
काठमाडौं : प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप–२०७६ राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
काठमाडौं नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा आर्मीले ढोरपाटन ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।
समूह ‘क’ मा रहेको आर्मीले अपराजित रहँदै शीर्ष स्थानमा रहेर सेमिफाइनलको यात्रा तय गरेको हो। त्यस्तै यस समूहबाट एपिएफ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। आर्मीले ढोरपाटनलाई पहिलो सेट २५–१४ ले पाखा लगायो भने दोस्रो सेट २५–१९ र तेस्रो तथा अन्तिम सेट २५–२२ को सेटमा पराजित गर्यो । समूह ‘क’ मा रहेका ढोरपाटन र जावलाखेल ट्रेनिङ सेन्टर भने प्रतियोगिताबाट बाहिरिएका छन्।
प्रगतिशील युवा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको विजेता टोलीले पाँच लाख रुपैयाँ तथा उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन्। त्यस्तै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले एक लाख रुपैयाँ र चौथो हुनेले ५० हजार रुपैयाँ पाउनेछन्। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पल्सर मोटरसाइकल पाउने आयोजकले जनाएको छ।