PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

वैवाहिक अंगीकृतको विषयले नागरिकता विधेयक पेचिलो बन्दै : सहमति नभए मतदानमा जाने प्रक्रिया रोकियो



पहिलोपोस्ट

वैवाहिक अंगीकृतको विषयले नागरिकता विधेयक पेचिलो बन्दै : सहमति नभए मतदानमा जाने प्रक्रिया रोकियो
फाइल फोटो : रासस

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा नेपाली कांग्रेस र समाजवादी पार्टीले दलभित्र छलफलको समय मागेपछि नागरिकता विधेयकको मतदान प्रक्रिया रोकिएको छ।

आज सहमति नभए मतदान गराउने प्रस्ताव सत्तारुढ दल ने क पाका सांसदले प्रस्ताव राखेका थिए। बिहीवार पनि कांग्रेसले सरकारको धारणा चाहिने भन्दै समय माग गरेको थियो।

विधेयकका अन्य विषयवस्तुमा करिब करिब सहमति भए पनि वैवाहिक अंगीकृत नागरिकताको विषय अझै पेचिलो छ। समितिमा प्रतिनिधित्व गर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा), नेपाली कांग्रेस लगायतका दलहरू थ्रेसहोल्डका पक्षमा छन्। कम्तीमा सात वर्षको थ्रेसहोल्ड राख्न समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरू सकारात्मक छन्। समाजवादी पार्टीले भने उक्त प्रावधानमा असहमति जनाएको छ।

शुक्रबार समितिको बैठकमा कांग्रेस सांसदले आफ्नो पार्टीभित्र नागरिकता विधेयक सम्बन्धमा थप छलफल गर्नुपर्ने भएकाले समय दिन माग गरेका थिए। राज्य व्यवस्था समितिका सभापति शशी श्रेष्ठले शनिवारसम्म पनि दलीय सहमति नभए प्रक्रियामा जाने बताइन्।

आज बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिकी सदस्य कांग्रेस सांसद डिला संग्रौलाले पार्टीको विज्ञप्ति बाँडेपछि बैठकको शुरुमै विवाद उत्पन्न भएको थियो। सांसद संग्रौलाले हिजो बाँकेमा नेपाली कांग्रेसको कार्यक्रममा भएको आक्रमणको भर्त्सना गर्दै पार्टीले जारी गरेको विज्ञप्ति समितिको बैठकमा पत्रकारमाझ बाँडेकी थिइन्।

समितिको बैठक शुरु हुनासाथ कांग्रेस सांसद संग्रौलाले बाँके घटनाबारे बोल्न समय माग्नुका साथै गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेकी थिइन्। समिति सभापति शशी श्रेष्ठले उक्त राजनीतिक विषय भएको र तत्काल त्यसलाई बैठकमा प्रवेश गराउँदा विषयान्तर हुने बताएकी थिइन्।

सांसद संग्रौलाले विज्ञप्ति बाँडेपछि समितिका सदस्य तथा नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले बैठक कांग्रेसको हो कि राज्य व्यवस्था समितिको हो भन्दै प्रश्न गरेका थिए। समितिका पूर्वसभापति समेत रहेका श्रेष्ठको प्रश्नपछि बैठकमा विवाद उत्पन्न भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell