवस्था समितिको हो भनि प्रश्न गरेका थिए। समितिका पूर्वसभापति समेत रहेका श्रेष्ठको प्रश्नपछि बैठकमा केहीबेर विवाद उत्पन्न भएको थियो।

यहि विषयका कारण समितिको बैठकको शुरुमा विवाद उत्पन्न भए पनि पछि समिति सभापति शशी श्रेष्ठले सांसद संग्रौलालाई बोल्ने समय दिइपछि विवाद साम्य भएको थियो। समितिको बैठकमा संग्रौलाले बाँके घटनामा गृहमन्त्री रामबहादुर थापा बादलसँग जवाफ मागिन् र गृहमन्त्री थापाले बैठकमा जवाफ दिएका हुन्।

चुनावी अभियानका क्रममा बिहीवार बाँके जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेश सभा क्षेत्र 'ख'को खजुरा गाउँपालिका वडा २ सितापुरस्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम चलिरहँदा आक्रमण भएको नेपाली कांग्रेसले जनाएको थियो।

कार्यक्रममा बर्दियाबाट खटिएका केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल बोलिरहँदा बाँके कांग्रेस सभापति किरण कोइरालालगायतलाई आक्रमण गरेको कांग्रेसले आरोप लगाएको थियो।

बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेशसभा क्षेत्र ख को खजुरा गाउँपालिका–२ सितापुरमा नेपाल रेडक्रसको हलमा कांग्रेसको हिजो भएको कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) कार्यकर्ताले आक्रमण गरेको आरोप नेपाली कांग्रेसले लगाएको थियो। नेपाली कांग्रेसले उक्त घटनामा बाँके कांग्रेस अध्यक्ष किरण कोइरालाको हात भाँच्चिएको जनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell