PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

ओलम्पिक कमिटीमा त्यस्तो के छ? जहाँ वहालवाला सांसददेखि संवैधानिक आयोग प्रमुख भिड्दैछन्



मुकुन्द घिमिरे

ओलम्पिक कमिटीमा त्यस्तो के छ? जहाँ वहालवाला सांसददेखि संवैधानिक आयोग प्रमुख भिड्दैछन्

काठमाडौं : पछिल्लो समय ओलम्पिक कमिटीको चुनावको माहोल तातेको छ। कहिले चुनावको मिति घोषणा हुने, कहिले मुद्दा पर्ने र कहिले रोकिने क्रमसँगै फेरि २८ गते चुनाव हुने भनिएको छ। त्यसो त ओलम्पिक कमिटीको चुनावमा आउने विवाद नयाँ भने होइन। यो दशकभन्दा पुरानो हो। कमिटीको वैधानिकता विवाद पनि लामो समय चल्यो।

यो पटक अध्यक्ष पदका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ चुनावी मैदानमा छन्। जीवनराम वर्तमान अध्यक्ष हुन्। काठमाडौँ ८ बाट निर्वाचित वहालवाला सांसद् पनि।

चुनावमा गुटको राजनीति हाबी भएको छ। स्की संघका अध्यक्ष समेत रहेका जीवनरामलाई टक्कर दिन मिसिएका छन् व्यापार व्यवसायमा सक्रिय उमेशलाल श्रेष्ठ। श्रेष्ठ हक्कीका पूर्व खेलाडी पनि हुन्।

अघिल्लो पटक भएको एनओसीको चुनावमा जीवनरामले उमेशलाललाई हराएका थिए। यी दुवै जना नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता हुन्। जीवनराम माधवकुमार नेपाल निकट मानिन्छन् भने उमेशलाल पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट।

किन हुन्छ कडा प्रतिस्पर्धा?

अन्तर्राष्ट्रिय खेलकुदसँग राष्ट्रिय खेलको पुलको रुपमा लिइने एनओसीको भूमिका खेलकुदमा महत्वपूर्ण हुन्छ। आइओसीले ओलम्पिक चार्टर अनुसार आइओसी सम्बन्धी प्रस्तावहरु तयार गर्ने र ओलम्पिकसँग समन्वय गर्ने गर्छ। त्यस्तै, खेल संघबारे राय दिने तथा, ओलम्पिक कांग्रेसको तयारीमा सहयोग गर्ने र गतिविधिहरुमा सहयोग गर्ने गर्छ। अन्तर्राष्ट्रिय स्तरसँग सिधै जोडिने भएकाले पनि एनओसी कमिटी महत्वपूर्ण छ।

त्यही पृष्ठभूमिकै कारण कमिटीमा नेतृत्व गर्न र बस्न लालयित हुने धेरै छन्।

वहालवाला सांसददेखि संवैधानिक आयोगका अध्यक्षसम्म यो पटक चुनावी मैदानमा छन्।

राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कमिटीको उपाध्यक्षमा उमेद्वारी दिएका छन्। संवैधानिक आयोगका अध्यक्षको यो आशक्तिले चर्चा पाइरहेको छ।

उपाध्यक्षमा सबैभन्दा बढी प्रतिस्पर्धा पनि छ। ५ जनाको पद रहेको उपाध्यक्षमा ८ जनाको उम्मेद्वारी परेको छ। उपाध्यक्षको उमेद्वारमा लन टेनिसकी ज्योति राणा, पौडीका अशोकमान बज्राचार्य, सुटिङका पुष्पदास श्रेष्ठ, ह्यान्डबलका तेज गुरुङ, फेन्सिङका सुनिल श्रेष्ठ, टेबल टेनिसका चतुरानन्दराज वैद्य, र्‍याफटिङ एन्ड क्यानोइङका राजीव श्रेष्ठ, कुस्तीका समिम मिया अन्सारी रहेका छन्।

त्यस्तै महासचिवमा कराँतेका पुरेन्द्र विक्रम लाखे र निलेन्द्रराज श्रेष्ठ रहेका छन्। सचिवमा पनि ठूलो प्रतिस्पर्धा देखिएको छ। एनओसीको सचिवका लागि राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिवसमेत रहेका उसु संघका अध्यक्ष केशवकुमार विष्ट, संघीय सांसद तथा नेपाल कबड्डी संघकी प्रतिनिधि तुलसी थापा, जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्य र ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ रहेका छन्।

यस्तै सदस्यहरुमा रमेशकुमार शिवाकोटी, राम अवाले, प्रकाश शमशेर राणा, गोपाल सुन्दरलाल कक्षपाती, टासी घले, होमबहादुर दोङ, दीर्घ बहादुर केसी र मनोरञ्जन रमण शर्मा रहेका छन्।

पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली ‌ओलम्पिक कमिटीमा ठूलो प्रतिस्पर्धा हुनका पछाडि अन्तराष्ट्रिय क्षेत्रसँग कायम गर्न सकिने सम्वन्ध र कमिटीको क्षेत्राधिकार रहेको बताउँछन्।‌कमिटी अन्तराष्ट्रिय मान्यता प्राप्त निकाय भएकाले त्यहाँ पुगेर आफू सुपरहिट हुन्छु भन्ने मान्यताले पनि नराम्रो असर पुगेको बताउँछन्। यसले खेलाडीको विकास गरेर पदक ल्याउने भन्दा पनि राजनीतिकरणमा कमिटी जेलिएको बताउँछन्।

खेलमा नयाँ नीति आउनु पर्छ: श्रीपाली

पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली खेलमा नयाँ नीति आउनु पर्नेमा जोड दिन्छन्। श्रीपाली पुरानो ढर्राको नीतिले खेललाई अघि बढाउने भन्दा पनि खेलकुदलाई आफ्नो अनुकुलतामा लैजान खोज्ने प्रवृत्ति बढेको बताउँछन्।

'एउटा योग्य र क्षमतावान व्यक्ति त्यहाँ पस्ने ढोका बन्द भएको जस्तो अवस्था छ। यो कुरालाई पुरानो खेलकुद नीतिले व्यवस्थापन गर्न सकेको छैन्' उनले भने, 'ओलम्पिक कमिटीकै कुरा गर्दा पनि खेलकुदको पुरानो ऐनभित्र जुन राष्ट्रिय र अन्तराष्ट्रिय भनेर संघ र अन्य खेलकुद जगतमा छोडेर पनि ओलम्पिक कमिटी देशको मातहतमा रहनु पर्छ। संवैधानिक निकायमा काम गर्ने साथीहरुले आफ्नो क्षेत्रमा नै काम गरे राम्रो हुन्छ।'

ओलम्पिक कमिटीमा धेरै आकांक्षी हुनु अन्तर्राष्ट्रिय जगतमा आफूलाई स्थापित गर्ने नीति रहेको श्रीपाइलीको बुझाई छ।

२ जना निर्विरोध

११ सदस्यीय कार्य समितिमा २ जना निर्विरोध निर्वाचित भइसकेका छन्। जसमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्षसमेत रहेका पिताम्बर तिम्सिना र रतन टण्डन रहेका छन्। नेपाल एथ्लेटिक्स संघका प्रतिनिधि तिम्सिना उपमहासचिव र वेटलिफटिङ संघका प्रतिनिधि रतन टण्डन कोषाध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन्। कोषाध्यक्ष र उपमहासचिवमा १/१ उमेद्वारी मात्र परेको थियो।

पछिल्लो समय के भयो?

भदौ २० गतेलाई निर्धारण गरिएको चुनाव अदालतमा मुद्दा परेको कारण अन्योलमा परेको थियो। सर्वोच्चले बाटो खोलेसँगै एनओसीले शनिवार चुनाव गराउने तयारी सुरु गरेको हो।

२० गते चुनाव हुने भनिएकोमा कमिटीका सदस्य कमल बहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको ओलम्पिक कमिटीको चुनाव रोक्न माग गर्दै दायर गरेपछि सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले भदौ २० गते तय गरिएको कमिटीको कार्यसमिति चुनाव रोक्न भनेको थियो। तर, २२ गते फेरि सर्वोच्च अदालतले भदौ १७ गते एनओसीको कार्यसमिति चुनाव रोक्न दिएको अल्पकालीन आदेशलाई निरन्तरता नदिएसँगै अब निर्वाचन प्रक्रिया सुरु भएको थियो। तेजबहादुर केसी र डा मनोज शर्माको इजलासले पहिले निर्वाचन रोक्न दिएको आदेशलाई निरन्तरता नहुने आदेश गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell