PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

संचारिकाले चार पत्रकारलाई पुरस्कृत गर्‍यो



पहिलोपोस्ट

संचारिकाले चार पत्रकारलाई पुरस्कृत गर्‍यो

ललितपुर : संचारिका समूह नेपालले चार पत्रकारलाई पुरस्कृत गरेको छ। संस्थाको २३ औं वार्षिक साधारणसभामा पत्रकारहरुलाई पुरस्कृत गरिएको हो ।

संचारिका समूह नेपालले स्थापना गरेको ‘संचारिका समानता पुरस्कार २०७५’ हिमाल खबरपत्रिकामा कार्यरत रामु सापकोटालाई प्रदान गरियो। हिमाल खबरपत्रिकामा प्रकाशित ‘मातृमृत्यु नघट्नुको कारण गुणस्तरहीन अक्सिटोसिन पनि’ फिचरका लागि सापकोटा पुरस्कृत भएका हुन्। पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ। संचारिका समूहले २०५७ सालदेखि हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ।

यसैगरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७५’ बाट पत्रकार माधुरी महतो पुरस्कृत भइन्। पत्रकार महतो वीरगन्जबाट बिबिसी नेपाली सेवामा कार्यरत छन्। यो पुरस्कार पत्रकार स्व. उमा सिंहको नाममा स्थापना गरिएको हो। २०६६ सालमा स्थापना गरिएको उक्त पुरस्कारको राशि ७ हजार १ सय ११ रुपैयाँ रहेको छ।

यसैगरी ‘संचारिका प्रोत्साहन पुरस्कार २०७५’ बाट सुष्मा बराइली र पार्वती थापामगर पुरस्कृत भएका छन्। पत्रकार सुष्मा बराइली हिमाल खबरपत्रिकामा र पार्वती थापामगर हिमालय टाइम्समा कार्यरत छन्। छोटो अवधिमा सक्रिय भई पत्रकारिता गर्ने पत्रकार महिलालाई पेशामा थप उत्साह बढाउन सहयोग पुर्‍याउने उद्देश्यले २०६२ सालमा ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’ स्थापना गरिएको संचारिकाकी अध्यक्ष नितु पण्डितले जानकारी दिइन्।

कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पुरस्कार प्रदान गरेका थिए। संचारिकाले यसै क्रममा आफ्ना पूर्व दुई अध्यक्षहरुलाई पनि सम्मान गरेको थियो। संचारिका समूहकी प्रथम निर्वाचित अध्यक्ष बन्दना राणा तथा निवर्तमान अध्यक्ष निर्मला शर्मालाई सम्मानपत्र प्रदान गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell